सवारी दुर्घटना रोकथाममा सरकारको निरिहता

दुर्घटनाका विवरण केलाउँदा सबैभन्दा जोखिममा मोटरसाइकल र जीप तथा कार भ्यान देखिएका छन् । विगत ८ वर्षमा नेपालभर ७२ हजार ७२६ वटा दुर्घटनामा मोटरसाइकल परेका छन् । यस्तै दोस्रो ठूलो जोखिममा कार र जीप छन् ।
यस अवधिमा ४२ हजार ७१७ वटा कार जीप दुर्घटनामा परेका छन् । बस र माइक्रोभन्दा बढी दुर्घटना गराउनेमा ट्रक र टिप्पर छन् । १७ हजार १५९ वटा ट्रक र टिप्पर दुर्घटना हुँदा बस दुर्घटनाको संख्या १५ हजार ९२१ मात्रै छ । यसमा पनि पछिल्लो ४ वर्षमा २२ सय ७२ वटा दुर्घटनामा टिप्पर संलग्न छ ।
तथ्याङ्क अनुसार सवारी दुर्घटनामा मृत्यु र घाइते हुनेहरूमा पुरुषको संख्या उच्च छ । आठ वर्षको कुल मृतकको तथ्याङ्कमा १४ हजार ४६२ जना पुरुष र ३ हजार ६८ जना महिलाको सडक दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक हजार ८२८ जना बालबालिकाको मृत्यु भएको छ । जसमा १२ सय १६ जना बालक र ६१२ जना बालिका छन् ।
यस्तै दुर्घटनामा गम्भीर, साधारण घाइते हुनेहरूमा पनि पुरुषको संख्या उच्च पाइन्छ । यस अवधिको दुर्घटनामा परेर गम्भीर घाइते बनेका ३८ हजार ७४६ जनामध्ये २७ हजार ४१५ जना पुरुष, ७ हजार २४८ महिला र ४ हजार ९० जना बालबालिका छन् । साधारण घाइते हुनेहरू कुल ९६ हजार ४२९ मध्ये ६५ हजार २०२ जना पुरुष छन् भने २२ हजार २८४ जना महिला छन् भने ८ हजार ९४३ जना बालबालिका छन् ।
नेपालीले २०५० को दशकपछि लगातार ठूला र कहालीलाग्दा ३ वटा घटना भोगे । २०५१ सालमा सुरु भएको माओवादी हिंसात्मक विद्रोह, २०७२ सालको महाभूकम्प र २०७७ मा सुरु भएको कोभिड महामारी । तीनै घटनामा परी ज्यान गुमाउने संख्या क्रमशः १७ हजार, ८ हजार र ११ हजार हाराहारी थियो । तर, २०७० को दशकको ८ वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउने नागरिकको संख्या १९ हजारभन्दा बढी छ ।
अहिले सडक दुर्घटनाका कारण दैनिक औसत ८ जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न संघ, प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्ने अवस्था छ । यान्त्रिक कारणबाट हुने दुर्घटना टार्न २० वर्ष पुराना गाडी सञ्चालनमा रोक लगाउन, चालकलाई यान्त्रिक ज्ञान र सीप सिकाउन, निश्चित समयमै सवारी साधनको मर्मतसम्भार गर्न, स्थानीय तहमै सवारी साधनको परीक्षण गर्ने व्यवस्था गर्ने हो भने यस्ता दुर्घटनामा कमी आउने थिए । सवारी चालक अनुमतिपत्र वितरणलाई पनि सुरक्षित बनाउन जरुरी छ । 
यता विमान दुर्घटनाको पनि कहाली लाग्दो अवस्था छ । नेपालमा हालसम्म करिव १०० वटा विमान दुर्घटना भएका छन् । जसमा ९०० जनाको ज्यान गएको छ । पछिल्ला दिनहरुमा यस्ता दुर्घटना बढीरहेका छन् । यस्ता दुर्घटनाहरु रोक्न सरकारले निश्चित मापदण्ड बनाउन जरुरी देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *