मन्त्री बस्नेतद्वारा नगर अस्पताल शिलान्यास र स्वास्थ्य चौकीको उद्घाटन

  • ज्ञानमणि नेपाल कालोटोपी

कुन्तावेसी । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुने १५ शैयाको नगर अस्पतालको गत आइतबार एक समारोहबीच शिलान्यास गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मण्डनदेउपुर नगरपालिकाको लागत साझेदारीमा २२ करोड ८६ लाखको लागतमा वडा नम्बर ७ मा निर्माण हुन लागेको सो नगर अस्पताल आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको आवश्यकता पर्ने बताए । सरकारले २०५४ सालदेखि स्वास्थ्यमा दरबन्दी थप नगरेकाले अहिले निर्माण भइरहेका अस्पतालहरुमा जनशक्तिको अभाव देखिएको बताउँदै बस्नेतले स्वास्थ्यमा थप दरबन्दी थप्न आफूले पहल गरिरहेको र त्यसको परिणाम चाँडै देखिने दाबी गरे । उनले भने, ‘विगतका स्वास्थ्य मन्त्रीहरुले जनशक्ति बढाउनेतिर ध्यान दिएनन् । जसको फलस्वरुप अस्पताल भवनहरु मात्र बने तर जनशक्ति बढेन । अब म जनशक्ति बढाउने काममा लागेको छु ।’

६ महिनाभित्र नेपालका सरकारी अस्पतालहरुमा अत्यावश्यक जनशक्तिको दरबन्दी सिर्जना हुन्छ । देशभरिका अधिकांश अस्पतालहरुमा ठूला उपकरणको अभाव देखिएको बताउँदै मन्त्री बस्नेतले विश्व बैंकको सहयोगमा स्वास्थ्य मन्त्रालयले साना खालका उपकरण किनेर अस्पतालहरुलाई उपलब्ध गराउन लागेको जानकारी दिए ।

अधिकांश ठेकेदारहरुले निर्माणको काम समयमा नसक्ने र कम गुणस्तरको भवन बनाउने गरेका गुनासो आइरहेको बताउँदै मन्त्री बस्नेतले समयमै भवन निर्माण सम्पन्न गराउन पालिकाका अधिकारीले खबरदारी जारी राख्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व गृह सचिव जनार्दन नेपालले गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल भवनसँगै उपकरण र जनशक्ति हुनै पर्ने बताउँदै पछिल्ला वर्षमा मेडिकल कलेज, नर्सिङ कलेज खोल्ने क्रम बन्द भएपछि स्वास्थ्य क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव देखिन लागेको बताए ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले १० शैयाको नगर अस्पताल बनाउने कुरा अगाडि बढ्न लागेको बेला स्वास्थ्य मन्त्री बस्नेतको पहलमा ५ शैया थप भएर १५ शैयाको अस्पताल निर्माण हुन लागेको बताउँदै अस्पतालमा जनशक्तिको अभाव भएकाले स्वास्थ्यकर्मीको व्यवस्था गरिदिन आग्रह गरे । यसैगरि मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले अहिले संञ्चालनमा रहेको ५ शैयाको अस्पतालमा निजी क्षेत्रमा एक जना चिकित्सक करारमा नियुक्त गरिएको जानकारी गराउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक चिकित्सकको व्यवस्था गरिदिन आग्रह गरे ।

त्यस्तै मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको पनि आइतबार नै एक समारोहबीच मन्त्री बस्नेतले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र उपमेयर विष्णुमणि नेपाल पनि सहभागी थिए । स्वास्थ्य चौकी भवनमा आयोजना गरिएको समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने आश्वासन दिए ।

कार्यक्रममा चौकी निर्माणका लागि जग्गा दान गर्ने उपमेयर विष्णुमणि नेपाल, पिताम्बर नेपाल, रामप्रसाद नेपाल लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा देउसी भैलीसमेत खेलिएको थियो । जसमा ४ लाख २८ हजार संकलन भएको वडाध्यक्ष कुमार तामाङले जानकारी दिए ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *