मण्डनदेउपुरका दनुवार राई जाती बारे जानकारी

दीपक प्रसाद पौडेल
बुढापाकाको किंवदन्ती अनुसार दनुवार जातीका पूर्वज सिन्धु प्रान्तबाट नेपालको सिन्धुलीमा आएको र सो ठाउँबाट विस्तारै खोला र नदिनालाको किनारमा बसोबास गर्दै माछा मारी जिविको चलाउँदै आएका र माछा मार्ने दुन क्षेत्रमा बस्ने भएकाले दुनुवारबाट दनुवार थर राखेको भन्ने भनाइ छ । अर्को घरै कामकाज पूजाआजामा दुना चाहिने भएकाले पनि दुनुवारबाट दनुवार थर भएको भनाइ छ । राई यो लिम्बुराइ, किराँती राइसँग मिश्रण भएर सोबाट उत्पति भएका जात गुँडार राई (सो पनौती क्षेत्रमा बसोबास गरेको भन्ने भनाइ छ ।) मण्डनदेउपुरका दनुवार जातीलाई पञ्चायतकालमा ठूलाबडा, पञ्चहरुले राई थर लेख्न लगाएको पाइन्छ । सेना प्रहरी र अन्य सेवामा जागिर पाउन दनुवार सानो जात भएकाले सबैले हेप्छन् भनी राई लेख्न लगाएको र त्यसपछिका पुस्ताहरुले क्रमशः दनुवारबाट नागरिकतामा राई थर लेखेको पाइन्छ ।
नेपाली भाषामा राई, दनुवार जे थर लेखेतापनि दनुवार भाषामा बोल्दा डोने भनिन्छ । त्यसैले दनुवारहरुको जात डोने हो ।
जन्म ÷न्वारन ः
बच्चा जन्मेको ३, ५ र ७ दिनको दिनमा प्राय पाँचौ दिनमा न्वारन गरिन्छ ।
विधिः १. दाजु, भाई, स्टमित्र सबैलाई गाउँ घरमा निमन्त्रणा गरिन्छ ।
२. नाउलाई बोलाइन्छ ।
३. प्रतिघरबाट एकजना महिला उपस्थित हुन्छन् ।
४. नाउले शुरु वा सुत्केरी र श्रीमानको खुट्टाको नडकाटी रङ लगाई गहुँत पानी छर्की दिन्छन्, त्यसपछि क्रमशः अरु सबैलाई घरको मुली महिला या नभए वरपरका जेठी महिलाले नाङ्लोमा धान, चामल, फूलपाती, पैसा, दुबो, दियोमा बत्ती फलफूल जम्मा पारी आमाको काखमा राखी बच्चाको शिर, छाती, र खुट्टामा दुई हातले भए तामा नभए अन्य सिक्का दुबो, धान चामल, फूलपाती लिएर तीन पटक छुवाएर राखिन्छ । यो कार्य गर्ने कर्तालाई चुमाउने भनिन्छ । ज्योतिषीलाई हेराएर या चुमाउने व्यक्तिले बच्चाको नाम राखिदिने काम गर्छन् । त्यसपछि गाउँघर छरछिमेकबाट आउनेहरुले बच्चालाई रकम वा कपडा या जे सामान ल्याएको छ त्यसलाई दान दक्षिणा गर्छन् साथै भोज खाएर गहुँतलाई गिलासमा राखी आआफ्नो घरमा लगि वरपर चोख्याउने गर्दछन् । यसैगरी बेलुका नाउलाई चामल रकम र कुखुराको एउटा सपेटासहित विदा गरिन्छ ।


छेवर (ब्रतबन्ध) संस्कार ः
शुरुमा साइत जुराई बालक जन्मेको ३, ५, ७, ९ विजोर वर्ष पारेर छेवर÷ब्रतवन्ध गरिन्छ । यसका लागि सर्बप्रथम मामालाई लगभग १ महिना अगाडि पहिलो निम्ता दिएर भोज खुवाइन्छ र दोश्रो निम्ता १ हप्ता १० दिन पहिले मन्दिरमा निम्ता गरी मुल मामाको घरबाट शुरु गरी क्रमशः अन्य आफन्तहरुलाई समेत निम्ता गरिन्छ । छेवरको दिन बालकका घरका परिवारका सबैजना ब्रत बसी नजिकको मन्दिरमा गई पूजाआजा गर्छन् र विभिन्न परिकारको खानाहरु तयार गरि खान्छन् । मामा माइजुहरु पनि ब्रत बसी सबै गाउँलेको साथ भान्जाको घरमा आउँछन् र घर नजिक आइसकेपछि दायाँवायाँ राखिएको घडामा दक्षिणा राख्छन् । त्यसपछि मामा माइजुहरुलाई अविर लगाई घरमा स्वागत गरिन्छ । छेवर हुने घरमा पुगेपछि मामाको घरबाट ल्याएको सगुन र भान्जाको घरको सगुन (भुइँकटर, धान, फलफूल, चामल, दियोमा बत्ति, सेल, रोटी कपडासहित) छुटाछुटै नाङ्लोमा तयार गरी छेवर गर्ने भाञ्जालाई मामाले बोकी सगुनसँगै बाहिर तयार पारेर राखेको गुन्द्रीमा राखिन्छ ।
ज्योतिषहरुले भने अनुसारको दिशातर्फ फर्काएर राखिन्छ र मामाहरुले दक्षिणा राखेर त्यस गुन्द्रीमा बस्छन् । १३ दिने दाजुभाई मध्येको सबैभन्दा जेठो मामा र छेवर हुनेको आफ्नेै मामा, मुलमामाले भान्जाको टुपी समाएर मामा पर्ने सबैसँग टुपीमा राख्नको लागि पैसा संकलन गर्छन् र टुपीमा राखी धागोले बाँधी दुम्सीको काँडा राखिन्छ । जेठो मामाले केराको पातको टुक्रालाई काइँयो बनाइ दायाँतिरबाट ३ पटक कोरिन्छ र कैचीले दायाँतिरबाट कपाल काटिन्छ । क्रमशः सबै मामाहरुले कपाल काट्छन् । काटेको कपाल संकलन गर्न भान्जाका दिदिबहिनीहरु बस्छन् । मामाहरुले विधि पुर्याएपछि कपाल ब्लेडले खौरिन्छन् । लगाएका सबै लुगा फुकाइ तेल लगाइ दिन्छन्, अनि मामाहरुले ल्याएको टोपी लगाई फेटा लगायत धोती पाइन्ट, जुत्ता र छड्के पगरी लगाई क्रमशः टिका लगाइ दक्षिणा दिन्छन् । मावलीहरुबाट आएकाहरुबाट टिका दक्षिणा गरी सकेपछि भान्जालाई सगुन खुवाइन्छ र दक्षिणा संकलन गरी घरमुलीलाई बुझाइ सकेपछि मामाहरु र उपस्थित सबैले भोज खाइ रमाइलो गर्छन् । विदा हुनुभन्दा अगाडी मामाहरुले छेवर घरका मुलीहरुसँग छेवर दोहोर्याउने भए भान्जालाई मामाहरुले टिका लगाई दक्षिणा गरी सगुन खाई विदा हुन्छन् । पछि दोहोर्याउने भए ३÷४ दिनपछि भान्जा पट्टिबाट मामाघरमा खानेकुरा लगि मामाहरुले टिका दक्षिणा गरेपछि भोज खुवाइन्छ । हाल यो चलन धेरै ठाउँमा हटेको पाइन्छ ।

पहिले पहिले छेवरमा राँगाको टाउको छुट्टै पकाइ मामाहरुलाई मात्र दिने चलन थियो तर अहिले धेरै स्थानमा हटिसक्यो । कुनै कुनै गाउँमा मुल मामाको घरमा राँगाको टाउको सिंगो पठाउने चलन छ । भोज खुवाउने र खाने चलन छेवर गरेको ७ दिनसम्म निम्ता गरेका आफन्तहरुलाई चलिरहन्छ ।
गुन्यु चोली ः
छोरीहरुको विजोर वर्ष पारी महिनावारी हुनुभन्दा अगाडि गरिन्छ । साइत जुराइन्छ र मामासहित आफन्तहरुलाई निम्ता गरिन्छ । मामा माइजुहरु आइ आफूले ल्याएका गरगहना लुगा कपडा लगाई टिका ताला दक्षिणा दिई सबैले भान्जीलाई सगुन खुवाउने र अन्य आफन्तलाई भोज खुवाइन्छ ।
विवाह संस्कार ः
