मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी

काभ्रे । मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ ।
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत आर्थिक वर्ष २०७९÷८० मा यी उद्यमी सिर्जना गरिएको हो । नगरपालिकाका रोजगार संयोजक एवं लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन सुरज पौडेलका अनुसार विभिन्न सीप मुलक तालिम प्रदान गरेर ८० जना नयाँ उद्यमी सिर्जना गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत सिलाई कटाई, गलैँचा बुनाई, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिना तालिम प्रदान गरिएको छ । त्यसैगरी बाख्रा पालन र तरकारी खेती सम्बन्धी ५÷५ दिनको तालिम सञ्चालन गरिएको थियो । ४० जनाका लागि एडभान्स सिलाई कटाई तालिम समेत प्रदान गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो ।
यो कार्यक्रम नगरपालिकाको वडा नम्बर ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । यसरी नयाँ सिर्जना भएका उद्यमीलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणि नेपालले प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ ।
बुधबार एकैदिन तालिम सञ्चालन गरिएका सम्बन्धित क्षेत्रमै पुगेर प्रमाण पत्र र प्रविधि हस्तान्तरण गरिएको हो । वडा नम्बर ४ को बयरबोटमा प्रमाण पत्र तथा प्रविधि हस्तान्तरण गर्दै नगरप्रमुख वाईबाले सीप मुलक तालिम नगरबासीकै करबाट संकलित रकमले सञ्चालन गरिएको भन्दै ब्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरप्रमुख वाईबाले एक महिनाको सिलाई तालिम पुरा गरेका ब्यक्तिका लागि थप २ महिनाको एडभान्स तालिम सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तपाईले सिक्नु भएको सीपका लागि नगरबासीकै करबाट संकलन भएको रकम लगानी भएको छ । एक महिना प्रारम्भिक चरणको तालिम लिनुभएको छ । मेसिनमा तपाईको हात बसिसकेको छ । अहिलेसम्म जति सिक्नुभएको छ, त्यसलाई ब्यवहारमा लागु गर्नु होला । एडभान्स तालिमको ब्यवस्था नगरपालिकाले गर्छ । मेसिन खरिदमा नगरपालिकाले साझेदारी गर्नेछ । नगरपालिकाले अभिभावकीय भूमिका खेल्नेछ ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।
वडा नम्बर ५ का सिकाई कटाई तालिममा सहभागीलाई प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्दै उपप्रमुख विष्णुमणि नेपालले आफ्नै नगरपालिकाभित्र केही उद्यम गर्न चाहानेलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । यस्ता तालिम मार्फत नगरपालिकाले समाजमा पछि परेका वर्ग र समुदायलाई समेत उच्च प्राथमिकताका साथ समेट्दै आएको भन्दै उहाँले सीपले आत्मनिर्भर बनाउने बताउनुभयो ।
‘नगरपालिकाले सबै समुदायको प्रतिनिधित्व हुने गरी यो तालिममा समावेश गरेको छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउन प्रेरित गर्छ । हातमा सीप भयो भने अप्ठ्यारो परिस्थितिमा पनि आफु र आफ्नो परिवारका लागि निकै सहयोग पुग्छ । केही गर्छौँ भन्नेका लागि नगरपालिका सदैव सहयोग गर्न तत्पर छ । सिकेको सीपलाई त्यत्तिकै खेर जान नदिनु होला ।’ उपप्रमुख नेपालले भन्नुभयो ।
सिलाई कटाई तालिममा सहभागि दुई जनाका लागि एउटाको दरले १८ थान मेसिन प्रदान गरिएको छ । ४ थान गलैचा बुन्ने मेसिन र एक सय लिटर क्षमताको १८ वटा पानी ट्यांकी वितरण गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो । सिलाई कटाई, गलैँचा बुनाई र ब्युटीसियन तालिममा महिला मात्र सहभागि थिए । यो तालिममा नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *