काठमाडाैं। गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा ‘लम्पी स्किन’ रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ।
चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म ९ हजार ४१० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, अहिलेसम्म ३ लाख ५५ हजार ६९८ पशु सङ्क्रमित भएका छन् । अहिले यस रोगको प्रकोप देशभर ७३ जिल्लामा फैलिएको छ ।
यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि पालिका, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ ।
विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशु मरेका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ ।
यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईबस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईबस्तुमा बढी देखा परेको उहाँले बताउनुभयो ।रासस