दनुवार जातीको विवाह २ प्रकारबाट हुने गर्दछ । १. मागी विवाह २. भागी विवाह । आफन्तहरुबाट कुराकानी चलेपछि केटी पक्षबाट केटा पक्षलाई घर बोलाइन्छ । गाउँका ठूलावडा(गौरुङ मिजार) र केटाको बाउसहित ३, ४ जना केटीको घरमा बुधवार पारेर जान्छन् । पिँडीमा गुन्द्री राखेर बस्नु भनेर भन्नु भए कुरा मिल्छ भन्ने आशा लाग्छ । पिँडीमा बस भनेर भनेन भने दिँदैन भनेर फर्कन्छन् । दोश्रो पटक जाँदा भित्र बस्न लगाए कुरा निश्चित हुन्छ र बाहिर पिँडीमा बसाले मिल्दैन । भित्र बसेपछि केटा केटीको विषयमा छलफल हुन्छ । बढी केटाको विषयमा चित्त बुझेमा मिति तोकी आउनु भनी पठाउँछन् । तेश्रो पटक जाँदा केटी पक्षको मामा, मिजार, गौरुङ ठूलावडा राखी छोरी दिने र छोरी दिए वापत यो चाहिन्छ भनी माग्ने र केटा पक्षले दिन सक्ने भए टिका टालोका लागि बोलाउँछन् । टिकाटालोको दिन तोकेपछि त्यस दिन केटा पक्षबाट खाना खजानासहित केटी पक्षको घरमा जान्छन् । केटाकेटीसँगै राखी शुरुमा मिजार गौरुङ तथा ठूलावडाबाट टिकाटाला गरिन्छ र अन्यले केटा पक्षबाट गएकालाई र केटी पक्षकालाई केटा पक्षकाले भोज खुवाइन्छ । केटीले के कस्तो गरगहना माग गर्छे त्यही अनुसार बनाउने केटा पक्षबाट सहमति हुन्छ ।
विवाहको केही दिन अगाडि आफन्तहरुलाई निम्ता गरिन्छ । विवाहको दिन केटा र केटी पक्ष दुवैतिर आफ्नो देव देवताको मन्दिरमा पूजाआजा गरिन्छ । केटा पक्षबाट जन्ती निस्कनु पहिले मामाले कपडा टिका लगाई मामाले बोकी निकालिन्छ । बाहिर निस्केपछि केटाको आमाले दही दुध खुवाइन्छ र केटाले हाँडामा दक्षिणा राखी निस्कन्छन् साथै ५ देखि ७ जनाले किस्ती बोक्छन् । केटीको घरमा जन्ती पुगेपछि केटाले घडामा दक्षिणा राखी पस्छन् र केटी पक्षकाले अविर लगाई स्वागत गर्छन् । शुरुमा किस्ती बोक्नेहरु जान्छन् । र तिनीहरु फर्केपछि माइजुहरु कोसेली बोकी जान्छन् अति बेहुला लिएर जान्छन् ।

केटा पक्षको स्लोक ः
जमाना कान्टेसौ ढाइटेनुछु सोमाना कान्टेसौ दुईलिइ
आजुसौ हजुर जेली पोल्टा भरी पाउ
अजुरलक पाडी हामै्र माना हजुरलक बड्के हाम्रै चुट्ने
कुलो फुटे समुन्द्र चेली भागे माइत
सिला खप्ल ठिके खपै वर पिपलटप्ल ठिके टपै
सुवाइकौ दिल सुने वाइकौ डुकाउयक पित्ल वाइकौ नइप्उयाक्छुक
नरकमली जस्तो ठान वाच्छत छन् ।
केटी पक्षको स्लोक ः
जमाना कान्टेसौ ढाइनेलेछ, सोमाना कान्टेसौ बुइलिक
हामै वडा हामै वडा बाजटेनुकछ
हजुरलक वडा हामै चुट्ने
हामै पाढी हामै पाठी बाजटेउकछ
हजुरलक पाठी हामै माना
सुन वाइकौ दिन सुने वाइकौ स्याहारै
पित्तल वाइकौ नै फ्याकै
मारे पाप पाले पुण्य
आजुसौ मोरो जेली हजुरक पोल्टामा सुम्पिनु
नरकमली जस्तो ठान वाच्छत हन् ।
सम्धी लगाउँदा केटाका बाबु पक्षबाट साना सिंगो सुपारी ५ वटालाई आँगनमा लिपपोत गरिन्छ । घुँडा टेकी निहुरेर दुवै हातले अरुले नदेख्ने गरिन्छ । चार तल एक वटा माथि राखी उठेर वरीपरि घुमी नमस्कार गरिन्छ । यो ३ पटक गरेपछि सम्धी सम्धी अंगालो मारी नमस्कार गरिन्छ ।
बेहुली निकाल्नु पहिले कुलदेवतालाई केटीले धुप बत्ती बाली विदा माग्न लगाइन्छ । बेहुली निकाल्ने बेलामा ढोकामा पछ्यौराले छेकी ढोकामा बेहुलीले कुखुराको अण्डा राखी पुजा गर्न लगाइन्छ । त्यसपछि मामाले भाञ्जीलाई बोकी केही पर सम्म पुर्याइन्छ र जिम्मा लगाइ मामाहरु र दाजुभाई विदा भइ फर्कन्छन् ।
भोज खाने बेलामा गाउने स्लोक
केटी पक्ष ः लरी र खोल्सा जंगल हजार
हो किनकौ आइले जन्ती सवार
केटा पक्ष ः लरी र खोल्सा जंगल हजार
ढुंगामा चरीकौ भइनुक है सवार
केटी पक्ष ः कटका बाटिलै डोर र नम्खी
कटका बाटिलै कुचा
कटाका आइले बुढापाका कटका आइले फुचा
केटा पक्ष ः घेरै बाटिनुक डोर र नम्खी
थोरेक बाटिनुक कुचा
धेरे आइनुक बुढापाका धारक आइनुक कुचा ।
केटा पक्षबाट लगेको गरगहना केटीलाई पहिरिन्छ र केटीका आमा बुबाबाट टिकाटाला दान दक्षिणा त्यसपछि अन्यबाट दिइन्छ । बेहुली निकाल्नु पहिले कुल देवतालाई केटीले धुप बत्ती बाली बिदा माग्न लगाइन्छ । निकाल्ने बेला ढोकामा पछ्यौराले छेकी ढोकामा बेहुलीले कुखुराको अण्डा राखी पूजा गर्न लगाइन्छ । त्यसपछि मामाले भान्जीलाई बोकी केही पर सम्म पुर्याइन्छ र जिम्मा लगाई मामाहरु र दाजुभाई विदा भई फर्कन्छन् । केटीको घरमा पुगी सकेपछि केटाले दैलोमा पुजा गरी केटीलाई बोकी वा डोर्याएर भित्र लगिन्छ । केटा केटीलाई राखी दहि चिउरा एउटै थालमा राखेर दिइन्छ । केटाले केटी र केटीले केटालाइ कस्ले छिटो खुवाउने हो होडबाजी हुन्छ । जन्तीलाई सगुन खुवाइ विदा गरिन्छ ।
भागी विवाह ः
यो विवाह केटाकेटीको मञ्जुरीमा हुने गर्दछ । केटी पक्षको चित्त बुझेमा कोसेली खाने सल्लाह गर्छन् । केटा पक्षले केटी पक्षको सल्लाह अनुसार केटी पक्षको घरमा खानेकुरासहित लगेर भोज खान्छन् र केटी पक्षबाट दान दक्षिणा ढोग भेट गरी विवाह सम्पन्न गर्छन् ।
दुल्हन फर्काउने ः
विवाहको ३ दिनपछि केटीको माइती पक्षबाट लिन जान्छन् र केटा पक्षबाट कोसेली सहित माइत जान्छन् र आफन्त पर्नेले टिका दक्षिणा गर्छन् र केटा पक्षको कोसेली खुवाउँछन् । साथै केटाले केटीको दिदी फुपु सानीआमा पर्नेलाई दक्षिणा कोसेली दिई ढोग गर्छन् ।
मृत्यु संस्कार ः
मृत्यु भएपछि गोबरले लिपपोत गरी तिल जो छरी ठाउँ सारिन्छ । खबर गर्नुपर्ने जति लाई खबर गरिन्छ । आवश्यक पर्ने सामान तिल, जौ, धान, भेडाको भुत्ला, चामल, कुश आदि ठिक पारी कात्रो, हाँडीसमेत तयार गरी त्यसभित्र धान, खुद्रा पैसा, अविर राखी घाटतिर लगिन्छ । यसरी जाँदा केराको पात बोक्ने, धुप बाल्ने त्यसपछि हरियो बाँसमा राखी ३ ठाउँमा काँचो धागोले बाँधी लास लिएर दाउरा लिएर