दीपकप्रसाद पौडेल
हरेक जातीका आआफ्नै संस्कार र परम्परा हुन्छन् । आज हामी नेवार जातीका बारेमा तयार पारेको यो आलेख प्रस्तुत गर्दैछौं । नेवार समुदायमा बालक जन्मेपछि कटेल (नाल बेडाउने मान्छे) लाई बोलाई ल्याई नाल काट्न लगाउने र त्यो साल नाल भन्नेलाई घरदेखि अलि वर पर लगेर गाड्न लगाउने, सुत्केरीलाई परालमा सुताउने, ४ दिनसम्म नुन खान नदिने, ६ दिनदेखि ११ दिनसम्ममा न्वारन गरिदिने, आफ्नो कुलभित्रका दाजुभाई बोलाउने, सबभन्दा जेठीले पूजा सामान बनाउने र पैसा साल गाडेका ठाउँ वरपर लगेर गाड्न लगाउने अनि बच्चालाई टिका लगाइ दिने, त्यो भन्दा अगाडि सुत्केरीले ओछ्याएको पराल कही कतै लगेर जलाई दिने र लिपपोत गरी नाउलाई बोलाएर हात गोडाको नङ काट्न लगाई गौमुत छर्केर मात्र पूजाको व्यवस्था आमा बच्चालाई टिका लगाएपछि न्वारनको काम सम्पन्न हुने चलन रहेको छ ।
ब्रतवन्ध ः
ब्रतबन्धमा प्राय धेरै जस्तो दशैंको टिकाको दिन मामा लाई र इन्ट मित्र मान्य जनहरुलाई डाक्ने साथै नाउलाई पनि डाकेर मामाले पहिला कपाल खौरन जाने सबैलाई खौरने नजानेलाई नाउ नापितले खौरी दिने, बच्चाको फुपुले एक नयाँ थालीमा कपाल थाप्ने र अनि नाउले सबै जनाको गोडाका् नङ काट्न लगाई सबैजना चोखो भई अनि पूजाको सामान ल्याएर मामाले गणेश भिमसेनको पूजा गरी भान्जालाई टिका लगाएर टोपी लगौटी लगाई दिने र माइजुले एकहातले अण्डा एक हातले कचौरामा सगुन, भान्जालाई खान दिने त्यसपछि घरको सगुन कपडा दिने त्यसपछि स्टमित्रले सगुन लगायत कपडा दिएपछि भोजखाएर विदाबारी हुने चलन रहेको छ ।
विवाह संस्कार ः
छोरालाई एउटी केटी खोज्नुपरे २ जोर जुत्ता फाट्छ भन्ने चलन थियो कि, साटोकि पोल्यो पनि भन्थे । बल्ल बल्ल केटी त मिल्यो अनि सुपारी समाउने अथवा टीका लगाउन जाँदा दहीको ठेकी चिउरा अण्डा सगुन र चोलो फरिया लाने, १० वटा सुपारी रुमालमा पारेर लाने र केटीतर्फको सबभन्दा जेठोले गणेश र भिमसेनको पूजा गरी केटी मान्छेलाई टिका लगाइदिने, केटातर्फकाले बेहुली हुने नानीलाई टिका लगाइ सगुन, अण्डा दिने, अनि पछि कपडा दिने र इस्टमित्र सबैले अण्डा, सगुन लिएपछि अनि रुमालमा पोको पारी लगेको १० वटा सुपारी लमी हुनेले बेहुली हुनेको आमालाई समाउन दिने , हामीले तपाईंकी छोरीलाई टिका टाला गरेता पनि तपाईंकी छोरी तपाईंकै जिम्मा भनेर दिने र कुन महिना कति गते लिन आउने भनी सरसल्लाह गरी आउने चलन छ ।
यसैगरी ४ दिन अगावै फेरी ४ दिने सगुन भन्ने दही चिउरा अण्डा, सगुन, फलफूल, कपडासमेत लगी बेहुली हुनेलाई टिका लगाई सगुन खान दिनु पर्ने र त्यस दिनदेखि बेहुली नानीले घरको खाना खानु नहुने छिमेकी घरमा गई खानुपर्ने चलन रहेको छ ।
जन्त जाने दिन ः
