![](https://madhyamarganews.com/wp-content/uploads/2024/03/kalika.jpg)
सोचमग्न छु खै कहाँ होलान्
पवित्र मन भएका महादेव ?
पार्वतिलाई जस्तो छल नगर्ने
गोमालाई जस्तो गर्भिणी
बनाएर अलपत्र नपार्ने……..
यहाँ
नारीको अस्तित्व समाप्त पारी
आफू रमाउने तिनका अंग अंगमा
आँखा लगाउने अनि
स्याल र गिद्धले झैं
चोक्टा चोक्टा लुच्छ्ने
महादेव का भुत प्रेत पिचाश
यत्र तत्र निर्वस्त्र डुलिरहेछन
के छोरी ? के बुहारी ?
के बालिका ? के नाबालिका
बुझ्ने हिक्मत नभएकाहरुको भिडमा
गुरुले चेलिको बलात्कार
हाकिमले कर्मचारिको बलात्कार
आफ्नाले आफ्निको बलात्कार
गरिरहेको यो पासविक क्षणमा
म खोजिरहेछु पवित्र आत्मा
भएका महादेव
जसले नारिलाई सतिदेविलाई जस्तै
प्रेम गरुन्, सम्मान गरुन्
बिष्णु बनाएर बृन्दाको
सतित्व हरण गर्न नपठाउन
तलाउमा राजहास बनेर
हंसिनिको अस्तित्व नस्ट नपारुन
अनि पो हुन्थ्यो होला
अन्तर्राष्ट्रिय नारी दिवसको
नारा सफल …
महिलामा लगानी सभ्य र समुन्नत
समाजको थालनी
श्रमिक महिला हुन् या
अश्रमिक महिला, गृहिणी हुन या
महारानी महिला ……
यहाँ …
पढेका मुर्खहरुले नै गरिरहेछन्
महिलाका सामाजिक, शारीरिक र
मानसिक बलात्कार …
आनन्द लिइरहेछन सुनेर
नारिको चीत्कार, आफू अनुकुल
महिलाको प्रयोग गर्न खोज्ने
यी गाँजा, भाङ र धतुरो का
बासनामा भुलेर सत्तरी बर्षको
उमेरमा पनि सात बर्षकी बालिकाको
शरिरसँग खेल खेल्न शिवभट्टको रुप
धारण गर्ने महादेव हैन
म खोजिरहेछु…….
“नारिको रक्षा गर्ने
नारिको सम्मान गर्ने
नारिको संरक्षण गर्ने
पवित्र आत्मा
भएका महादेव” ।।
०००