शंख बजाएर जाने गर्छन् । घाटमा त्यहाँ ५ तले दाउराको सोला बनाउँछन् र छोराहरुले लास बोकी ३ पटक घुमाइ राख्छन् र छोराहरुले मुख धोई पानी खुवाउँछन् र दागबती दिइसकेपछि अन्तिममा रहेको अस्तुलाई बालुवामा पुरिन्छ र घाट पखाली सो ठाउँमा चामल पैसा राखी बत्ती र धुप बालिन्छ । छोराहरुले कपाल खौरी नुहाएर सेतो कपडा फेरी हाँडीमा चामल राखी आगो बसाल्छन् र केराको पातमा खन्याई २ भाग लगाउँछन् र अगाडी राउलाई र पछाडी पितृलाई राउलाई छुट्याएको ठाउँमा कुशको स्वरुप बनाइ राख्छन् र पितृलाई छुट्याएको भागलाई धागोले २,४,८,१२ गरी भाग लगाउँदै थुपार्दै गर्छन् । मिजार या गौरुङ वा जान्नेले काले मरल हख्नु छले मरल हख्नु जे जनिकौ मरल हख्नु बोल्ल ठिके खाए दिइक, बोल्ल ठिक लाए दिइक झाडी जंगल फडीकौ पाले चौकी हटाकौ सात समुन्द्र काटाकौ सुनैक मअलमा बास दिइक सुनै ठरेमा खाएदिइक सरासर बैकुण्ठमा बास दिइक भनेर भट्याउँछन् र छोराहरुले देबे्रहातको बुढी औंलाले ३ पटक राउलाई पानी र तिल जौ कुस भेडाको भुत्ला चढाउँछन् ।
त्यसपछि पितृलाई पनि सोही अनुसार दाहिने हातले पानी सहित अर्ध दिन्छन् र हाँडी फुटाएर घर तिर लाग्छन् । यसरी बाटोमा फर्कदा धुप बत्ती हतियारले धर्सा तान्दै गन्दै मलामीहरु अगाडी बढ्छन् यसलाई बाटो काट्ने भन्छन् । घर पुग्ने बेला घरतिरबाट तोरी, खुर्सानी, माटो फुटेको भाडामा राखी आगोको कोइलामा खाखी धुवाएर राख्छन् अनिमात्र घरमा पुग्छन् र किरिया पुत्री बस्ने ठाउँ बनाएको ठाउँमा पराल ओछ्याएर बस्छन् र १० दिन नुन पुरै बार्छन् । किरिया पुत्रीहरुको सल्लाहमा ३,५,७,९,११ कति दिन बस्ने हो सल्लाह गर्छन् । प्राय ९ दिन दिनहु नुहाएर कपडा फेर्छन बुहारी, श्रीमतीहरु प्नि बस्छन् । पानी दिने चलन ३, ५ छाक हुन्छ । दिनको १ पटक दिए किरीया बस्नेहरुले १ छाक र २ पटक दए २ पटक दिए २ छाक खान्छन् । खाना घरमै आफंैले बनाउँछन् । पानी दिँदा किरिया पुत्रीले नै राउलाई देब्रे हात र पितृलाई दाहिने हातले केराको पातेको दुना सिलाउँछन् त्यसपछि मह, गाईको घ्यु, कुश, चामल, भेडाको भुत्ला तिल जौ जममा गरी दुई आम्खोरामा धारोबाट पानी ल्याए घरबाट अलि पर दोबाटोमा लगि अगाडी राउलाई र पछाडी पितृलाई राखी जेठोबाट शुरु गरी दायाँ र बायाँ हातले क्रमशः सबै चिज दिइ पानी दिन्छन् सो बेला मिजार या गौरुङ या जान्नेले माथि जस्तै भट्याउँछन् एवं रितले पानी दिने गर्छन् ।
