खाक्सी (खनालथोक )÷४ बर्षको अथक प्रयास पछि खनालथोक गाविस ९ खाक्सीका स्थानीयले विजुलीवत्ती बालेका छन् ।
स्थानीयको सकृयता र विभिन्न सरकारी निकायको सहयोगमा त्यहाँको ९० घरधुरीमा राष्ट्रिय प्रशासन लाइनको विजुली बलेको हो । जिल्ला सदरमुकामवाट २८ किलोमिटरको दुरीमा रहेको खाक्सी गाउँमा विजुलीको सुविधा पुग्न सकेको थिएन । ५ सय मिटरको दुरीमा रहेको डराउनेपोखरी गाविसको पिपलटारमा ४ बर्षअघि नै विजुली वल्यो । ३ किलोमिटर माथि दाप्चा बजारमा त २०४६ सालमा नै विजुली बलेको हो । अर्को छिमेकी गाविस खहरेपाँगुवासीले पनि २ बर्ष अघि नै विजुली बाले पनि आर्थिक अवश्था, अशिक्षा लगायतका विभिन्न कारणले त्यहाँ विजुली बल्न सकेको थिएन । “छिमेकमा २ बर्ष अघि पल्लो गाँउमा बत्ती बलेपछि यहाँ पनि बाल्नुपर्छ भनेर कम्मर कसेर लाग्यौँ, ” विद्युत उपभोक्ता समितिका सदस्य समेत रहेका स्थानीय युवा सुर्य लामाले भने ।
अधिकाशं तामाङ समुदायको बस्ती रहेको खाक्सीमा विद्युत बाल्न पहल पनि कमै भएको हो । स्थानीय सेतीदेवी प्राथमिक विद्यालयका शिक्षक समेत रहेका स्थानीय गणेश बहादुर लामा विजुली ढिला आउनुमा
अशिक्षा पनि एक कारण रहेको तर्क गर्छन् । “विद्युत आवश्यकता हो भन्ने पनि कमै महशुस भयो, उनले भने, “पहिला बाटो बनाउन पर्छ भनेर लागियो, छिमेकमा बलेपछि मात्रै विजुली बाल्नुपर्छ भनेर लाग्यौँ । ”
२ बर्षअघि मात्रै स्थानीयहरु विजुली बाल्ने अभियानमा जुटेका थिए । गाविसले ४ लाख, जिल्ला विकास समितिले ४ लाख र स्थानीयले १ लाख ५० हजार सहयोग गरेका छन् । उर्जा मन्त्रालय अन्तर्गत नेपाल विद्युत प्राधिकरणले १३ लाख बरावरको ट्रान्समिटर लगायतको प्राविधिक सहयोग गरेको छ ।