- ज्ञानमणि नेपाल कालाेटाेपी
चण्डेनीमण्डन । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनका जेष्ठ नागरिक, विपन्न, दीर्घरोगी, अपांगता भएका नागरिक र विन्धवासिनी माविका २३० विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ । बोधिसत्व बिहार, बुढानिलकण्ठ काठमाडौंका सर्वोच्च गुरु ह्वाङ सि को आर्थिक सहयोग तथा कान्छीमाया फाउन्डेसन धुलिखेलको सहकार्य र मण्डनदेउपुर–१० चण्डेनीमण्डनको आयोजनामा ती सामाग्री वितरण गरिएको हो ।
विहीबार चण्डेनीमण्डनस्थित विन्धवासिनी माविमा आयोजित एक कार्यक्रमका बीच सो वडाभरि रहेका सम्पूर्ण जेष्ठ नागरिक (मङ्सिर मसान्तसम्म ६८ बर्ष पुगेका सबै) ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका सबै, बिपन्न र दीर्घरोगीहरु सबैलाई न्यानो कपडा वितरण गरिएको हो । यस्तै सो अवसरमा माझी र दलित समुदायका सबै परिवारलाई खाद्यान्न बितरण, एकल महिला तथा दलित जेष्ठ नागरिकहरुलाई ब्लाङ्केट बितरण र विद्यार्थीहरुलाई स्विटर बितरण गरिएको छ । जसमा चामल पाउने सबै वर्गका नागरिकको संख्या २०५, ज्याकेट पाउने सबै वर्गका नागरिक १६८ जना पुरुष र ३०७ जना महिला गरि ४७५ जना तथा ज्याकेट र ब्ल्यांकेट पाउने नागरिकको संख्या ११० रहेको छ । कार्यक्रममा सबै वर्गका नागरिक गरि ७९० जनालाई न्यानो कपडा, ज्याकेट, खाद्यान्न, ब्ल्यांकेट लगायतका सामाग्री वितरण गरिएको वडाध्यक्ष कुमार मोक्तान तामाङले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथी बोधिसत्व बिहार, बुढानिलकण्ठ काठमाडौंका सर्वोच्च गुरु ह्वाङ सिले आफ्नो भूमि नभए पनि नेपालमा आएर सेवा गर्न पाएकोमा खुशी भएको बताए । उनले विगत एक दशकदेखि नेपालका विभिन्न ठाउँमा पुगेर आफूले यस्तो सहयोग गरेको र यसलाई आगामी दिनमा पनि जारी राख्ने बताए । कार्यक्रमका विशेष अतिथी मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले जाडो मौसममा विद्यार्थी, जेष्ठ नागरिक, अपांगता भएका नागरिक र एकल महिलाहरुलाई राहत हुने गरि वितरित सामानका लागि सहयोगी दातालाई विशेष धन्यवाद दिए । कार्यक्रमकै बीच दाताहरुलाई नगर र वडाका तर्फबाट सम्मान पनि गरिएको थियो ।
गत तिहारमा देउसीभैलो खेलेर यस वडाका सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण कार्यक्रमको अभियान शुरु गरिएको थियो । यसका लागि वडालाई कान्छीमाया फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकरबाट विशेष सहयोग पाएको वडाध्यक्ष तामाङले जानकारी दिए । यसअघि यस वडाका उमाशह शिक्षालय माविका २६० विद्यार्थी र कालिका निमाविका विद्यार्थीहरुलाई पनि यसैगरि स्विटरलगायतका अन्य सामाग्री वितरण गरिसकिएको छ । बिहीबारको कार्यक्रममा सहयोगी दाताहरुका अतिरिक्त शान्ति जनआदर्श सेवाकेन्द्र, धुलिखेलका अध्यक्ष शंखबुद्ध लामा, कान्छीमाया फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर थोकर, वडा र नगरका बुद्धिजिबी, शिक्षक, अभिभावक र विद्यार्थीको उपस्थिती रहेको थियो । आगामी दिनमा पनि वडाका बाँकी विद्यालयका विद्यार्थीलाई यसरी नै न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको पनि वडाध्यक्ष तामाङले जानकारी दिए ।