मुख्य कामको दिन राउलाई खबर गर्छन् । नाउले खरी पिना दिएपछि मलामी जाने बाहेक गाउँघरका सबैले नुहाएर गहुँत पानी लिई चोखिन्छन् र किरिया पुत्री बसेको ठाउँ सफा गरि पकाउनु पर्ने सामाग्री पकाउँछन् , पकाएको सामान मलामी संख्याअनुसार खोलामा लान छुट्याइन्छ । खोलामा लैजान एउटा अण्डा, एउटा कुखुरा, माछा तरकारी मासु सम्झे सम्मका सामान लैजान्छन् र केरा पात बोक्ने अगाडी लागि जान्छन् । खोलामा पुगेपछि किरिया पुत्रीहरुको नाउले कपाल लौरी नुहाएर तामाको भाडामा लगेका सामान पकाई राउ र पितृलाई अगाडी पछाडी गरी केराको पातमा राखी दिन्छन् । सबै मलामीहरु खाइपिन लिइ नुहाउँछन् र गहुँत पानीले चोखिन्छन् । जिउँदो कुखुरा हतियार नलगाइ निमोठिन्छ अनि पकाएर सबै मलामीहरु मिलि काट्टो खान्छन् । छोराहरुले खान बार्ने चिज खाँदैनन् र तेल पुकाइ अगाडी छोराहरु लगि गहुत पानीले बाटो चोख्याउँदै घर पुग्छन् र घरमा हुनेहरुले पनि पकाएका सबै चिज राउ र पितृलाई दोबाटोमा लगिदिन्छन् र खानपिन सकि सफा भएपछि मात्र खोलाबाट फर्कनेहरु घर नजिक जान्छन् ।
काधिका छुट्याउने ः
घरपुगे पछि हाँडीमा खट्टे भुटी चामल काठका १२ वटा सिन्का मास जम्मा पारिन्छ । गुन्द्रीमा २ जनालाई घरतिर फर्काएर बसालिन्छ । जेठो छोराले ती दुईलाई पालैपालोसँग कुमकुममा तेल लगाइ काठको सिन्का २, २ सहित सबै चिज दिन्छन् र दुवै हातमा मिलाएर राख्छन् र छोराले मेरो …लाई बोकेको काधिका छुट्योकी छुटेन भनि ३ पटक सोच्छ र छुट्यो छुट्यो भनी तिनीहरुले भन्छन् । यो ३ पटक गरी सक्छन् र २ जनालाई सगुन दिइ बिदाइ गर्छन् । गौरुङ र मिजारले सेतो कपडा छोराहरुलाई दिन्छन् र फेर्छन् त्यसपछि पहेलो टिका बनाइ मिजार गौरुङ ले छोराहरुलाई र छोराहरुले अन्य सबैलाई टिका लगाई दक्षिणा गरी प्रसाद खाइ विदा हुन्छन् । राउलाई चामल पैसा र कुखुराको सपेटा साथै फलफूल दिइ विदा गरिन्छ ।
४५ दिनमा अधिल्लो दिन छोराहरुले कपाल खौरी एक छाक बस्छन् भोली सबै सामान ठिक पारी राउ र पितृलाई तामाको भाडामा दिइ नजिकको पानीको श्रोत वा खोलामा लगिन्छ र पहेलो टिका लगाई उपस्थित सबैलाई खानपिन गर्छन् । बर्खान्तमा एक वर्षपछि अघिल्लो दिन कपाल खौरी एक छाक बस्छन् भोलिपल्ट ४५ दिनमा जस्तै सबै कार्य गरी सकेपछि गौरुङ मिजारको हाथबाट कपडा फेरिन्छ र रातो टिका लगाइन्छ । छोराहरुले उपस्थित सबैलाई रातो टिका दक्षिणा गरी खानपिन गर्छन् ।
श्राद्ध वर्षको एकपटक दशंैको जमारे औंसीमा अघिल्लो दिन कपाल खौरी एक छाक बस्छन् । ४५ दिनमा जस्तै सबै कार्य गरी पितृलाई चढाएपछि चेलीबेटी अन्य सबैलाई पहेलो टिका लगाइ दक्षिणा गरिन्छ ।
चाडपर्व ः
कुलपुजा इन्द्रजात्राको अघिल्लो दिन पारेर ४ देखि ५ वर्षमा एकपटक गरिन्छ । पूजाका लागि आवश्यक सामग्री अन्तर्गत भेडाको बोको (थुम्मा), बाख्राको पाठी, चामल या पिठो, इन्द्रकमल फूल, भाले र पोथी, माटाको कलश, दियो २, २ वटा र हाँसको अण्डा आदि चाहिन्छ । पूजाका लागि धामी झाँक्री र अन्य नुहाई धुवाई गरी ब्रत बस्छन् । ब्रत बसेका मात्र पूजा घरमा पस्न पाउँछन् । ब्रत बस्नेहरुबाट सफा सुग्घर