
काभ्रे । शब्दयात्रा प्रकाशनले अर्को विद्वतवृत्ति पनि प्रदान गर्ने भएको छ । त्यसका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनलाई विद्वतवृत्तिको अक्षयकोषका लागि प्रथम चरणमा एक लाख रुपियाँ प्रदान गरेको छ ।
विद्वतवृत्तिको अक्षयकोष रकममा क्रमशः बृद्धि गर्दै लगिने र अक्षयकोषको ब्याजबाट शब्दयात्रा प्रकाशनले हरेक वर्ष एकजनालाई विद्वतवृत्ति प्रदान गर्ने सहमति भएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन, अनुुसन्धान गर्ने व्यक्तिलाई उक्त विद्वतवृत्ति प्रदान गर्ने गरी भएको सम्झौतापत्रमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिसकेपछि सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शब्दयात्रा प्रकाशनलाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरिएको हो ।
त्यसैगरी शब्दयात्रा प्रकाशन पुस्तकालयमा ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ अन्तर्गत अनुसन्धान गर्ने अनुसन्धाताका लागि छुट्टै दराजको व्यवस्था गर्न सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रबहादुर खड्काले बीस हजार रुपियाँ प्रदान गर्नुभएको छ ।
उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । सुभाष खड्का र सुभाष स्मृति प्रतिष्ठानका विषयमा लेखन, सम्पादन तथा अनुसन्धान गर्न चाहने व्यक्तिलाई आवश्यक सामग्री खोज्न सजिलो होस् भन्ने उद्देश्यले छुट्टै दराजको व्यवस्था गर्न लागिएको हो ।
रकम प्रदान गर्ने क्रममा सुभाष स्मृति प्रतिष्ठानबाट हालसम्म प्रकाशन गरिएका विभिन्न पुस्तकहरूका साथै वार्षिक मुखपत्रहरू पनि चन्द्रबहादुर खड्काले प्रदान गर्नुभएको छ र ती सामग्रीहरू कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ ।