
निर्दिप केसी
बनेपा । शब्दयात्रा प्रकाशनले शनिबार छवटा पुरस्कार समर्पण र तीन पुस्तक सार्वजनिक गरेको छ ।
पुरस्कृत हुनेहरुमा ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ बाट मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्री पुरस्कृत हुनुभयो । पुरस्कारको कोष व्यवस्थापन कवि कृष्ण जोशीले गरिदिनुभएको हो । ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ महाकाव्यकार सोमराज अभयलाई समर्पण गरियो । पुरस्कारको कोष व्यवस्थापन लीला श्रेष्ठले गर्नुभएको हो । ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ लेखक तिलक प्रकाशलाई समर्पण गरियो । पुरस्कारको कोष व्यवस्थापन भ्रष्टविरोधी शास्त्रका प्रणेता तथा साहित्यकार भरत जङ्गमले गर्नुभएको हो । ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्न्चोक प्रतिभा पुरस्कार’ बाट संस्कृतिविद् विश्व उलक पुरस्कृत हुनुभयो । पुरस्कारको कोष व्यवस्थापन लीला–मध्यमार्ग सम्मान कोषका संयोजक प्रदीप केसी बन्जाराले गर्नुभएको हो ।
अन्य पुरस्कारहरूमा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ सुशीला ढकाललाई समर्पण गरिएको छ । दुवै हात नभएर पनि लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर सरकारी सेवामा प्रवेश गर्नुभएकी सुशीला ढकाल हाल राजस्व अधिकृत पदमा कार्यरत हुनुहुन्छ । सुशीला ढकाललाई नेपालको निजामती प्रशासनमा सङ्घर्षशील र प्रेरक महिलाका रूपमा चिनिन्छ । पुरस्कारको कोष व्यवस्थापन पूर्वप्रशासक तथा कूटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो । ‘शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार’ योगप्रशिक्षक डा. चिन्तामणि गौतमलाई समर्पण गरिएको छ । पुरस्कारको कोष व्यवस्थापन नारायणी–शङ्कर मानन्धर शिक्षा पुरस्कार कोषले गरेको हो ।
शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिएकोे सो समारोहमा ज्ञान उदास, केदारनाथ तिमल्सिना र प्रेृमकुमार कर्माचार्यद्वारा लिखित पुस्तकहरूलाई सार्वजनिक पनि गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले हरेक वर्ष २३ जनालाई सम्मान, १३ जनालाई छात्रवृत्ति, १२ जनालाई पुरस्कार, ४ जनालाई विद्वतवृत्ति र ३ जनालाई कदरपत्र समर्पण गर्ने गरेको छ भने हालसम्म शब्दयात्रा प्रकाशनबाट २ सय २३ वटा पुस्तक प्रकाशित भइसकेको कुरा शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभएको छ ।
शब्दयात्रा प्रकाशनले १२ वर्षको अवधिमा गरेको प्रगति विवरण अनुसार यस संस्थाले कृष्णमणि कुइकेलबाट ५ आना जग्गा प्राप्त गरी सावित्री जङ्गम थापा र सकुल थापाको सहयोगमा संस्थाले तीन तलाको आफ्नै भवन निर्माण गर्न सफल भएको छ । नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दवाटिका निर्माण गर्नका लागि ३ आना जग्गा प्राप्त गरेको छ । विभिन्न व्यक्तित्वहरूको सहयोगमा ४० लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । सातवटा सालिक, चारवटा मन्दिर, पुस्तकालय र स्तम्भ निर्माण गरेको छ । हालसम्म २२३ वटा पुस्तक प्रकाशन गरिसकेको छ । २१३ जनालाई सम्मान, २८ जनालाई पुरस्कार, २४ जनालाई कदरपत्र, १९ जनालाई छात्रवृत्ति, ५ जनालाई विद्वत्वृत्ति, १ जनालाई उपाधि समर्पण र १ जनालाई सार्वजनिक अभिवन्दना गरेको छ । हरेक वर्ष २३ जनालाई सम्मान, १२ जनालाई पुरस्कार, १३ जनालाई छात्रवृत्ति, ४ जनालाई अनुसन्धान विद्वतवृत्ति र ३ जनालाई कदरपत्र समर्पण गर्ने व्यवस्था मिलाएको छ । भेटी रकम अक्षयकोषको ब्याजका आधारमा न्यूनतम ५ हजार रुपियाँदेखि अधिकतम २५ हजार रुपियाँसम्म समर्पण गरिन्छ । विपत्तिपीडित लेखक, पत्रकार, कलाकारलाई हालसम्म रु. ५०,००० आर्थिक सहयोग गरेको छ । देशका विभिन्न जिल्लाका पुस्तकालयलाई ५ हजारभन्दा बढी पुस्तकहरू सहयोग गरेको छ । मूल सडकमा र भित्री मोडमा प्रवेशद्वार बनाएको छ । नीलकण्ठेश्वर धाम संरक्षण समितिसँगको सहकार्यमा १०८ शिवलिङ्ग स्थापना गरेको छ । हाइकु घर बन्दैछ । सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्षका माध्यमबाट अनुसन्धान केन्द्र सञ्चालन गर्न थालेको छ । वेबसाइट सञ्चालन गरिएको छ । वृत्तचित्र निर्माण गरिएको छ ।
