सन्दीप के.सी.
जन्मनु र मर्नु प्राकृतिक प्रकृया भएतापनि गुणस्तरीय जीवन स्वास्थको ज्ञान बिना परिकल्पना गर्न सकिँदैन। स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मानिसको मौलिक अधिकार पनि हो । यही स्वच्छ तथा सफा वातावरण मानव जीवनका लागि अत्यावश्यक तत्व हो । १९९० को राजनीतिक परिवर्तनभन्दा अघि स्वास्थ्यबारे हुने लेखन तथा बहसहरू दुर्लभ नै थिए । स्वास्थ्य नीतिबारे औपचारिक दस्तावेज बनेको थिएन । सन् १९९० पछि मात्रै स्वास्थ्य नीति, योजना तथा समस्याहरूबारे आलोचनात्मक छलफलको शुरुआत हुन सक्यो । अब नेपालमा ३ तहका सरकारले नै स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकार र दायित्व नेपालको संविधान २०७२ द्वारा प्रदत्त गरिएको छ। समाजको समृद्धिको सूचकका रूपमा समेत स्वच्छ तथा स्वस्थ वातावरणलाई लिइन्छ तर बढ्दो शहरीकरण, भौतिक विकास तथा अन्य विभिन्न मानवीय प्रभावका कारण स्वस्थ र सफा वातावरण दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । जसमा प्रत्यक्ष सरोकारको आधारभूत स्वास्थ्य सेवा स्थानिय तहलाई अधिकारको रुपमा सुम्पीएको पाईन्छ के स्थानिय तहले स्वास्थ्यलाई आफ्नो बिकासको एजेण्डा को रुपमा स्वीकार गरेको छ त ?
विश्वका कयौं सहरहरु छन् जसले नागरिकको स्वास्थ्यलाई विकासको एजेण्डाको रुपमा स्वीकार गर्दै आफुलाई अब्बल सावित गरेका छन् । के हामी सहयोगी संस्थाको सहयोग र तिनै तहका सरकार मिलेर स्वस्थ शहर बनाउन र नागरिकको स्वस्थ जीवन जीउने अधिकार सुनिश्चित गर्नुका साथै नेपालका प्रमुख शहरहरुलाई पर्यटनको गन्तब्य बनाउन सक्छौं ।
जापानको प्रमुख शहरहरु मध्यको एक ओकिनवा शहर हो । ओकिनवामा शहरमा सय वर्ष भन्दा बढी बाँच्ने मानिसहरुको धेरै संख्या छ । तरपनि याहाँ मुटुसम्बन्धी रोग मधुमेह क्यान्सर जस्ता रोगहरुको जोखिम निकै नै कम देखिन्छ । आर्थिक रुपले सामन्य भएपनि यहाँका व्यक्तिहरुको जीवनशैली भने गुणात्मक रुपले राम्रो छ । जसले गर्दा बुढ्यौली समयमा पनि स्वस्थ जीवन बाँच्न सकिन्छ भन्ने तथ्यको यस सहरले उदाहरण प्रस्तुत गरेको छ। हाम्रो जनसंख्याको अवस्था हेर्दा जेष्ठ नागरिकको संख्या बढ्दो छ । यसको स्वास्थ्य रक्षा र उत्पादकत्व बारेमा बहस चलाउँदा लाग्छ यो बहश सर्वजनहिताय नै ठहर्छ ।
त्यस्तै फ्रान्सको मोनाकोमा शहरको स्वास्थ मन्त्रालयले यस शहरमा गर्भावस्थामै बच्चाको राम्रो निगरानी सुत्केरी गराउने दक्ष विशेषज्ञ र बच्चाको राम्रो स्याहार गर्ने परम्पराको विकाश गरेको छ ।यो विश्वमै नवजात शिशुको कम मृत्यु हुने शहर हो । यहाँ १००० नवजात शिशुको जन्ममा जम्मा १.८१ मात्र मृत्यु दर रहेको पाइन्छ । हाम्रो जस्तो नवजात शिशु मृत्यूको कहाली लाग्दो अवस्थामा कहिले सम्म रहने यो क्षेत्रमा रचनात्मक कार्ययोजनाका साथ काम गर्न सकेमा नमुनाको रुपमा सहरलाई विकास गर्न सकिन्छ । धेरै बाक्लो बस्तीका बाबजुद क्यानेडाको भ्यानकुभर शहर स्वस्थकर क्यानेडियन शहर बनेको यस शहर सन् २०२० सम्ममा हरियो शहर योजनामा छ । यो शहर विश्वमै स्वच्छ हावा र स्वस्थ वातावरण प्रख्यात शहर हो । कडा सरकारी नियम शहरलाई स्वस्थ राख्न भरपुर प्रयत्न गरेको छ । नीतिको निर्माण मात्र हैन प्रभावकारी कार्यान्वयनले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धी हाँसिल गर्न सकिन्छ भन्ने नमुना याहाँबाट पाउन सकिन्छ। स्थानिय सरकारले स्वास्थ्य नीति निर्माणको साथै त्यसको कार्यान्वयन बाट स्वास्थमा गर्न सकिने अन्य प्रशस्त कार्यहरु रहेका छन् । विश्वका शहरहरुको स्वाथ्य नीतिहरुको अध्ययन तथा आफ्नो परिवेशलाई समायोजन गरी उपयुक्त नीति सहित अगाडि नबढ्ने हो भने स्वास्थ्य क्षेत्र अगाडी जान सक्दैन । बेला बेलाका माहामारी नियन्त्रण मात्र हैन नसर्ने रोगका बढ्दो चपेटाले थला परेको स्वास्थ्य प्रणालीको सुधारमा अब गहन छलफल तथा बहश पैरवीका साथ विशेष योजनामा कार्य गर्नु पर्दछ । यसको लागि बालस्वास्थ होस वा प्रजनन् स्वास्थ्य, मातृ स्वास्थ्य होस वा पोषण तथा मानसिक स्वास्थ्य सबै महत्वपुर्ण क्षेत्रको ख्याल गर्दै स्वस्थ शहर अभियान सञ्चालन गर्नु आवश्यक देखिन्छ ।