काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा चैत २५ देखी ३० गतेसम्म टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम सेढाँईले १५ महिना देखी १५ बर्ष मुनिका ९० हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने जानकारी दिनुभयो । टाइफाइडबाट हुने मृत्युदरलाई रोक्न सरकारले मुलुकभर अभियान सञ्चालन गर्ने भएको हो । जिल्लामा चार हजार १४९ जना टाइफाइडबाट सङ्क्रमित भएर अस्पताल बसेको तथ्याङ्क रहेको छ । सङ्क्रमित मध्ये दुई हजार २६१ महिला र एक हजार आठ सय ८८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालमा वर्षेनी चार लाख ५० हजार व्यक्ति टाइफाइडबाट सङ्क्रमित हुने गरेका छन ।
जिल्लाभर ४३९ स्वास्थ्यकर्मी, विद्यालय नर्समा खटिएका नर्स, शिक्षक बिद्यार्थी लगायत यो अभियानमा सहभागि हुने छन । १२५ भन्दा बढी बिद्यार्थी रहेको विद्यालयमा खोप केन्द्र रहने छ । जिल्लामा अभियान सञ्चालनका लागि आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण र खोप लगाउनु अघि तथा खोप लगाई सके पछिको अवस्थालाई तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रम मार्फत तोकिएका सबै खोपहरू समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी प्रत्येक बालबालिका र गर्भवती महिलालाई गुणस्तरीय, सुरक्षित र सर्वसुलभ खोप सेवा निरन्तर रुपमा प्रदान गर्न तथा खोपबाट बचाउन सकिने रोग, अपाङ्गता र मृत्युदरलाई कम गर्ने लक्ष्य रहेको छ ।