धुलिखेल । बर्षायाम सुरु हुन लागेकाले काभ्रे जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका सबै पालिकालाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक रुद्रादेवी शर्माको अध्यक्षतामा गत बुधबार धुलिखेलमा बसेको बैठकले आर्थिक वर्ष २०८०÷८१ को समीक्षा गर्दै आगामी दिनमा विपद् पूर्वतयारीमा जुट्नका लागि विपद्को प्रकृति र सम्भावित स्थान, जोखिमको अवस्थाको पूर्वानुमान विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
बैठकले स्थानीय विपद् व्यवस्थापन समितिको बैठक नियमितरुपमा बस्दै मनसुन तथा विपद्बाट प्रभावित हुनसक्ने स्थान पहिचान गरी सङ्कटको अवस्थामा रहेका समुदाय एवं बस्तीको पहिचान, जोमिम न्यूनीकरणका उपाय अवलम्बन गर्ने निर्णय गरेको छ ।
वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले स्थानीय तहसँग समन्वय गरी प्रभावकारी कार्ययोजनामार्फत कार्यान्वयन गर्ने, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्रीको सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकल, मर्मतसम्भार गरी तयारी अवस्थामा राख्ने र विपद्को समयमा अन्तरस्थानीय तह समन्वय गरी परिचालनको व्यवस्था मिलाउने, स्थानीय विपद् व्यवस्थापन कोषबाट खर्च भएको रकमको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनेलगायत विषयलाई प्रमुखताका साथ अगाडि बढाउने निर्णय भएको छ ।
स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन भएका पालिकामा सक्रियरुपमा सञ्चालन गर्न र स्थापना नभएका पालिकामा केन्द्र स्थापना गरी जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्न स्थानीय तहमा अनुरोध गर्ने, विपद्का समयमा तत्काल सेवा दिनसक्ने गरी स्वास्थ्य संस्था, औषधि र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, विकास आयोजना सञ्चालन गर्दा र निर्माण सामग्री उत्पादन गर्दा विपद् जोखिम न्यूनीकरणका उपाय अवलम्बन गरी प्रचलित कानुन र मापदण्डको पूर्णपालना गरी सम्बद्ध निकायले प्राथमिकताका साथ कार्यान्वयन गर्ने र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने संघसंस्थाले जिल्लास्थित र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी गरेको कार्यको प्रगति विवरण पेस गर्ने र सोको समन्वय गैरसरकारी संस्था महासंघबाट गर्नेलगायत विषयमा बैठकले निर्णय गरेको छ ।
बैठकमा बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले स्थानीय तहहरुले विपद् व्यवस्थापनका लागि गर्दै आएको सराहनीय कार्यलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गर्दै विकासको काम गर्दै जाने क्रममा विपद्को अवस्था पनि बढ्दै गएकाले सचेत भएर पूर्वतयारीमा जुट्न आवश्यक रहेकामा जोड दिनुभयो ।
सो क्रममा उहाँले बनेपा, पनौती र धुलिखेल नगरको एकीकृत योजना बनाएर दमकलको व्यवस्थापन गर्नुपर्ने, पुण्यमाता खोला आसपास पनौती र धुलिखेल नगरपालिकामा परेका भूभाग अन्तर्गतका खोलामा साना कल्भर्ट हाल्नुपर्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१’ ले तयार पारी जिल्लामा पठाएको ढाँचा अनुसार विपद्को प्रकृति, सम्भावित स्थान र जोखिमको अवस्थाको पूर्वानुमान विवरण सबै स्थानीयतहबाट उपलब्ध गराउन आग्रह गनुर्भयो ।
बैठकमा सहभागीले स्थानीय पालिकाले गर्दै आएको जोखिम व्यवस्थान कार्य, आगामी कार्ययोजना र विपद्मा परेकालाई वितरण गर्दै आएको राहतलगायतका विषयमा धारणा राख्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी शर्माले ९ महिनाको अवधिमा काभ्रेमा आगलागी र पहिरोको घटना बढी भएको जानकारी दिनुभयो ।
बैठकमा श्रावण १ देखि चैत्र २६ गतेसम्म काभ्रे जिल्लामा विपद् घटनाहरुबाट भए गरेका मानवीय, चौपाया तथा भौतिक क्षतिको समीक्षा गरियो । करेन्ट लागी २ जना र खोलाले बगाएर ३ गरी ५ जनाको मृत्यु, १४ जना मानिस घाइते, पन्छी ÷ चौपाया १०४ मरेको र ७ जना घाइते गरी जम्मा २४९ जना पीडित भएको प्रजिअ शर्माले बैठकमा जानकारी दिनुभयो ।
बागमती प्रदेश सभा सदस्य कन्चनचन्द्र बादे, बनेपा नगरप्रमुख शान्तिरत्न शाक्य, मण्डनदेउपुर नगरप्रमुख टोपबहादुर वाइवा, बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारी, सुरक्षा निकाय तथा कार्यालय प्रमुख र नागरिक समाजका प्रतिनिधि सम्मिलित बैठकले जिल्लामा हुन सक्ने विपदलाई न्यूनीकरण गर्न सबै सतर्क अवस्थामा रहने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चैत २५ को पत्रानुसार यस वर्षको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ तर्जुमाको लागि विवरण उपलब्ध गराउन तथा जिल्लामा मनसुनजन्य विपद्को प्रकृतिगत रुपमा सम्भावित स्थानहरु र जोखिमको पूर्वानुमान गर्न विपद्को प्रकृति र सम्भावित स्थान र जोखिमको अवस्थाको पूर्वानुमान विवरण सबै स्थानीयतहबाट उपलब्ध गराउन माग गर्ने निर्णय बैठकले गरेको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिको बैठक नियमितरुपमा राखी मनसुन तथा विपद्बाट प्रभावित हुन सक्ने स्थान पहिचान गरी संकट अवस्थामा रहेका समुदाय एवं बस्तीहरुको पहिचान र जोखिम न्यूनिकरणका उपायहरु अवलम्वन गर्ने, विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने सामग्रीहरुको सम्बन्धित सबै निकायहरुले तयारी अवस्थामा राख्ने, एम्बुलेन्स, दमकलहरु, मर्मत संभार गरी तयारी अवस्थामा राख्ने र विपद्को समयमा अन्तर स्थानीय तह समन्वय गरी परिचालन गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको जानकारी प्रजिअ शर्माले दिनुभयो ।