
काभ्रे । स्वास्थ्य सेवा पाउनु सम्पूर्ण नागरिकहरुको अधिकार हो । उक्त भनाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले मण्डनदेउपुरको नौबिसेमा निर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटनको अवसरमा बताउनुभएको हो ।
मन्त्री खतिवडाले मुलुकका सवै स्थानिय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने बताउँदै स्थानिय तहले तत्काल कानुनी प्रकृया पुरा गरी बजेट माग गर्न अनुरोध गर्नुभएको थियो । अब जेष्ठ नागरिकहरुको संरक्षण एवं सम्मानको खातिर नेपालको मध्यभागमा जेष्ठ नागरीक अस्पताल निर्माण गर्न मन्त्री परिषद्बाट पास भई उक्त अस्पतालमा जेष्ठ नागरिकको निःशुल्क उपचार हुने समेत बताउनुभएको थियो । उहाँले अब स्थानीय प्रमुखहरुले खोप गाउँ गाउँ पु¥याउन स्वास्थ्य केन्द्रहरुको अभिलेख हेरी गाउँ गाउँमा स्वास्थ्यकर्मी खटाई खोप दिलाउनुपर्ने बताउँदै अब ५ वर्ष माथिका बालबालिकाहरुका लागि नेपाल सरकारले ९० लाख खोप अमेरिकी सरकारसँग माग गरी पेश्की रकम समेत पठाइसकेको बताउनुभयो । मन्त्री खतिवडाले धनभन्दा मन ठूलो हुने जग्गादाताहरुप्रति आभार व्यक्त गर्दै अस्पतालका जग्गादाता र सम्बन्धित भवन निर्माण गर्न खटिएका प्राविधिक कर्मचारीहरुलाई सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो ।
अस्पताल सञ्चालन गर्न कर्मचारी आवश्यकता पर्ने भएको हुँदा नीति, नेता र नेतृत्व कायम गरी करारमा कर्मचारीहरु नियुक्ति गरी सञ्चालन गर्न नगर प्रमुख टोकबहादुर वाइबालाई निर्देशन दिँदै तपाईंले कर्मचारी करारमा भर्ना गर्नुस्, कर्मचारीलाई वितरित तलब महालेखाले बेरुजु निकाल्दैन, ढुक्क भएर आफ्नो काम अगाडि बढाउनुस् । अब अस्पताल सञ्चालन गर्न आवश्यक सामग्रीहरु के कति चाहिने हो, प्रदेश र संघीय मन्त्रालयको स्टोरमा आएर सामान हेरी माग गर्नुस्, हामी तुरुन्त सामान हेरी टोक लगाइदिन्छौं र सामान प्राप्त गर्न सक्नुहुनेछ ।
कार्यक्रममा विषेश अतिथि बाग्मती प्रदेशका स्वाथ्य मन्त्री निमा लामाले ग्रामिण बस्तिहरुमा बसोबास गर्ने जनताहरुको सहज उपचारको लागि सञ्चालनमा आएको मण्डनदेउपुर आधारभुत अस्पतालमा दिने सेवा विकसित मुलुकका नागरिकले पाउने भन्दा गुणस्तरीय ढंगबाट सेवा दिनुपर्ने बताउँदै सो ढंगको सेवाको लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको बताउनुभयो । स्वास्थ्य सेवाको क्षेत्रबाट आम नागरिकलाई संघीयताको अनुभुति दिलाउनु पर्नेभएकोले सरकार सोही ढंगबाट अगाडी बढेको समेत बताउनुभयो । मन्त्री लामाले मण्डनदेउपुर आधारभुत अस्पतालको लागि प्रदेश सरकारको तर्फबाट साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
मन्त्री लामाले कोभिडको २ डोज खोप चैत मसान्तसम्म सम्पूर्ण प्रदेशका बासिन्दाहरुलाई दिइसकिने बताउँदै प्रदेश सरकारबाट गर्ने सेवाहरुमा पूर्ण रुपमा अस्पताललाई दिन तयार भएको बताउँदै २ डोज खोप पाएकाहरुले ६ महिनाको फरकमा बुस्टर डोज समेत लगाउन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्सालले यो अस्पतालको संरक्षण गर्ने दायित्व स्थानीय व्यक्तिहरुको हो । यो आधारभूत स्तरको अस्पताल हो, यहाँ बिरामी जाँच गरी रिफर गर्न सकिने व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्नुभयो । यस किसिमको अस्पताल काभ्रेको चौंरीदेउराली, महाभारत, खानीखोलामा समेत प्रस्ताव भए बमोजिम अस्पताल निर्माण हुने कुरामा आफू विश्वस्त भएको बताउनुभयो । उहाँले अब यस पालिकामा १५ बेडको अस्पताल बनाउन जग्गा प्राप्त भइसकेको र नगरपालिकाको नाममा पूर्जा समेत बनिसकेकोले अब संघीय सरकारका मन्त्री समक्ष हामी प्रक्रिया पु¥याएर प्रस्ताव पेश गर्नेछौं भन्नुभयो ।
संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले संविधानले दिएको आधारभूत स्वास्थ्य सेवा अन्तर्गतका सेवा यहाँबाट उपलब्ध हुने र ६०÷४० प्रतिशतमा प्रदेश र स्थानीय पालिकाबाट अस्पताल निर्माण भएको बताउनुभयो । उहाँले स्वास्थ्यचौकी प्रत्येक वडामा दरबन्दी थप गरी भएका ५ मा अब ८ वडामा स्वास्थ्यचौकी पु¥याउनुपर्ने माग राख्नुपर्ने थियो । यस अस्पतालमा मुटु, दम, हाडजोर्नीका सेवाहरु लगायत जेष्ठ नागरिकहरुका लागि उपचार गर्नसक्ने टेलिमेडिसियन सेवा उपलब्ध गराउन संघीय र प्रदेश मन्त्रीहरुलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यस्तै मण्डनदेउपुर नगरपालिकामा ८ हजार घरधुरीलाई खानेपानी सुविधा पु¥याउने वचनबद्धता भएअनुरुप ५ हजार घरधुरीलाई खानेपानी पु¥याएको र बाँकी ३ हजार घरधुरीलाई छिट्टै खानेपानी पु¥याइने बताइएको थियो ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टोकवहादुर वाईवाले जनताको प्रमुख समस्याको रुपमा रहेको अस्पताल निर्माण गरेकोमा खुशी व्यक्त गर्दै अस्पताल सञ्चालनको लागि आफूले पूर्ण रुपमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
मण्डनदेउपुर र आसपासका जनताहरु सामान्य उपचारको लागि समेत जिल्लाको बनेपा धुलिखेल धाउने पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर राख्दै नगरका प्रमुख वाईवाको पहलमा प्रदेश सरकारबाट साथ मिलेको थियो । सोही आधारमा २०७७ असार १ गते भवन निर्माणको लागि सम्झौता भई कोरोनाको महामारीमा समेत स्वास्थ्य मापदण्ड पुरा गरी निर्माण कार्यलाई निरन्तरता दिदा निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न भएको निर्माण व्यवसायीको तर्क रहेको थियो ।
प्रमुख वाईवाले नगरवासीको संरक्षण गर्नु आफ्नो दायित्व रहेको बताउंदै नागरिकको जीवन रक्षाका लागि नगरपालिकाले पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षामा दिएको हो । नगरवासीको चेतना बृद्धि साथै स्वास्थ्य संरक्षण गर्ने आफ्नो दायित्व भएकोले सोही ढंगबाट अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख वाईवाले ०७४ को निर्वाचनमा होमिँदै गर्दा नगरवासीहरुसँग आफूले गरेको वाचाहरु एक पछि अर्को गर्दै पुरा गरेको बताउनुभयो । नगरवासीहरु अब उपचारको लागि कुम्लो कुटुरो बोकेर शहर धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताउनुभयो । १५ रोपनी क्षेत्रफलमा फैलिएको सुबिधा सम्पन्न निर्माण भएको सो भवनबाट गुणस्तरीय २४ घण्टे स्वास्थ्य सेवा दिने वातावरण मिलाउने बताउनुभयो ।
नगरपालिकाले २८ रोपनि जग्गा व्यवस्था गरी नगरको प्रशासनिक भवन निर्माण गर्ने कार्य तिब्र गतिमा बढेको छ । चैत्र १५ गतेभित्रै नगरले प्रदान गर्ने सबै सेवा सोही भवनबाट प्रदान गर्ने बताउनुभयो । नगरवासीको हितको खातिर कार्य गर्ने आफ्नो दायित्व भएकोले निरन्तर रुपमा कार्य गर्दै जाने बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईले यो नमूना अस्पताल बनेको छ । संविधानमा लेखिएका अंशहरु केही हदसम्म पूरा हुँदै गएको महसुस हुन थालेको बताउनुभयो । उहाँले बालबालिका र महिलाहरुको स्वास्थ्यमा यो भेगको उदाहरणीय अस्पताल बनेको र सर्ने रोग र नसर्ने रोगहरुका लागि यो अस्पतालले राम्रो सेवा दिन सकिने आशा एवं विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले महिलाहरुको फिस्टुला र आङ खस्ने रोग, मुटु रोगका विषयमा पनि यहाँ सेवा दिन सकिने र जनता स्वास्थ्य कार्यक्रम गाउँस्तरमा गर्न सकिने उदाहरण यहाँ प्रस्तुत हुन सक्नेछ भन्नुभयो ।
लेखा अधिकृत पुष्पराज बजगाईंले प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको साझेदारीमा निर्माण भएको मण्डनदेउपुर आधारभुत अस्पताल निर्माणको लागि १० करोड ५७ लाख २७ हजार ७ सय ३२ खर्च भएकोमा नगरपालिकको तर्फबाट ३ करोड २६ लाख ३९ हजार ५ सय ५१ वजेट व्यवस्था गरेको बताउनुभएको थियो ।
कार्यक्रममा उपस्थित पूर्व वडा अध्यक्ष घननाथ तिवारी र निलप्रसाद ढकालले धुलिखेल अस्पतालमा रहेको स्वास्थ्य बीमा कार्यक्रम यस अस्पतालमा समेत सञ्चालन गर्नसके मण्डनदेउपुर लगायत सिन्धुपाल्चोकको मेलम्ची, फटकशिला लगायतका तमाम जनताहरुले सेवा प्राप्त गर्नसक्ने स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
उद्घाटन कार्यक्रममा संबिधानसभा सदस्य जनार्जन ढकाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली कांग्रेस मण्डनदेउपुर सभापति कश्यप पौडेल, एमाले मण्डनदेउपुर अध्यक्ष शेर वहादुर डोटेल, माओवादी मण्डनदेउपुर अध्यक्ष निरञ्जन बिष्ट, नेकपा समाजवादी मण्डनदेउपुर अध्यक्ष गोकुल गौतम, नेमकिपा मण्डनदेउपुर अध्यक्ष कृष्ण वहादुर तामाङ, राप्रपा नेपाल मण्डनदेउपुर अध्यक्ष तिलक तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आगन्तुकहरुलाई मण्डनदेउपुर नगरका प्रबक्ता डिल्लीप्रसाद आचार्यले शब्दद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गर्नुभएको थियो ।