देशमा रोजगारीको अवसर नभएको र उच्च शिक्षा अध्ययनको लागि भन्दै अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, भारतलगायतका देशमा जाने विद्यार्थीको संख्या उच्च छ । पछिल्ला केही वर्षयता नेपालबाट कक्षा १२ उत्तीर्ण गरेपछि पढ्नकै लागि विदेश जानेहरु धेरै छन् । तर नेपालमा पनि विदेशी विद्यार्थी अध्ययनका लागि आउँछन् भन्दा विश्वास नलाग्न सक्छ ।
धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयमा ५७ देशका विद्यार्थीले अध्ययन गरेको तथ्यांक सार्वजनिक भएको छ । यसले नेपाल पनि विदेशी विद्यार्थीको अध्ययन गन्तव्य बनेको उदाहरण दिन अब कुनै गाह्रो छैन । तथ्यांकअनुसार यस विश्वविद्यालयमा हालसम्म ५७ देशका ५ हजार ४६७ जना विद्यार्थीले अध्ययन गरिसकेका छन् । वि.सं. २०४८ सालमा काठमाडौं विश्वविद्यालयको स्थापना भएदेखि हालसम्म जम्मा ४५ हजार ४३७ जना विद्यार्थी उत्तीर्ण भइसकेको तथ्यांक छ । जसमा ५ हजार ४६७ जना विदेशी विद्यार्थी रहेको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले जानकारी दिए । उनका अनुसार विश्वविद्यालयको २९ औं दीक्षन्त समारोह (दोस्रो चरण) मा भदौ १४ गते १९ देशका २४२ विदेशी विद्यार्थी दीक्षित भएका छन् । यो यस चरणमा कूल दीक्षित हुने विद्यार्थी २ हजार ३१४ जनाको १० प्रतिशत हुन आउँछ ।
विश्वविद्यालयले दिएको तथ्यांकअनुसार विदेशी विद्यार्थीमध्ये सबैभन्दा धेरै भारतका छन् । भारतबाट यहाँ पढ्नेको संख्या ४ हजार ६४३ रहेको मध्ये १९८ हाल अध्ययन गरिरहेका छन् । यस्तै दोस्रोमा श्रीलंकाबाट ३८७ जना, अमेरिकाबाट ७६, माल्दिभ्सबाट ६९ जना, जर्मनीबाट ३२ जना, क्यानडाबाट २१ र बंगलादेशबाट २० जना रहेका छन् । वेलायत र जाम्बियाबाट १८/१८ जना, भुटानबाट १५, दक्षिण अफ्रिकाबाट १४, पाकिस्तानबाट १३, चीनबाट ११, अष्ट्रेलिया, नर्वे र रुसबाट ९/९ जना रहेका छन् । यसैगरि अष्ट्रियाबाट ८, स्वीडेनबाट ७ तथा स्विट्जरल्याण्ड, नेदरल्याण्ड, तिब्बत र ब्राजिलबाट ५/५ जना, स्पेन, इजरायल, भियतनाम र अर्जेन्टिनाबाट ४/४, केन्या, बेल्जियम, फ्रान्स, अफगानिस्तान, दक्षिण कोरिया र डेनमार्कबाट ३÷३ जना रहेका छन् ।
त्यस्तै इन्डोनेशिया, जापान, इरान, ग्रिक, चेक रिपब्लिक, युक्रेन, बेनिन, तान्जिनिया र मेक्सिकोबाट २/२ जना तथा इथियोपिया, लेबनान, म्यानमार, पोल्याण्ड, फिजी, लिबिया, मरिसियस, आयरल्याण्ड, इटाली, पोर्चुगल, ताइवान, काजकिस्तान, सिंगापूर, फिनल्याण्ड, प्यालेस्टाइन र सुडानबाट १÷१ जना विद्यार्थीले काठमाडौं विश्वविद्यालयबाट अध्ययन गरिसकेको तथ्यांक छ ।
यसरी हेर्दा नेपाल पनि विदेशी विद्यार्थीका लागि उपयुक्त गन्तव्य भएको देखिए पनि यो पर्याप्त भने होइन । विदेशी विद्यार्थीका लागि नेपालमा पैसा ल्याउन निकै नै समस्या रहेको पाइएको छ । यसका लागि सम्बन्धित देशका राजदूतावास वा सरकारको अध्यागमन विभागले सहजिकरण गरिदिए अझै बढी विद्यार्थी नेपालमा आउन सक्ने विश्वविद्यालयले जनाएको छ । यसतर्फ नेपाल सरकारले पनि सोच्नुपर्ने देखिन्छ । उपयुक्त नीति निर्माण गर्न सके यो संख्यामा बृद्धि गराउन सकिनेमा दुईमत छैन ।