काभ्रे।
रोशी गाउँपालिकाले आफ्नो कार्यकालको पहिलो एक वर्षको समीक्षा गरेको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै राेशीले आफ्नाे एक वर्षे उपलब्धि सार्वजनिक गरेकाे हाे ।
कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आफूहरु निर्वाचित भएर २०७९ जेठ ९ गते सपथ ग्रहण गरेसँगै जनतामाझ गरेका प्रतिबद्धता कार्यन्वयनका बारेमा समीक्षा गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनबहादुर वाइबाले स्वागत मन्तब्य राख्नु भएको थियो । पालिकाका विभिन्न वडाका अध्यक्षहरुको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष लामाले आफूहरुको प्रतिबद्धता अनुरुप रोशी गाउँपालिकाको १२ वटै वडाबाट ६० वर्ष नाघेका करिब १ हजार पाँच सय नागरिकको नि:शुल्क स्वस्थ्य बीमा गरिसकिएको उल्लेख गर्नुभयो।
यस्तै उहाँले संस्थागत सुशासनतर्फ आर्थिक वर्ष २०७९/८० मा ३ वटा कार्यविधि, २ वटा मापदण्ड, १ वटा निर्देशिका र १ वटा रणनीति पारित गरि कार्वान्वयनमा ल्याइएको बताउनुभयाे । गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण बमोजिम कर्मचारी पदपूर्तिको व्यवस्था मिलाइएको, क्षमता विकास कार्यक्रम अन्तर्गत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि क्षमता अभिवृद्धि तालिम, १२ वटै वडा कार्यालय, १५ वटा स्वास्थ्य संस्था र १६ वटा माध्यमिक विद्यालयहरुमा फाईबर नेटको पहुँच पुर्याइएको पालिकाले जनाएकाे छ।
यस्तै १२ वटै वडा कार्यालयबाट अनलाइन राजस्व संकलन कार्यको थालनी, गाउँपालिकाबाट हुने सबै भुक्तानी इएफटी प्रणालीमार्फत गर्ने गरिएको, सामाजिक सुरक्षा भत्ता बैंकिङ सेवामार्फत वितरणको थालनी, गाउँपालिकालाई शुन्य बेरुजु बनाउने अभियानको थालनी, गाउँपालिकाबाट भए गरेका काम कारवाहीका प्रभावकारिताको लागि सार्वजनिक सुनुवाई र सामाजिक परिक्षणको थालनी गरिएको अध्यक्ष लामाले बताउनुभयो। कार्यक्रम संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ गर्नुभएको थियो।