काभ्रे । पनौती नगरपालिकाले आफ्नो क्षेत्रभित्रका व्यावसायिकरुपमा कुखुरा, कालिज तथा पशुपन्छीजन्य पालक कृषकसहित बुधबार महामारीजन्य रोगबारे सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि नगरपालिकाले तयारी स्वरुप उक्त अन्र्तक्रिया गरेको हो । कुखुरा तथा पन्छीजन्य पोल्ट्री व्यवशायमा बर्डफ्लु लगायतका महामारीजन्य रोग कसरी सर्छ र यसबाट हुने क्षती न्यूनीकरण तथा नगरपालिकाले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगर प्रमुख भीम न्यौपानेले बर्ड–फ्लुप्रति सावधानी अपनाउन व्यवसायीलाई आग्रह गर्दै यदी रोग देखिएमा नलुकाउन आग्रह गर्नुभएको थियो । कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले नगरक्षेत्रका पोल्ट्री ब्यवशायीहरुलाई कुखुरा तथा पन्छीमा रोग देखा परेमा नलुकाउन आग्रह गर्नुभयो । ‘रोग लुकाऊदा आफ्नो त क्षति हुन्छ नै आफ्नो क्षेत्रका अन्य पोल्ट्री ब्यवशाय पनि सखाप हुन्छ, समयमै कृषि तथा पशुपन्छी शाखामा खबर गरे नगरपालिकाले केहि सहयोग गर्न सक्छ’ उहाले भन्नुभयो ।
नेपालमै पहिलो पटक काभ्रेमा ब्रोइलर चल्लाको माउ उत्पादन गर्न कब नेपालले ग्रान्ड प्यारेन्ट फर्म स्थापना गरिसकेको र अब ब्रोइलर चल्लाको माउ विदेशबाट किनेर ल्याउनुपर्ने झन्झट नहुने प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगर क्षेत्रमा बेचबिखन हुने पशुपन्छी जन्य मासुको सरसफाईमा पनि ध्यान दिनु जरुरी रहेको औल्याउनुभयो । सरसफाईमा ध्यान नदिदा यसबाट पनि रोगको प्रकोप बढन सक्ने भन्दै जनस्वास्थ्यलाई मध्येनजर गर्दै नगर क्षेत्रमा एउटा पशु बाधशालको आवश्यकता रहेको बताउनुभयो ।
यसैगरी, भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलका निमित्त प्रमुख राजकुमार हुमागाईंले नगर क्षेत्रमा रहेका सबै कुखुरा व्यवशायीलाई सम्पर्कमा आउन आग्रह गर्दै किसानहरु सम्पर्कमा हुदा तथ्यांक संकलन हुने र आवश्यकता परेको बेलामा सहयोग जुटाउन सहज हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कब नेपालका प्रविधिक प्रमुख डाक्टर सुदिप केशब हुमागाईंले कुखुरा तथा पन्छीमा लाग्ने विभिन्न रोग र उपचार र मानिसमा पर्ने प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता पनौती नगरपालिका कृषि तथा पशुपन्छी विकास समितिका संयोजक गुणनाथ सापकोटा गर्नुभएको थियो । वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी लगायतले मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा पलिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुखहरु, पन्छी बिशेषज्ञ, पशु चिकित्सक, कुखुरा तथा पन्छी व्यवशायीहरु, ह्याचरी व्यवशायीको उपस्थित रहेको थियो । कृषि तथा पशुपन्छी शाखा पनौतीका कृषि अधिकृत लिलानाथ सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
गत हप्ता बनेपा नगरपालिकाले पनि पन्छीमा लाग्ने सङ्क्रामक रोगका विषयमा स्थानीय सरोकारवाला भेला गरी छिमेकी जिल्लासँग जोडिएको आफ्ना नाकामा सुरक्षा–जाँचका विषयमा छलफल गरेको थियो । साथै नगरपालिकाले आफ्ना क्षेत्रभित्र रहेको पन्छीको जाँच गर्ने योजनाअनुसार बर्ड–फ्लु गतिविधि गरिरहेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लास्थित उपत्यकाको प्रवेश नाका साँगा र जिल्लाको पूर्वी नाका विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाका मङ्गलटारमा केही हप्ताअघि पन्छीको जाँच केन्द्र स्थापना गरिसकेको छ । गत माघ १६ गते मोरङका दुई स्थानमा देखिएको बर्ड–फ्लु सङ्क्रमण त्यसयता चितवन र सङ्घीय राजधानी काठमाडौँमा देखिएको छ ।