काभ्रे । साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूको पनौती नामक परिचयात्मक कृति प्रकाशित भएको छ । २०६४ सालमा पहिलो संस्करण प्रकाशन भएको सो पुस्तकको परिमार्जित र पुनर्लिखित संस्करणको लोकार्पण हालै एक समारोह बीच सम्पन्न भएको हो ।
पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेले सो पुस्तकको लोकार्पण लक्ष्मीपुजाको दिन गर्नुभएको थियो । पनौती नगरपालिकाले प्रकाशन गरेको उक्त पुस्तकमा पनौतीको इतिहास, संस्कृति, धर्म, प्रकृति, सांस्कृतिक सम्पदा, चाडपर्व आदिका बारेमा जानकारी दिइएको छ ।
पनौती प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो । नगरको विशेषतालाई अक्षरमा लिपिबद्द गरेर पनौती नगरका बारेमा जानकारी लिन चाहनेहरूका लागि पुस्तक उपयोगी हुने विचार नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि भीम न्यौपानेले बताउनुभयो ।
त्यस्तै पुस्तकका सर्जक साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजूले पनौती पुस्तक आफू जन्मेको माटोप्रतिको प्रेमको प्रतीक रहेको विचार राख्नुभयो । एक अर्को प्रसंगमा साहित्य सिर्जना र अनुसन्धान फरक विषय रहेको पनि बताउनुभयो । संस्कृतिकर्मी तुयुकाजी ताम्राकारले भेगीय दृष्टिकोणले ठूलो रहेको यो नगरको सुक्ष्म अध्ययन गरेर लेखकले पुस्तक तयार गरेकाले पुस्तक पठनीय, मननीय र संग्रहनीय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, संगितकार सुरेश अधिकारी, वडा अध्यक्ष रामचन्द्र नास्ननी, पुरुषोत्तम कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रममा मकरमेलासँग सम्बन्धी गीत पनि विमोचन गरिएको थियो । मूलत लाकोजू कवि हुन् । उहाँको पाँचओटा कविता संग्रहका साथै नेपाली साहित्यका विविध विधाका साढे दुई दर्जन साहियिक कृति प्रकाशित छन् । साथै त्यतिकै संख्यामा उहाँको सम्पादित कृति पनि छन् ।