नमोबुद्ध । नेपाल महिला संघ नमोबुद्ध नगर कार्यसमितिले स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।
शनिबार भकुण्डेवेशीमा आयोजित कार्यक्रममा नगरप्रमुख कुन्साङ लामा, वडाअध्यक्ष, कार्यपालिका सदस्य, सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । संविधान सभा सदस्यसमेत रहेका कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले उनीहरुलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् । कार्यक्रममा बोल्दै जिल्ला सभापति लामाले संगठनको बलमा कांग्रेसले विजयी हासिल गरेको भन्दै नगर सभापति कुन्साङ लामासहित सबै कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ संस्था र वडा कार्यसमिति र सबै क्रियाशिल र शुभेच्छुकहरुको मिहेनतको प्रतिफल नै कांग्रेसको जित भएको बताए ।
जनप्रतिनिधीका हरेक क्रियाकलाप जनताले निगरानी गरिरहेको हुने भन्दै उनले अनुशासनमा रहेर काम गर्न जनप्रतिनिधीहरुलाई निर्देशन दिए । नगर प्रमुख कुन्साङ लामाले सबैको मिहेनतका कारण कांग्रेस जितेको भन्दै सबैप्रति आभार प्रकट गरे । उनले विधी र कानूनभन्दा एक इञ्च पनि तल रहेर काम नगर्ने भन्दै कानून विपरितका कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाए । उनले टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने आफ्नो तयारी रहेको भन्दै सम्बन्धित बैंकहरुसँग छलफल गरिसकेको जानकारी दिए । नेपाली कांग्रेस काभ्रेका सचिव गुणराज मोक्तानले गठबन्धनका कारण महिला सहभागिता केही खुम्चिएको स्विकार्दै महिलालाई पार्टी र संसदीय फाँटमा सबैभन्दा धेरै अवसर दिने पार्टी कांग्रेस नै भएको इतिहासले पुष्टी गरेको बताए । कांग्रेस महासमिति सदस्य हरिबहादुर बलले विगतका त्रुटी सच्याएर जानुपर्ने बताए । महाधिवेशन प्रतिनिधीसमेत रहेका नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझाले अघिल्लो स्थानीय तहको निर्वाचन हारेको कांग्रेस निरन्तर जनताको विचमा रहेका कारण यो पटक जित हासिल गरेको बताए ।
कांग्रेस महाधिवेशन प्रतिनिधी रमिला अधिकारीले सबैलाई समान अवसर दिएर कांग्रेसले नमोबुद्धलाई नमुना नगर बनाउने विश्वास व्यक्त गरिन् । कांग्रेस जिल्ला कार्यसमिति सदस्य सन्त लामाले जितको दम्भ देखाए कांग्रेस कम्युनिष्ट जस्तै सिद्धिने भन्दै जनताको सुखदुःखमा सधंै साथमा रहने बताए । उनले कांग्रेसका जनप्रतिनिधीले भ्रष्ट्राचार गरेको सुन्न नपरोस् भन्दै सुशासन र पारदर्शीतामा जोड दिन अनुरोध गरे । कांग्रेस नगर कार्यसमितिका कार्यबहाक सभापति इन्द्रबहादुर दाहालले जनप्रतिनिधीहरुलाई शासक नभई जनताको सेवक भएर काम गर्न अनुरोध गरे । नमोबुद्ध नगर कार्यपालिका सदस्य सुशिला परियारले महिला अधिकार, सशक्तिकरण र महिलालाई आर्थिकरुपमा सक्षम बनाउने खालका योजना ल्याउनुपर्नेमा जोड दिइन् । महिला संघ नमोबुद्धकी सभापति शान्ता पाठक नरालले महिलालाई लैंगिक हिंसाबारे जानकारी दिन तालिम, प्रशिक्षण, प्रतिरक्षा तालिम र निशुल्क सेनेटरी प्याडको व्यवस्था गर्न माग गरिन् । नमोबुद्ध नगरपालिकामा कांग्रेसले नगरप्रमुख, ५ वडाअध्यक्षसहित ३१ जना नगर सभा सदस्यमा जित हासिल गरेको छ । २१ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसका १४, माओवादी केन्द्र र एमालेको ३÷३ र १ स्वतन्त्र निर्वाचित छन् ।