महिला सहकारीलाई सम्मान

काभ्रे । लैंगिक हिंसाबाट पीडितहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्ने संस्थालाई नमोबुद्ध नगरपालिकाले सम्मान गरेको छ । 
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन शुक्रबार आयोजित एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिका वडा नं. ७ मा रहेको खनालथोक महिला वहुउद्देश्यीय सहकारी संस्थालाई नगरपालिकाले सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि प्रदेशसभा सदस्य गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले संस्थाकी अध्यक्ष देवकी खनाललाई सम्मान पत्र प्रदान गरिएको थियो । उक्त संस्थाले आर्थिक बर्ष २०६७÷६८ देखि नै लैंगिक हिंसाबाट प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र सञ्चालन गर्दै हिंसाबाट प्रभावितहरुको संरक्षण र व्यवस्थापन गर्दै आइरहेको छ ।
नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य गोमा भुर्तेलले लैंगिक हिंसा अन्त्यको सुरुवात घरबाटै गर्नुपर्ने बताउनुभयो । अधिकार प्राप्तिका लागि महिलाहरु आफैं अघि सर्नुपर्ने बताउँदै भुर्तेलले समाजमा अझै पनि शारीरिक र मानसिक हिंसाबाट पीडित महिलाको संख्या धेरै रहेको बताउनुभयो । शारीरिक हिंसाभन्दा मानसिक हिंसा झनै डरलाग्दो हुने भन्दै उनले सबै प्रकारका हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । छोरी मान्छेलाई शिक्षादीक्षा दिएर सक्षम बनाउन सके समाज आफैं परिवर्तन हुँदै जाने भुर्तेलको भनाई थियो । 
कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नमोबुद्ध नगरपालिकालाई महिलामैत्री नगरपालिकाको रुपमा अघि बढाउने काम भइरहेको जानकारी दिनुभयो । यस बर्षको नीति तथा कार्यक्रममा बुहारी प्रोत्साहन कार्यक्रम लगायतका महिलामैत्री कार्यक्रम तय गरेर कार्यान्वयनमा अघि बढेको तिमल्सिनाले बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा अध्यक्षहरु कुलप्रसाद न्यौपाने, धर्मसि लामा, नेकपा एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष नवराज अधिकारी, मानवअधिकारकर्मी भोजराज तिमल्सिना, नमोबुद्ध महिला सहकारी सञ्जालकी अध्यक्ष राधिका तिमल्सिना लगायतले सबै किसिमका हिंसाको अन्त्य गर्दै समुन्नत समाजको विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारको सञ्चालनमा सम्पन्न भएको थियो । 
नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा वडास्तरीय अभिमुखीकरण कार्यक्रम, लैंगिक उत्तरदायी बजेट निर्माणसम्वन्धी अभिमुखीकरण, दीप प्रज्वलन लगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *