
मण्डनदेउपुर । ६० औं राष्ट्रिय बालदिवसको अवसरमा मण्डनदेउपुर नगरपालिकामा विज्ञान प्रदर्शनी गरिएको छ । मण्डनदेउपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरभित्रका १६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
प्रदर्शनीमा १३ सामुदायिक र ३ संस्थागत विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । आफूले विद्यालयमा सिकेका कुराहरुलाई व्यवहारिकरुपमा प्रयोग गरेर विज्ञानसँग सम्बन्धित विषयवस्तुहरु समेटिएका सामाग्री प्रदर्शन गरेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताए । विज्ञान प्रदर्शनी अघि कुन्तावेसीदेखि हिँगुवापाटीसम्म र्यालीको आयोजना गरिएको थियो । र्यालीमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका बालबालिकाहरुले बालअधिकार नारामा मात्र नभइ व्यवहारमै लागू गर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले निकै उत्साहजनकरुपमा भाग लिएको र आफ्ना प्रतिभा प्रदर्शन गरेको नगरप्रमुख टोकबहादुर वाइवाले बताए । नगरपालिकामै पहिलो पटक आयोजना गरिएको विज्ञान प्रदर्शनीलाई आगामी दिनमा पनि निरन्तरता दिइने उपप्रमुख विष्णुमणि नेपालले बताए । कार्यक्रममा बाग्देवी मावि ज्याम्दी पहिलो, डेडीथुम्का मावि दोस्रो र वालुवा मावि तेस्रो भएका थिए भने इन्द्रावती माविले सान्त्वना पुरस्कार पाएका थिए । पुरस्कृत विद्यार्थीलाई नगरपालिका प्रमुख, उपप्रमुख लगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।