सार्वजनिक सुनुवाई सम्पन्न

काभ्रे । नमोबुद्ध नगरपालिकाले अघिल्लो आर्थिक बर्षमा सम्पादन गरेका कार्यहरुबारे सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०७७÷७८ मा नगरपालिकाबाट गरिएको सेवा प्रबाह र विकास निर्माणका कार्यबारे नगरपालिकाका विभिन्न ठाउँमा सार्वजनिक सुनुवाई गरिएको हो । सोमबार र मंगलबार गरी चार ठाउँमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सोमबार वडा नं. १, ९, १० र ११ को सार्वजनिक सुनुवाई वडा नं. १० को कार्यालयमा सम्पन्न भएको थियो । यस्तै सोमबार नै वडा नं. ६, ७ र ८ को सार्वजनिक सुनुवाई नगरपालिका सभा हलमा सम्पन्न भएको थियो ।

मंगलबार वडा नं. ३ र ४ को सार्वजनिक सुनुवाई वडा नं. ३ को दाहालचौर र वडा नं. ५ को सार्वजनिक सुनुवाई कानपुरमा सम्पन्न भएको छ । वडा नं. १० मा भएको सार्वजनिक सुनुवाईमा दाप्चा क्षेत्र पुनरुत्थान, खानेपानी समस्या लगायतका विषयमा, नगरपालिका हलमा भएको सार्वजनिक सुनुवाईको क्रममा नगरबासीहरुले क्रसर उद्योगको धुलोका कारण परेको समस्या, सडकको स्तरोन्नति नहुँदा भएका समस्या लगायतका विषयमा जवाफ मागेका थिए । यस्तै दाहालचौरमा भएको सार्वजनिक सुनुवाईमा बाटो कालोपत्रेमा भएको ढिलाई लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए भने कानपुरमा भएको सार्वजनिक सुनुवाईमा शिक्षक दरवन्दी मिलान, आधारभुत स्वास्थ्य केन्द्र सञ्चालन लगायतका विषयमा नगरबासीले प्रश्न गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले उठाएको प्रश्नको जवाफ नगर प्रमुख टी.पी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले दिनुभएको थियो । नगर प्रमुख तिमल्सिनाले आफूहरु कार्यकालको अन्तिम समयमा आइपुगेको र पछिल्लो पाँच बर्षको अवधिमा जनअपेक्षाअनुसार सक्दो काम गरेको सुनुवाईमा बताउनुभएको थियो ।
उक्त सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अघिल्लो आर्थिक बर्षमा सम्पन्न गरेका कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर श्याम खनालले गर्नुभएको थियो ।
त्यस्तै बुधबार नमोबुद्ध नगरपालिकामा राष्ट्रिय नवप्रवर्तन केन्द्र (इनोभेसन सेन्टर) स्थापनाका लागि बहुपक्षीय समझदारी भएको छ । राष्ट्रिय युवा परिषद्, नमोबुद्ध नगरपालिका, काठमाडौं विश्वविद्यालय र आइडिया स्टुडियो नेपालबीच सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नवप्रवर्तनात्मक सोच भएका युवाको राष्ट्रव्यापी रूपमा खोजी गर्दै उनीहरूमा भएको प्रतिभा प्रस्फुटनको अवसर जुटाई प्रोत्साहन गर्ने नीति राज्यले लिएको छ । त्यही नीतिअनुसार नमोबुद्धमा राष्ट्रियस्तरको नवप्रवर्तन केन्द्र स्थापना हुनु खुशी र गौरवको विषय भएको नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले बताउनुभएको थियो । केन्द्र स्थापना र सञ्चालनका लागि नमोबुद्ध नगरपालिकाले सक्दो साथ र सहयोग गर्ने र समझदारीअनुसार तत्कालै काम सुरु हुने प्रमुख तिमल्सिनाले बताउनुभएको थियो ।
समझदारीपत्रमा हस्ताक्षरसँगै अव नवप्रवर्तन केन्द्र स्थापनाको काम तीब्र रुपमा अघि बढ्ने भएको छ । समझदारी पत्रमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिना, काठमाडौं विश्वविद्यालयका निर्देशक प्रा.डा दिपकप्रसाद सुवेदी र आइडिया स्टुडियो नेपालका बोर्ड अफ डिरेक्टर सुरेश सिम्खडाले हस्ताक्षर गर्नुभएको थियो । नमोबुद्ध नगरपालिकाको वडा नं. ८ मा रहेको आरुबारीचौरमा केन्द्र स्थापना हुन लागेको हो ।
नवीनतम सोच लिएका युवालाई आवश्यक परामर्शका साथ प्राविधिक तथा व्यावसायिक तालिमका माध्यमबाट उनीहरूको रुचिको क्षेत्रमा समयसापेक्ष ज्ञान र सीप प्रदान गर्दै स्वरोजगार र उद्यमशील बनाउन नवप्रवर्तन केन्द्र स्थापना हुन लागेको हो । सोही क्रममा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र तथा इन्क्युबेसन सेन्टर सञ्चालन तथा नमुना विकाससम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था गर्न बहुपक्षीय समझदारीमा हस्ताक्षर गरी कार्यान्वयन प्रक्रिया सुरु गरिएको हो । देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाहरुले आफ्ना नियमित कार्यक्रममा नवप्रवर्तन तथा इन्क्युबेशनलाई समावेश गर्दै लैजाने, औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुले नवप्रवर्तन तथा इन्क्युबेशनलाई आफ्ना क्रियाकलापमा आत्मसात गर्दै लैजाने, देशभरिका विद्यालय, विश्वविद्यालय, शैक्षिक संस्थाहरुले नवप्रवर्तनमा अनुसन्धानलाई समेट्दै लैजाने विज्ञान र प्रविधिका विद्यार्थीहरुलाई तोकिएबमोजिम प्रतिष्पर्धाका आधारमा नवप्रवर्तन अनुदान उपलब्ध गराउँदै लैजाने लगायतका लक्ष्य केन्द्रबाट राखिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *