सन्दीप के.सी.
आधारभूत स्वास्थ्य सेवा भित्रको एउटा महत्वपूर्ण तत्व मानसिक स्वास्थ्य पनि हो । नेपालको संविधानले स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यवाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पहुँच हुने उल्लेख गरेको छ । त्यसैगरी जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४ (ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ । जनस्वास्थ्य सेवा ऐन कै एदफा ३५ र ३६ ले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा सुविधाको समेत सुनिश्चितता गरेको छ । सयुंक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (२०१६—२०३०) तथा नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धिहरुमा समेत उल्लेख भए बमोजिम मानसिक स्वास्थ्यको अधिकारको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । कानुनि रुपमा यस्तो व्यवस्था गरेतापनि यसको उपलब्धता र पहुँच सहज भएको देखिँदैन ।
नेपालमा मानसिक समस्याहरुमा चिन्ताजन्य समस्या, डिप्रेशन, छारेरोग, मादक पदार्थ तथा लागुपदार्थ दुव्र्यसनीका समस्या रहेका छन्। विभिन्न कारणबाट हुने मानसिक आघातले गर्दा उत्पन्न पोष्ट ट्रमाटिक स्ट्रेस् डिस्अडर (पि.टि.एस.डि.) को समस्या, मादक पदार्थ दुव्र्यसनीको समस्याहरु देखिएको पाईन्छ । यो समस्याबाट कुनैपनि समुदाय अछुतो रहेको देखिँदैन । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको २०१८को मानसिक स्वास्थ्य प्रतिवेदन अनुसार मानसिक समस्याहरुमा डिप्रेशन (३.४%), मादक पदार्थ दुव्र्यसनी (३.४%), तथा लागु पदार्थ दुव्र्यशनी (७.३%) पाईएको छ । मानसिक स्वास्थ्य समस्याका लक्षणहरुमा मन तथा शरीर भारी भईरहने, शरीरका धेरै भागमा दुखाई तथा पीडा महसुस हुने, एक्लोपनको महसुस बढी हुने, मन दिक्क लाग्ने, रिस उठ्ने, निन्द्रामा समस्या हुने, डर तथा शंकाको भावना आइरहने जसले गर्दा समाजमा सबैसँग खुलेर व्यवहार गर्न नसक्ने, काम गर्ने जाँगर कमी हुने, रुन मन लाग्ने, न्याय नपाएको महसुस हुने जस्ता हुन्छन् । बिश्व स्वास्थ्य संगठनको अनुसार प्रत्येक चार जना मध्ये एक जनालाई जीवनको कुनै पनि क्षणमा मानसिक स्वास्थ्य समस्या हुन सक्ने जोखिम रहेको देखिन्छ । यसको प्रतिवेदन अनुसार अधिकांश मानसिक रोगको सुरुवात १५ वर्ष देखि नै शुरु हुन थाल्दछ । हाम्रो समुदायमा मानसिक स्वास्थ्य समस्याकै कारण हुने गरेको सबैभन्दा अन्तिम दुःखदायक परिणाम आत्महत्या रोक्न सकिने समस्या हो । अधिकांश आत्महत्या (झण्डै ९०%) मानसिक समस्याका कारण हुने अनुसन्धानहरुवाट देखिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण पाईलट अध्ययन प्रतिवेदनले किशोर किशोरीहरुमा आत्महत्याको जोखिम ८.७% र बयस्कमा १०.९% देखिएको छ ।
मानसिक स्वास्थ्य समस्याको बारेमा चेतनाको स्तर निक्कै कमी देखिन्छ, जसका कारण सवै खाले मनका समस्यालाई कडाखालको मानसिक रोग (मानसिक असन्तुलन वा पागलपन) भनेर बुझ्ने गरिन्छ । मानसिक स्वास्थ्य विषयमा थुप्रै भ्रम, अनगिन्ति अन्धविश्वास र गलत धारणा व्यापक रहेको छ ।
मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, उपचारमा कम लागत पर्ने, उपचार पछि व्यक्ति पहिलेकै अवस्थामा फर्की उत्पादनमूलक काममा संलग्न हुन सक्ने भएतापनि मानसिक स्वास्थ्य सवै जनताको लागि सर्वसुलभ र प्रभावकारी बनाउन सकिएको छैन । प्रायः सवै खालका मानसिक स्वास्थ्य समस्याको उपचार गर्न सकिने भएपनि यस रोगको राम्रो उपचार हुँदैन भन्ने गलत विश्वासले मानसिक स्वास्थ्य अझै पनि तीनै तहका सरकारको प्राथमिकतामा पर्न सकेको छैन । नेपालमा वि.सं. २०५३ मा राष्ट्रिय मानसिक स्वास्थ्य नीति, मानसिक स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०६४ र पुरानो मानसिक स्वास्थ्य नीतिलाई परिमार्जन गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति रकार्ययोजना २०७७ नेपाल सरकार ले जारी गरेको छ । तर अन्य सेवा जस्तो बृहत समुदायस्तरमा जनशक्ती र तालिम अभावका कारण लैजान सकिएको छैन ।
मानसिक तथा मनोसामाजिक समस्यामा कुनैपनि समुदाय जोखिममा रहेको हुनाले मानसिक स्वास्थ्यलाई केन्द्रविन्दुमा राखी प्रवद्र्धनात्मक, प्रतिकारात्मक र निरोधात्मक तथा उपचारात्मक कार्यक्रम संचालन गर्नु पर्ने देखिन्छ । यस क्षेत्रमा व्याप्त रहेको अन्धविश्वास, भ्रम र गलत धारणामा परिवर्तन ल्याई मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम, उपचार तथा पुनर्स्थापना कार्यक्रम विकास गरी लागु गर्न सरकारी तथा गैह्र सरकारी निकाएको भुमिका उल्लेख्य हुनु पर्ने देखिन्छ । प्रजनन् उमेरका महिलाहरुमा मृत्युको पहिलो र युवाहरुमा दोस्रो कारण बनेको आत्महत्या तथा बालबालिका तथा किशोर किशोरीमा हुन सक्ने भावनात्मक, व्यवहारिक र सिकाईजन्य समस्यालाई समयमा नै चिनेर समयमै सम्बोधन गर्न तिनै तहका सरकारले काम अगाडि बढाउनु जरुरी छ ।