पुरस्कार समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सावित्री जङ्गम थापाले पुरस्कार समर्पण गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लीलादेवी श्रेष्ठले दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व ८४ वर्षीय प्राध्यापक केदारनाथ श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिवप्रसाद बन्जाराले गर्नुभएको थियो ।
सो समारोहमा पुरस्कृत व्यक्तित्वको चिनारी डा. छत्रपति दाहालले र सार्वजनिक गरिएका कृतिहरूको चिनारी कालिका त्रिपाठी पन्तले गराउनुभएको थियो ।
पहिलो पुस्तक ‘तोपको आवाज’ हो । यो कथासङ्ग्रह हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो २ सय २१ औं पुस्तक हो । यस सङ्ग्रहका कथाकार बहुप्रतिभाशाली सर्जक ज्ञान उदास हुनुहुन्छ । दुई वर्षअघि उहाँ शब्दयात्रा प्रा. केदारनाथ लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । ज्ञान उदासले यसअघि कविता, मुक्तक, गीत, गजल र हाइकु विधामा आफ्नो उपस्थिति देखाउनुभएको थियो । उहाँ अब ‘तोपको आवाज’ नामक कथासङ्ग्रहका माध्यमबाट कथाकारका रूपमा पनि प्रस्तुत हुनुभएको छ । यस सङ्ग्रहबाट उहाँमा रहेको कथाकार व्यक्तित्व पनि प्रकट भएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले आजभन्दा चार दशकअघिको नेपालको सामाजिक जीवनको झलक देखाएको छ । तत्कालीन लोकव्यवहार, भाषाशैली, चेतनास्तर आदिका विषयमा अध्येताहरूलाई यस सङ्ग्रहले राम्रो जानकारी दिनेछ । कथातन्तु र कथाशिल्पका आधारमा यस सङ्ग्रहभित्रका कथाहरू उच्चस्तरीय र मर्मस्पर्शी छन् ।
दोस्रो पुस्तक ‘तीस कथा’ हो । यो पनि कथासङ्ग्रह नै हो । शब्दयात्रा प्रकाशनबाट प्रकाशित यो २ सय २२ औं पुस्तक हो। यस सङ्ग्रहका कथाकार केदारनाथ तिमल्सिना हुनुहुन्छ । उहाँ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य पनि हुनुहुन्छ । ‘तीस कथा’ नामक कथासङ्ग्रहभित्रका कथाहरू धार्मिक र आध्यात्मिक क्षेत्रका नीतिकथाहरू हुन् । विभिन्न ग्रन्थहरूमा आएका शिक्षाप्रद दृष्टान्तहरूलाई कथाकारले यसमा आफ्नै तरिकाले कथाको स्वरूप दिनुभएको छ । ती कथाहरूले के शिक्षा दिन्छन् भन्ने कुरा पनि कथाभित्रै उहाँले उल्लेख गर्नुभएको छ । किशोर र युवा बयका पाठकका लागि उपयोगी हुने यसभित्रका कथाहरूले समाजलाई जीवनोपयोगी शिक्षा दिएका छन् । पाठकमा नैतिकता, मानवता र सामाजिकताको भावना अभिवृद्धि गराउन यस सङ्ग्रहले सघाउनेछ । मानवीय मूल्य–मान्यतामा ह्रास आइरहेको वर्तमान अवस्थामा यस किसिमका पुस्तकहरूको लेखन तथा प्रकाशन विशेष आवश्यकता बनेको छ ।
तेस्रो पुस्तक ‘मानबहादुर कर्माचार्य र गुर्जन ठाकुर’ हो । शब्दयात्रा प्रकाशनवाट प्रकाशित यो २ सय २३ औं प्रकाशनपुष्प हो । यो पुस्तिका प्रेमकुमार कर्माचार्यले लेख्नुभएको हो । यस पुस्तिकामा लेखकले आफ्ना पिताजी मानबहादुर कर्माचार्यको सामाजिक तथा शैक्षिक योगदानको उल्लेख गर्नुभएको छ । यसका साथै किंवदन्तीका रूपमा रहेको तर लोप हुन लागेको गुर्जन ठाकुरको कथालाई पनि उजागर गर्नुभएको छ । कसैको पनि योगदान ओझेलमा नपरोस् भन्ने उद्देश्यले यो पुस्तिका तयार पारेर उहाँले सबैले नेपाली समाजमा यसरी नै योगदान गर्नुपर्छ भन्न खोज्नुभएको छ ।
कार्यक्रममा कतारमा कार्यरत खोटाङका सहयोगीबाट शब्दयात्रा प्रकाशनको अक्षरसेवी सहयोग कोषका लागि २२ हजार रुपियाँ र केशवप्रसाद तिमल्सिना र लीलादेवी श्रेष्ठबाट १०–१० हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई आर्थिक सहयोग प्राप्त भएको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयलाई अगिब बनेपाली, पशुपतिमान प्रधान, सुरेश भट्ट, सुदर्शन कट्टेल, दिवाकर जङ्गम, डा. काशीराज सुवेदी आदिले पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा पुरस्कृत व्यक्तित्व सुशीला ढकालले यस कार्यक्रममा आफू पुरस्कृत हुँदा खुसी व्यक्त गर्दै दुवै हात नभएर जन्मेको र जन्मेपछि गोडाको सहायताले सबै काम गर्न सिकेको र पढेको, आज निजामती सेवामा आबद्ध रहेको, शब्दयात्रा प्रकाशनले मेरो काम र योगदान देखेर पुरस्कारका लागि चयन गरी पुरस्कृत गरेको हुँदा आफ्नो जिम्मेवारी अझ थपिएको महसुस भएको छ, यसले गर्दा आफूलाई अझ सङ्घर्ष गर्ने र निजामती सेवा तथा अपाङ्गता क्षेत्रमा थप कार्य गर्ने हौसला थपिएको बताउनुभएको थियो ।