१५ रुपैयाँमा पेटभरि खाजा र बचत

काभ्रे । ईसिडीदेखि कक्षा ६ सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुले प्राप्त गर्ने खाजा बापतको दैनिक १५ रुपैयाँ रकम बचत हुन थालेको छ । धुलिखेल नगरपालिकामा रहेको सञ्जीवनी नमूना माध्यमिक विद्यालयले ३ सय ४० जना विद्यार्थीहरुलाई दैनिक दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।
अधिकांश विद्यालयहरुले बालबालिकाहरुलाई उपलब्ध गराएको रकम अपुग भएको गुनासो आइरहेका बेला धुलिखेलमा रहेको सञ्जीवनी नमूना माध्यमिक विद्यालयमा भने विद्यार्थीहरुले पेटभरि खाजा खान पाउँदा पनि मासिक बचत हुने गरेको छ । ‘दिवा खाजा उपलब्ध गराउँदा बालबालिकाहरु खुसी छन्, नियमित अध्ययनका लागि सहज भएको छ’–विद्यालयका प्रधानाध्यापक लोकेन्द्र ढकालले भन्नुभयो–‘सरकारले उपलब्ध गराएको दिवा खाजाको व्यवस्थापनका लागि जनशक्तिको अभाव छ ।
कक्षा ६ सम्मका बालबालिकाहरुका लागि खाजा उपलब्ध गराए पनि बाँकी कक्षाका विद्यार्थीहरु भोकै रहँदा विभेद गरेको अनुभव भएको छ ।’ संघ सरकारले आगामी वर्षको बजेटमा दिवा खाजाका सन्दर्भमा नयाँ कार्यक्रम सार्वजनिक नगरे पछि प्रदेश सरकारले प्रस्तुत गर्ने बजेटमा बाँकी कक्षाका विद्यार्थीहरुका लागि खाजाको व्यवस्थापन र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थाको अपेक्षा गरिएको विद्यालयले जानकारी दिएको छ । ‘यति धेरै विद्यार्थीहरुका लागि एक जना व्यक्तिले खाजा खुवाउन सम्भव छैन’– दिवा खाजा व्यवस्थापन समितिका संयोजक शिक्षक खड्गप्रसाद सापकोटाले भन्नुभयो–‘३ सय ४० जना विद्यार्थीहरुले हरेक दिन नयाँ नयाँ खाजा पेटभरि खाँदा समेत रकम बचत हुने गरेको छ ।’ बचत भएको रकमबाट उनीहरुको खाजाका लागि व्यवस्थापन गर्न सहज भएको छ । विद्यालयले ३ सय ४० विद्यार्थीका अलावा कार्यरत शिक्षकहरुका लागि पनि सोहि मुल्यमा खाजा उपलब्ध गराएको छ ।
विद्यालयले आईतबार खिर र तरकारी, सोमबार फ्राई राईस र तरकारी, मंगलबार चिकेन र चिउरा, बुधबार चना तरकारी र अण्डा, विहीबार दही चिउरा, शुक्रबार जाउलो र फलफूलको व्यवस्थापन गरेको छ । इसिडी अध्ययन गर्ने बालबालिकाहरुका लागि दिउसो १२.४५ बजे, कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुका लागि १ बजे देखि १.१५ सम्म र कक्षा ४ देखि ६ सम्मका बालबालिकाहरुका लागि १.२० देखि १.४५ सम्म खाजा खुवाउँदै आएको छ । नुवाकोट घर भई धुलिखेलमा डेरा लिएर बसिरहेका परिवारका सदस्य कक्षा ६ मा अध्ययनरत विद्यार्थी आनन्द थापाले विद्यालयमा उपलब्ध गराएको खाजामा सन्तुष्ट भएको बताउनुभयो । ‘अध्ययनसँगै विद्यालयले उपलब्ध गराउने खाजाले हामी सन्तुष्ट छौं’–विद्यार्थी प्रनिता घोरसाईनेले भन्नुभयो–‘सरहरुले भोक लागेको बेला थपी थपी खान भन्नु हुन्छ । पेटभरि खाजा खान पाए पछि हामीलाई सहज भएको छ ।’ पाँचखाल खावाबाट एउटै विद्यालय छाडेर १५ जना भन्दा धेरै विद्यार्थी सञ्जिवनीमा अध्ययन गर्न आएका छन् । अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्ययन गर्ने व्यवस्था मिलाएको सञ्जीवनीले जनशक्ति अभावका कारण एक सय भन्दा धेरै विद्यार्थीहरुलाई भर्ना लिन सकेन ।
प्राविधिक कक्षा समेत सञ्चालन गरेको विद्यालयमा इसिडी देखि कक्षा १० सम्मको विद्यार्थीको चापलाई स्थानीय, प्रदेश र संघ सरकारले थप सहयोग गर्नु पर्ने विद्यार्थी, शिक्षक र अभिभावकहरुले बताएका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *