ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । कुनै पनि ठाउँमा सडक, खानेपानी र विजुली पु¥याउन सक्ने हो भने अधिकांश विकासका पूर्वाधारहरु तयार हुन सक्छन् । यसका लागि धेरै मिहेनत त गर्नै पर्छ, त्यसमाथि पनि चुनौतीका चाङ उस्तै हुन्छन् । काभ्रेको मण्डनदेउपूर नगरपालिकाले आफ्ना सबै वडाहरुमा सडक, खानेपानी र विद्युतीकरणलाई प्राथमिकतामा राखेर विकास निर्माण थालेको छ । नगरपालिकाले यस वर्ष मात्र ३६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । अहिले यहाँ धमाधम सडक निर्माण भइरहेको छ ।
मण्डनदेउपूर नगरपालिकालाई जिल्लाकै कान्छो नगरपालिका भनेर चिनिन्छ । विकासका हरेक क्षेत्रमा बल्ल अघि बढेको यस नगरपालिकामा अहिले वडावडामा पुगेका सडकहरु व्यवस्थित बनाउने र कालोपत्रे गर्ने कार्यले गति लिएको छ । यसैक्रममा वडा नम्बर ९ को हिँगुवापाटीदेखि वडानम्बर १० को जोगिटार हुँदै भुम्लु गाउँपालिकाको दोलालघाट पुग्ने करिब २० किलोमिटर सडकमा कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । जसले गर्दा स्थानीयबासी निकै उत्साहित भएका छन् । स्थानीय केदारनाथ नेपाल सडक निर्माणसँगै आफ्नो गाउँ स्वर्ग जस्तै भएको अनुभव सुनाउँछन् । अब दुःखका पुराना दिनहरु इतिहासमा सिमित रहेको उनले बताए ।
यो सडक विसं. २०३८ सालदेखि निर्माण थालिएको हो । जतिबेला पञ्चायतकालिन अवस्था थियो । चाहेर पनि अहिले जसरी विकासका कामहरु गर्न नसकिने समयमा शुरु गरिएपनि स्थानीयबासीहरु कुटोकोदालो बोकेर सडकको ट्रयाक खोल्न निस्किए । विसं. २०४७ सालदेखि भने यो सडकखण्डको जोगिटारसम्मको ६ किलोमिटर भाग स्थानीयले कोदालोकै भरमा सडक बनाए । ठाउँठाउँमा निकै निकै ठूला चट्टानहरुले काममा अवरोध ग¥यो । २०५० सालको निर्वाचनताका तत्कालिन काभ्रे क्षेत्र नं. ४ का राप्रपाका उम्मेदवार गोपाल सेडाईंले आफ्नो निजी खर्चमा डोजर लगेर सडकलाई व्यवस्थित बनाउन सहयोग गर्नुभयो । त्यसपछि तत्कालिन जिल्ला विकास समितिले चासो दिएपछि सडक निर्माणमा सहज भएको पूर्व जनप्रतिनिधीहरु बताउँछन् । साबिक चण्डेनीमण्डन गाविसका पूर्व अध्यक्ष हरिप्रसाद नेपालका अनुसार यो सडक अहिलेको अवस्थामा आउन धेरैवटा चरणहरु पार गरिएको छ । ४१ वर्षपछि सडकले मात्र नभएर समग्र चण्डेनीमण्डनले विकासको मुहार फेरेको उनले बताए ।
अहिले सरकारले यो सडक कालोपत्रे गर्न करिब १९ करोड विनियोजन गरेको छ । आगामी वर्षसम्म पूरै सडक कालोपत्रे गरिने लक्ष्यका साथ काम अघि बढेको छ । सडककै कारण यहाँका नागरिकले यसअघि निकै दुःख पाएका थिए । अब सडक कालोपत्रेसँगै समस्या नहुने भएको छ । नगरभित्रका अधिकांश सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले अभियान नै थालेको
नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाल बताउँछन् । उनका अनुसार अहिले नगरभित्रका दर्जन सडकहरु कालोपत्रे र स्तरोन्नतीको काम भइरहेको छ ।
सडक कालोपत्रे भएपछि यहाँ हिँउदमा धुलो र वर्षायाममा हिलो हुने समस्या हट्ने भएको छ । तरकारी, दुध लगायतका कृषि उत्पादन बजार लैजान पनि निकै सहज हुने अपेक्षा गरिएको छ ।