दीपरत्न शाक्य
जीवन सरल र सहज छ, आफ्नै गतिमा अघि बढिरहन्छ । तर हाम्रो मन जीवनसँगै लयमा चलिरहेको हुँदैन । मन अस्थिर र चञ्चल छ । कहिले भूतकालमा जान्छ, कहिले भविष्यत्कालमा । कहिले तृष्णामा त कहिले कल्पनाको उल्झनमा अल्झिरहेको हुन्छ ।
मानिसको जीवन भनेकै मन हो । मनको प्यास मेट्न मानिस जीवनभरि भागदौडमा व्यस्त भइरहन्छ । आफूलाई बिर्सिएर तृष्णाको पछि दौडिरहन्छ । समय हातबाट फुत्किएको पत्तै पाउँदैन । न प्यास मेटिन्छ, न तृष्णा नै । जीवनको अन्तिम अवस्थासम्म पनि जीवनलाई बुझ्नै नसकी जीवन अधुरो र अपुरो रहेछ भनेर डर मान्दै देहलीला समाप्त पार्दछ । मनका प्यास र तृष्णाहरू अधुरै रहन्छन् ।
मृत्यु जीवनको शाश्वत सत्य हो । जो जन्मन्छ, उसको मृत्यु अवश्य हुन्छ । मानिस हरेक क्षण मृत्युको भयमा बाँचिरहेको हुन्छ । मृत्य हुन्नथ्यो भने धर्मकर्म र पापपुण्य हुँदैनथे, गरिँदैनथे । सारा धर्म र धर्मग्रन्थहरू मृत्युभयबाट मुक्तिका लागि तयार गरिएका हुन् ।
मानिसहरू इन्द्रियका तलमा जिउँछन् । शरीर र मनलाई नै सर्वोपरि मानी त्यसको आवश्यकता तथा तृष्णाको परिपूर्तिका लागि सारा जीवन भागदौडमा बिताउँछन् । तर मानव जीवन इन्द्रिय चेतनामा मात्र सीमित छैन । मानव शरीरभित्र अथाह रहस्य लुकेका छन् । असीमित ब्रह्माण्डीय ऊर्जाले शरीर भरिएको छ । हामीले जानी–नजानी मान्दै आएको धर्म तथा सम्पूर्ण धार्मिक क्रियाकलापहरू यही ब्रह्माण्डीय ऊर्जासँग एकाकार हुनका लागि हो । शरीरमा असीमित ऊर्जा तथा मृत्युको भयबाट मुक्त हुनकै लागि हो ।
हामीले मान्दै आएको धर्मका दुई बाटा छन् — एउटा संस्कार–संस्कृतिको, अर्को अध्यात्मको । जतिसुकै धार्मिक भएर संस्कार र संस्कृतिलाई माने पनि आन्तरिक रूपमा रूपान्तरण हुन सकिँदैन । किनकिसंस्कार र संस्कृति भौतिक वस्तुमा आधारित भएर मानिएका हुन्छन् । जसलाई हामी भगवान् वा ईश्वर मान्दछौँ, त्यो कुनै भौतिक वस्तु नभई भावमा आधारित धारणा हो, जसलाई हामी न देख्न सक्छौँ, न छुन । त्यसैले भौतिक वस्तु अभौतिक धारणामा चढाएर रूपान्तरण गर्न सकिन्न । केही क्षण मनलाई भने शान्ति दिन्छ ।
आध्यात्मिक यात्रा यस्तो यात्रा हो, जसलाई साधनाबाट रूपान्तरण गरेर चेतनाको स्तर माथि उठाई मृत्युको भयबाट मुक्त हुन सकिन्छ, मृत्युलाई मित्र बनाउन सकिन्छ । अध्यात्मको सम्पूर्ण प्रयास जीवन रूपान्तरण तथा मृत्युको भयबाट मुक्त हुनु हो । मृत्युको भयबाट मुक्त हुनु भनेको जन्ममृत्युको चक्रबाट मुक्त हुनु हो, निर्वाण प्राप्त गर्नु हो । मानिस भई जन्म लिनुको मूल उद्देश्य नै निर्वाणप्राप्ति हो । निर्वाण प्राप्त नभएसम्म प्राण ऊर्जाले पुनर्जन्म लिइरहन्छ र हामी जन्ममृत्युको चक्रमा घुमिरहन्छौँ ।
यो पुस्तक कुनै जाति, धर्म, सम्प्रदाय, धर्मशास्त्र र प्रवचनमा आधारित भएर लेखिएको होइन, मेरो जीवनमा आधारित पुस्तक हो । जीवन भोगाइका क्रममा घटेका घटना–परिघटना र संसारी जीवनप्रतिको असन्तुष्टिबाट आफूले आफैँलाई खोज्दा आध्यात्मिक यात्रामा लागेर पाएका अनुभव र अनुभूतिहरूको सङ्ग्रह हो ।
मलाई यस अवस्थामा ल्याउन सहयोगी बनेका परम गुरु ओशोलाई नमन तथा ओशोधारा नेपाललाई धन्यवाद ज्ञापन गर्दछु । मेरो जीवन रूपान्तरणका लागि चौतारी उपलब्ध गराइदिने ओशोधारा नेपालका सम्पूर्ण गुरुवरप्रति नमन गर्दछु । उहाँहरूकै मार्गनिर्देशनबाट आफूलाई रूपान्तरण गर्न सफल भएको छु । मलाई सहयोग गर्नुहुने आदरणीय दाजुहरू ज्ञानरत्न शाक्य, चन्द्ररत्न शाक्य, राजकुमार शाक्य, भाउजू शर्मिला बज्राचार्य, दाजु ओमरत्न शाक्य, बहिनी रमिला शाक्य र ज्वाइँ अष्टरत्न बुद्धाचार्यप्रति आभार व्यक्त गर्दछु । यस पुस्तकको लेखनमा, अक्षराङ्कनमा, भाषिक शुद्धीकरणमा, सम्पादनमा, साजसज्जामा, आवरणसज्जामा, प्रकाशनमा, मुद्रणमा र वितरणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्दछु ।