काभ्रे । काभ्रेको दोलालघाटबाट हराएकी नमोबुद्ध नगरपालिका ५ कि सिर्जना भण्डारी कोइराला मृत अवस्थामा फेला पर्नुभएको हो ।
कोइरालाको शव बिहीबार सिन्धुली जिल्लाको झाँगाझोलीमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयबासीले एक महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाई यसबारे जानकारी गराएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार सिर्जनाका श्रीमानले उक्त शव आफ्नी पत्नीको भएको भनी सनाखत गरेका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि धुलिखेल लगिएको थियो ।
पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका थिए । फुयाँल अझै पनि अज्ञात रहेको समाचार स्रोतले जनाएको छ ।
उनको पनि खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट घरबाट हराएका थिए । गत शुक्रबार भुम्लु गाउँपालिका ८ स्थित इन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंगामाथि कालो जेन्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका जुत्ता, कालो लेडिज र जेन्स पर्स लगायतका सामग्री भेटिएको थियो ।
यी सामान भेटिएसँगै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती सामग्री माधव र सिर्जनाको रहेको पुष्टि भएको जनाएको थियो ।