टाढा भए पनि नजिक भए पनि बेलुका ८ देखि ९ बजे भन्दा अगाडि बेहुलीको माइती घरमा जन्ती जानु हुँदैन बेहुला लानु हँुदैन, लानु नहुनुको कारण बेहुली नानीको दोश्रो विहे भएकोले पहिलोको विवाह बेलको फलसँग ५ देखि १० वर्षसम्ममा भक्तपुर पनौती र नालामा अक्षय तृतियाको दिन आयाजु गुरुजुहरुबाट होम होमादी विधि पुर्वक विवाह भइसकेको हुँदा लुकी छिपी ल्याउन पर्ने परम्परा चलि आएको लगभग ३२ देखि ३५ सालदेखि दिउँसै जाने बेहुली लिएर जाने चलन आएको छ ।
बेहुला लाने चलन नभएकाले स्वयंवर गर्नु नपर्ने, जन्ती जाने बेहुली घरभन्दा अली पर बस्ने अनि घर गाउँलेहरुले सुकुन्दा बालेर जन्तीलाई लिन आउँछन् । जन्तीले पनि सुकुन्दा बालेर आउने उनीहरु एक आपसमा भेट भएपछि सुकुन्दा साटासाट गर्ने जन्तीलाई अघि लगाएर जान्छन् र आसनमा बसालेर घर गाउँले भलाकुसारी बातचित गरी बस्छन् । केही बेरपछि चमेना अथवा कौला भन्ने खाने, २ किलो जति पूजा सुपारी लमि हुनेले लगेको हुन्छ र घर गाउँलेहरुले बेहुलीलाई टिका लगाई दाइजो अथवा दक्षिणा दिन्छन् । बेहुलीले १० वटा सुपारी दिने छोरीको खानु हुँदैन भनी त्यो सुपारी फिर्ता गर्छन् । उता सुपारीको काम चलिरहेको छ, यता जन्तीलाई भोज खुवाउने तरखर गर्छन् । भोज खाई सक्दा लगभग विहानको ४ बज्छ ।
बेहुली नानीलाई जुठो मुख गर्नु पर्छ भनी भोज खुवाउन थाल्छन्, खाई सकेपछि त्यो जुठो हात त्यहीँ नै पित्तलको बाटामा हात धुने, केराको पात जुठो सबै त्यही बाटामा राखेर घर माइती दुवै तर्फकाले त्यो जुठो छुँदैन । रित्तो डोली बोकेर जाने घर्तीले नजिकको डोबाटोमा लगि फाली आउँछन् त्यो बाटामा राखेको बेहुलीको जुठो घर माइती दुवै तर्फकाले छुनु नहुनुका कारण माइतीकाले छोरीको हातबाट १० वटा सुपारी लिएर उनीहरुको घर गोत्रबाट छुटीसक्यो अब घरतर्फबाट त्यो जुठो छुन दुलही नानीको हातबाट १० वटा सुपारी लिएको छैन र दुलहा पटिको थर गोत्रमा मिलि नसकेको हुँदा दुवैतर्फकाले नछोएको र त्यसै समय अन्तर्गत दुलही नानी केही कथं तल माथि हुन गएमा लमी हुनेले काज किरिया गर्नु पर्छ भन्ने परम्परा चलिआएको छ ।
माइतीबाट छोरीलाई अन्माई पठाईदिने बेलामा त्यो पैसा रुमालमा पोको पारी दिएको १० वटा सुपारी आमाले लमी हुनेलाई मेरी छोरीले केही जानेको छैन अराइ सिकाई गर्नु, छोरी तपाईका जिम्मा भनेर लमीको हातमा दिन्छन् । यसैगरी दुलही भित्र्याउने बेलामा आँगनमा एउटा पिर्का ल्याई त्यसमा उभ्याउन लगाउँछन् र सासु आमाले बुहारीलाई टिका लगाई एउटा तामाको ढलोटको पाथीमामा फूल अक्षता वा अबिरसमेत राखेर दुलहीको शिरमा खन्याई दिएर ताल्चा साँचो समाउन दिएर भित्र्याउँछन् ।
सुपारी खेलाउने चलन ः
