सूर्यविनायक–धुलिखेल सडक विस्तार

धमाधम निर्माणका काम हुँदै, धुवाँ, धुलोको विकराल

बनेपा । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक– साँगा र साँगा– धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।
सडक विस्तारका क्रममा बनेपा र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा समस्या भएको छ । सूर्यविनायक– धुलिखेल– धुलिखेल– सिन्धुली– बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको हो ।
सूर्यविनायक– धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार एक वर्षअघि सुरु गरिएको थियो । आयोजना अन्तर्गत सूर्यविनायक– साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । विशेषगरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको छ ।
धुलिखेलमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ । खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम भइरहेको छ । धुलिखेलमा खानेपानीको व्यवस्थापनमा एक करोड तथा ढल व्यवस्थापनमा चार करोड खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ ।
आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक– धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो । आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्म सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणका लागि खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।
पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको हो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।
बाटोमा हिँड्डुल गर्न सास्ती खेप्दै यात्री
सडक विस्तारको काम तिब्र रुपमा भइरहेकाले यहाँ झरी पर्दा हिलोले सवारी साधन गुड्न पनि समस्या हुने गरेको छ । पैदल यात्रीहरु पनि निकै कष्टका साथ हिँड्न बाध्य छन् । विशेषगरि मोटरसाइकल र साइकलमा यात्रा गर्नेहरुको अवस्था निकै जोखिमपूर्ण हुने गरेको स्थानीयहरु बताउँछन् । जसले गर्दा यो सडकखण्डमा घण्टौंसम्म सवारी साधनहरु जाममा पर्ने गरेका छन् । एम्बुलेन्स लगायतका अतिआवश्यकीय सवारीहरु पनि जाममा पर्दा झन समस्या थपिएको छ । हरेक दिनजसो यहाँ दुर्घटनाहरु बढीरहेका छन् । अब वर्षा याम सुरु हुन लागेकाले जोखिम थपिने निश्चित छ । यसका लागि सडक निर्माणसँगै अस्थायी बाटोहरुलाई व्यवस्थित गर्नु जरुरी देखिन्छ । अरनिको सडकको वैकल्पिक रुट नाला हुँदै भक्तपुरसम्मको बाटो पनि अहिले भीड हुन थालेको छ । राजधानी छिर्ने सहायक मार्गको रुपमा रहेको नाला–भक्तपुर सडक साँघुरो भएकाले ठूला सवारीका लागि त्यति भरपर्दो छैन । तैपनि अरनिको राजमार्ग विस्तार भइरहेको अवस्थामा अर्को विकल्प पनि छैन ।
यी दुवै मार्ग हुँदै दैनिक हजारौं साना ठूला सवारी संचालन हुँदै आइरहेको छ । घाम लाग्दा धुलो र पानी पर्दा हिलोले सधैंजसो समस्यामा रहने गरेका सर्वसाधारणले अझै केही वर्ष यहाँ समस्या झेल्नु पर्ने देखिन्छ । यतिबेला जगातीदेखि धुलिखेल हुँदै पाँचखाल जाने सवारी साधनले खावासम्म नै समस्या झेलिरहेका छन् । तसर्थ सडक निर्माणको कामलाई तिब्रता दिनु पर्ने आवश्यकता देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *