धुलिखेल । काभ्रेको रोशी गाउँपालिका–४ स्थित सानोपोटा गाउँमा मङ्गलबार दिउँसो भएको आगलागीमा १५ घर नष्ट हुँदा दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको छ ।
ञबस्ती नजिकै रहेको सामुदायिक वनमा लागेको आगलागीबाट सानोपोटा गाउँमा क्षति पुगेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आगलागीबाट १५ घर, सात गोठ र चार शौचालय नष्ट भएको छ । आगलागीबाट रोशी–४ सानोपोटा बस्ने वर्ष ४२ वर्षीय प्रेम तामाङ, जनक तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, धनकाजी तामाङ, पदमबहादुर तामाङ, प्रशान्त थिङ तामाङ, माया तामाङ, पलबहादुर तामाङ र साइली माया तामाङका घर, गोठ, नगद, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा र सरसामान नष्ट भएको प्रहरीले जनाएको छ ।
वडा नं ४ का वडाध्यक्ष तेजबहादुर मगरका अनुसार घर नष्ट भएपछि पीडितहरु खुल्ला आकाशमुनि बस्दै आउनुभएको छ । उहाँहरुको बसाइ व्यवस्थापनका लागि गाउँपालिकाबाट त्रिपाललगायत सामान ल्याउने क्रममा रहेको उहाँले बताउनुभयो । आगलागी भएको जानकारी पाएपछि नेपाली सेना, स्थानीय बासिन्दा र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न संघसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो ।
जिल्लाबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य तिर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा, विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्लास्थित सुरक्षा निकायका प्रमुख लगायतले बुधबार घटनास्थलमा पुगी निरीक्षण गर्नुभएको थियो ।
विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई पाँच हजार दिइएको र बाँकी दश हजार केही दिनमै उपलब्ध गराइने बताउनुभयो ।
आगलागीमा पेरर १५ वटा घर जली नष्ट हुदाँ २ करोड २५ लाख ८० हजार भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।