२ किलो जति पूजा सुपारी ल्याएर भिमसेन देवतालाई स्थापना गरी लमी र बेहुली नानी बसी सकेपछि लमीले बोलाउँछन् र खोइ बेहुला कहाँ लुकी बसेको छ, लौ यहाँ आउँदा हुन्छ, अघिल्लो बेहुला बेहुलीको डर मान्नु पर्दैन भनी ठट्टा हस्यौली गर्छन् । दुलहा दुलहीसँगै राखेर आफ्नो कुलभित्रका दिदीबहिनी सबैले दुवैको हातबाट १० वटा सुपारी लिने चलनको कारण दुलही तलमाथि भएमा सुपारी लिने जतिले जुठो बार्नु पर्ने परम्परा चलिआएको छ ।
छोरीको सन्दर्भमा ः
छोरी जन्मेपछि ७ वर्षदेखि १५ वर्षसम्ममा गुफा राख्नु पर्ने, कोही गुफा नराखी रजस्वला भए भने त्यतिखेर नै गुफा राख्नु पर्छ । गुफा राख्नुको कारण १२ दिनसम्म गुफा राख्ने पुरुष जाती र सूर्य नारायणलाई हेर्न नहुने, १२ दिनका दिन नाउ ल्याई हात गोडाको नङ काटी आफन्त जतिलाई डाक बोलाउ गरी सूर्य दर्शन गराउने, १२ दिनसम्म गुफा राख्नुको कारण त्यसपछि रजस्वला हुँदा बार्नु नपर्ने भन्ने यो परम्परा तर अहिले बार्ने गरेका छन् । गुफाबाट निकालेपछि त्यस नानीका आफन्त जतिले ४ माना चामल र एउटा चोलो पुग्ने कपडा साथै टिका लगाएर दक्षिणा दिएर भोज खाने गर्छन् ।
नेवारी जातीको चाडवाड ः
भक्तपुरमा चैत मसान्तको दिन लिंङ्गो उभ्याउने, बैशाख संक्रान्तीको दिन ढाल्ने विस्केट जात्रा भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । तापनि त्यो चाड भनेको भक्तपुरे र त्यस ठाउँबाट अन्यत्र बसाई सराई गर्नेको मात्र हो । अन्य स्थानमा बसोबास गर्ने नेवारहरुको होइन । बैशाख कृष्ण पक्ष औंशीको दिनलाई मातातिर्थ औंसी भन्छन् । १८ देखि २० सालभन्दा अगाडी नेवार जातीले मात्र आमालाई मुख हेर्न जाने अथवा सगुन ख्वाउन जाने भन्थे अहिले सबै जातीकाले गर्ने गरेका छन् ।
बैशाख शुक्ल पक्ष तृतीयाको दिन अक्षय तृतीया भन्छन् । त्यस दिन महादेव पार्वतीको विवाह भएको हुँदा नेवार जातीहरुको छोरीहरु अथवा कन्यादान त्यसैदिन बेलसँग विवाह गरिदिने चलन छ । बैशाख शुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन बनेपाली अथवा बनेपाबाट कतै बसाइ सरेर गएकाले मात्र यो चाड मान्ने चलन छ ।
अक्षय तृतीयाभन्दा केही दिनपछि तमारी दिन भन्छ्न् । त्यस दिनदेखि जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिनसम्म बार मिलाएर कुलायन पूजा गर्छन् । त्यस कुमार षष्ठीका दिनलाई सिठी नखः भनेर चामलको पिठोको चतामारी पकाएर भोज खाने गर्दछन् । जेठ शुक्ल पूर्णिमाका दिन पनौती पूर्णे भन्ने गर्छन् । त्यस दिन पनौतीकाले या अन्यत्र बसाइ सरेकाले मात्र चाड मनाउने गर्छन् ।
श्रावण कृष्ण पक्ष त्रयोदशीका दिन बेलुका एउटा माटोको सलियामा भरी चामल एक सलिया अथवा माटोको कपनी भरी दही राखेर नेवारी जातीका घरदैलो अगाडी कुमार देवता अथवा पिखालाखेमा राखेर १÷२ मुठा पराल बालेर बाटोमा फाली दिन्छन् । जस्तै ब्राम्हण क्षत्री दलितहरुले लुतो फाल्ने भनेको जस्तै , अनि भोज खाने चलन छ ।
श्रावण शुक्ल पक्ष जनै पूर्णिमाका दिन बिहान उठेर नुहाएर आफ्नो घरमा जे भएको पाठपूजा गरी भिजाएको भटमास, केराउ, सिमी आदि गरिएको आधा माना जति रुमालमा पोको पारी धुप अक्षता पानी पाती बत्ती लिइ आफ्नो खेतको मुहानमा पूजा गरी त्यो गेडागुडीसमेत त्यहीतिर चढाउने र चार दिनसम्म खेतमा जान नहुने । यसको कारण खेत खन्दा रोपाईं गर्दा भ्यागुत्ता, किरा फट्यांग्राहरुलाई मारेको होला भनेर ४ दिनसम्म बार्नु पर्छ भन्ने परम्परादेखि चलि आएको छ ।
भाद्र कृष्ण पक्ष परेवाको दिन गाईजात्रा भन्ने चलन परम्परादेखि अहिलेसम्म छ । जसको घरमा माता पिता छोरा छोरीको देहवसान भएको छ, उसको घरमा मात्र पहिला मल्ल नेवारी राजाको पालामा उनैको २२ वर्षको छोराको स्वर्गिय भएछ, राजाले त जन्मेपछि मर्ने हो भनी चित्त बुझाएछन् । तर रानी भने छोराको शोकले शोकाकुल भइछिन्, राजालाई यता छोराको शोक, दोश्रो रानीको पिर अनि राजाले आफनो मुलुकभर झ्याली पिटाएछन् । के को लागि भने आजदेखि जसको घरमा मानिसको लास पर्छ, त्यसले भाद्र कृष्ण परेवाको दिन पुरुष भए पुरुषको बस्त्र, महिला भए महिलाको पोशाक फोटोसमेत राखेर गाईजात्रा देखाउने भन्ने हुकुम भएपछि सबैले यस्तो चलन गरेपछि अनि रानीको चित्त बुझेछ । मेरो मात्र छोरो मरेको भनेको थिएँ, सबैको मर्दा रहेछन् भनेर रानीले मन बुझाएको किंवदन्ती छ । त्यसैले भाद्र कृष्ण औंसीका दिन सबै जातीले बाबाको मुख हेर्ने चलन चलि आएको हो ।
आश्विन शुक्ल अष्टमीका दिन गणेश र भिमसेनको पूजा गरी दुर्गा देवीको पाठपूजा गर्ने, बेलुका केराको पातमा कुछी भ्वे अर्थात कुछी भनेको २ माना, भ्वे भनेको भोज, २ माना चिउरा केराको पातमा राख्ने, छेउछेउमा अष्टमात्रिका स्थापना गरी भोज खाने, नवमी दशमीमा सबै जातीको टिका लगाउने चलन छ ।
कार्तिक शुक्ल पक्ष परेवाको दिन म्ह पूजा भनेको आत्मा पूजा हो, परिवारमा जति जना भए पनि जेठोदेखि मिलाएर बस्ने, जनाको १ का दरले अष्टमात्रिकाको चामल पिठोले रेखि बनाउने नयाँ कपडाको ध्वजा बनाई तेलमा भिजाउने सबैजनाले त्यही रेखीमाथि झलमल्ल बत्ती बाल्ने, अनि एउटा डालीमा सयपत्री फूल च्यातचुत पारेर राखेको हुन्छ । अनि तामाको मानामा राखेर घुँडा, कुमकुममा छुवाएर ३ पटकसम्म म्ह पूजा गरी सकेपछि भोज खाने गरिन्छ ।
द्वितीयाको दिन किजा पूजा अर्थात भाइपूजा सबै जातिकाले गर्छन् । मार्ग शुक्ल पूर्णिमालाई धान्य पूर्णे योमरी थिला पुन्ही भन्ने गरिन्छ । त्यस दिन प्राय धेरैजसोले विहान ४ बजे नै उठेर योमरी बनाएर पकाउने गर्छन् । शिर पट्टि चुच्चो, पिंधमा डल्लो आकारको र डल्लो पट्टि सानो खाल्डो बनाएर तिल खुँदो पकाउने गर्छन् र पाकी सकेपछि ८÷१० वटा झिकेर धान ढुकुटीमा धान्य लक्ष्मीको पूजा गर्ने र सबै परिवारले खाने, ४ दिनपछि योमरी पकाएर त्यसै ठाउँमा पूजा गरी नयाँ पुरानो रोटी प्रसादको रुपमा खाने गर्छन् ।
मृत्युपछिको संस्कार ः
जोसुकै मृतक भएपनि, मृतक भएपछि गुठीयार दाजुभाइ कति छन्, जति भए पनि १०० मा ५१ नभइ लास उठाउन पाइँदैन । मलामी नगए ५०० जरिवाना, घरमा नभएको भए, बिरामी भए, रोपाइँको दिन, गुठीयारभित्र विवाह ब्रतवन्धको दिन शुभ काम केही भएमा विदा पाउँछन् । ती गुठीयार दाजुभाइहरु त्यो लास परेको घरबाटै मलामी बनेर जाने सास जलाइ सकेपछि ती किरियापुत्रीहरुलाई अघि लगाइ आउनुपर्छ । बीचको बाटोबाट मलामी जाने, लासलाई आगो लगाउने वितिकै घर आएमा मलामी गएको सदर हुँदैन र गुठीको समयमा ५०० जरिवाना गर्छन् ।
मलामी र किरियापुत्रीहरु घरमा आइसकेपछि छिमेकीहरुले चिउरा, घिउ, सखर ल्याएर सबैजनाले खान्छन् र आफ्ना आफ्ना घर जान्छन् । ४ दिनको दिन फेरी गुठीयार जम्मा हुने र धान छ कि छ्रैन नभए कहाँबाट किनी ल्याउने, ढिकीमा चिउरा बनाउनु पर्ने, भाँडाकुडा आदि तयारीसम्बन्धी छलफल गर्छन् । किरिया बस्नेहरु टोपी मात्र नलगाई लास जलाई आएको भोलिपल्टदेखि नियमित काम गर्ने, शाकाहारी दुवै छाक खाना खाने, १० दिनका सबै गुठीयार जम्मा भई ढिकुरो उठाउन,े १० दिनको पिण्ड एकै दिन दिने र हाँडी फुटाउने गर्छन् ।
१२ दिनका दिन गुठीयार सबै दाजुभाइहरुले धुप, अक्षता, पाती, भेटी र एक मुठी जति गहँुको पिठो लगि दिनुपर्छ । १३ दिनमा भोज खान आउनु भनेको समयमा खान जानुपर्ने, त्यो मान्छेसँग मेरो बोलचाल छैन म खान जान्न भनी खान गएन भने १०० रुपैयाँ दण्ड तिर्नु पर्ने तर अहिले परिवर्तन भएको छ । आजकल ४ दिनका दिन गुठियार जम्मा हुँदैन जम्मा नहुनुको कारण धान खोज्नु नपर्ने, चिउरा ढिकीमा कुट्नु नपर्ने भएको हुँदा १० दिनका दिन सब गुठीयार दाजुभाइहरुले नगद उठाएर पैसा दिने चलनको शुरुवात गरेका छन् ।
विवाह ब्रतबन्धमा सक्नेले गुठीयार दाजुभाइलाई भोज खान निम्ता गर्छन् । यो दिन यो समयमा जम्मा हुन आउनु भनेर गुठीयारहरुलाई बोलाइन्छ र नायो अर्थात सबैभन्दा जेठोको घरमा जम्मा भई नगद २० हजार जम्मा गरी नायो या सबैभन्दा जेठोलाई दिने र सब गुठियार उक्त घरमा गइ ब्रतवन्ध या विवाहमा बेहुला बेहुलीलाई टिका लगाई त्यो दक्षिणास्वरुप बीस हजार दिइन्छ । अनि सगुन खान दिएपछि अनि जेठो अथवा नायो दाहिने साइड पारी क्रमशः कान्छोसम्म लाइन मिलाएर भोज खान बस्छन् र खाइसकेपछि अन्तिममा महिलाहरुले पित्तलको बाटा ल्याउँछन् र नायोदेखि क्रमशः रोलक्रममा त्यही बाटामा हातमुख चुठ्ने गरिन्छ र पालैपालो गरी उठ्ने सिलसिलामा घरबेटीले जेठोदेखि सबैलाई मसिपो अर्थात खाने मसाला बाँडीदिने बिदाबादी गर्ने चलन रहेको छ ।
(कुलबहादुर श्रेष्ठ र रामप्रसाद श्रेष्ठको सहयोगमा दीपकप्रसाद पौडेलद्वारा तयार पारिएको सरकारवालाबाट सल्लाह सुझावको लागि प्रस्तुत गरिएको ।)