र घरभित्र खाल्डो खन्छन् । चामलको पिठोको सात वटा देवताको मुर्ति बनाइ माटोको भाँडोमा पकाउँछन् । धामी झाँक्रीहरु ढ्यांग्रो बचाइ देउता बस्छन् । कति बजे भोग खान्छु भन्छ सो अनुसारको समयमा गाउँले सबैको घरबाट एकमुष्ठ गुरुले पूजा गरी थुम्मा र पाडी भोग दिइ पूजा गर्छन् । पूजापछि खानेकुरा बनाई गाउँले सबैलाई बराबर भाग लगाई खान बोलाइन्छ र खानपिनपछि सबैभित्रको खाल्डोमा राख्छन् । उज्यालो नहुँदै खाइ सकी भेडा र पाठीको टाउको मासु जती खाइ हड्डी जस्ताको तस्तै बनाई धागोले बाँधी खाल्डोमा राखी पूजा गरी खाल्डो पुर्छन् । उज्यालो भएपछि चेली बेटीलाई बोलाई पाठीको मासु र अन्य खानेकुरा खुवाइन्छ ।
वार्षिकरुपमा नियमित गरिने चाडपर्व तथा पूजाआजा ः
दशंै, तिहार, एकादशी, माघे संक्रान्ति साउने संक्रान्ती, कुशे औंसी, आमाको मुख हेर्ने औँसी, बैशाख पूर्णिमा, मंसिर पूर्णिमा, शनिवारे, आइतवारे, गुरु पुजा, श्री पञ्चमीमा वायुपुजा, वनझाँक्री पूजा, चैते दशै, सन्सारी पुजा, माघ १ गते कमलामाई पुजा, गोठ पुजा, फूलपातीको दिन गौडु, गोसाइ पुजा आदि ।
वायु उतार्ने
मृत्यु भएको महिनाको अवधि वा वर्ष दिनपछि धामी झाँक्रीको हेराइ अनुसार घरमा धेरै दुःख कष्ट भइरहेमा धामीको गुरुले वायु उतार्ने सल्लाह दिन्छन् र हिउँदको समय पारेर विधि विधान अनुसार धामीझाक्री बसेर रातिराति जो पितृलाई उतार्नु पर्ने हो सो का छोरा दाजुभाइलाई सिमाली हातमा लिइ बसाउँछन् र गुरु विधिअनुसार पितृलाई बोलाउँछन् जसको आडमा आउने हो आइसकेपछि कुन दिन खली खाने कति भारीको भोग के खान्छ भन्छ सोही अनुसार खलि खुवाइ पाको गरिन्छ ।
खली खाने दिन बेलुकादेखि धामीझाँक्री देउता बस्छन् र खली खाने ठाउँ खलो बनाइ लिपपोत गर्छन् र बरिपरि धागोले छेक्छन् । बार लगाउँछन् र बायुले बोलेअनुसारको दाउरा जम्मा पारिन्छ । गुरुले सो ठाउँमा गइ सुपारी र तामाका वा सिक्का पैसा राखी आगो जगाइ बालेर फर्कन्छन् र दाउरा बली सकेपछि गुरु गइ आगोको डाहा मारेर आउछन् अगाडि खुकुरी बोक्ने धामी निसाना र सो पछि गुरु र नयाँ गरी ढ्यांग्रो बजाउदै नाच्दै खलोमा पुगी ३ पटक आगोलाई घुमी पहिला गुरुले आगो हातमा लिइ हेर्ने सो पछि पस्ने त्यसपछि सबै बसी आगो पुरै निभाएपछि फेरी घर फर्की देउता बस्छन् र खानेकुरा खान्छन् । भोलिपल्ट धाँमीहरुका सबै सामा पूजा गरी विदा हुन्छन् । यसरी वायु बनेर आइसकेपछि बायुठानमा राखी बर्सेनी श्रीपञ्चमीको दिन विवाहित भए कुखुरा भोग र अविवाहित भए खोरी पुजा दिइन्छ ।

(शिक्षक राम बहादुर राई र बुद्धिमान दनुवारको सहयोगमा दीपकप्रसाद पौडेलद्धारा तयार पारिएको सरोकारवालाबाट सल्लाह सुझावको लागि प्रस्तुत गरिएको)

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *