एक हप्ताभित्र निर्माण कार्य पूरा गर्न प्रजिअको निर्देशन
काभ्रे । माघ महिनाभर लाग्ने मकर मेलाको तयारीका सम्पूर्ण काम एक हप्ताभित्र सक्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले निर्देशन दिनुभएको छ ।
मंगलबार मकर मेलाको तयारीका बारेमा भईरहेका कामको बारेमा जानकारी दिन पनौती नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी पोखरेलले मेलालाई सहज बनाउनको लागि ट्राफिक व्यवस्थापन, सुरक्षाको व्यवस्था मजबुतका साथै बजारको अनुगमन तीव्र बनाउन जोड दिनुभएको थियो ।
मकरमेला पनौतीको मात्रैै नभएर काभ्रेकै गौरवको रुपमा रहेको र मेला सम्पन्न गर्नको लागि स्थानिय जनप्रतिनिधि साथै नगरवासीहरुको ठुलो भुमिका रहको बनाउँदै प्रजिअ पोखरेलले मेलालाई सहज ढंगबाट सम्पन्न गराउने कार्यमा आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत एवं मकर मेला मुल आयोजक व्यवस्थापन समितिका संयोजक इन्द्रप्रसाद अधिकारीले हालसम्मको उपलब्धिका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले पार्कीङ्ग व्यवस्थापन, खानेपानी व्यवस्थापन, साँस्कृतिक एवं सरसफाई व्यवस्थापन, वजार व्यवस्थापन, आवास व्यवस्थापन, सामुदायिक बन सरसफाई, बनेपाबाट आएको फोहोर पानी व्यवस्थापन, नुहाउनको लागि धाराहरुको व्यवस्थापन लगाएतका व्यवस्थापनहरु करिव अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो ।
संयोजक अधिकारीले मकर मेलालाई थप व्यवस्थित गर्नको लागि यातायात व्यवस्थापन गर्नको लागि एक महिना टिपरलाई पनौती क्षेत्रमा रोक लगाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
आगामी माघ १ गतेबाट सुरु हुने पनौती मकरमेलालाई मध्यनजर राख्दै माघ महिनाभर मेला क्षेत्रमा टिपर सञ्चालनमा प्रतिबन्ध लगाइने छ र मकरमेला व्यवस्थापनका लागि पनौती नगरपालिकाले ८ करोड बजेट व्यवस्थापन गरि काम जारी राखेको संयोजक अधिकारीले बताउँदै हालसम्मको उपलब्धिका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा पूर्व सांसद कमला थापाले मेलामा आउने भक्तजनहरुले सुनका गहनाहरु नलगाउन अनुरोध गर्नुहुँदै पाकेटमाराहरुलाई नियन्त्रणमा लिन सिभिल डे«सका सुरक्षाकर्मीहरु खटाउन प्रजिअ पोखरेलसँग माग गर्नुभएको थियो । थापाले पत्रकारहरुले मकरमेलाको बारेमा आफूले सकेको प्रचार गर्न अनुरोध गर्दै मूल्यसूची समेत छ, छैन खोजी गरिदिन अनुरोध गर्नुभएको थियो ।
नगर प्रमुख भिम न्यौपानेले मकरमेलाको अवधिभर पूर्वपट्टि वडा नं. ९ भण्डारीगाउँ, पश्चिमतर्फ पनौती ८ को खरिबोट हुँदै शान्तिमार्गबाट प्राइभेट सवारी साधन आवतजावतको लागि व्यवस्था गरिएको छ भने पनौती–बाँसडोल सडकलाई एकतर्फी गरिने र क्युका सवारी साधन, अन्य सवारी साधन प्रहरी तालिम केन्द्रमा पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको छ । त्यस्तै ठाडोबाटोको टेलिकम अगाडिको सडकबाट खरिबोट जान सवारी साधनलाई रुट मिलाइएको छ ।
नगर प्रमुख न्यौपानेले अब हामी निर्धक्कसँग माघ महिना अवधिभर १२ वर्षे मकरमेला मनाउँछौं, ढुक्क भएर पत्रकार साथीहरुले कुनै अप्ठ्यारो नमानी हामीलाई सम्पर्क गर्न अनुरोध गर्दै नगरमा भइरहेका निर्माणका कामहरुमा पनि पत्रकारहरुले औंल्याइदिनुहुन अनुरोध गर्नुभएको थियो । अब पनौती–बनेपा कालोपत्रे सडक पुस २५ गतेभित्र सम्पन्न हुनेछ र हाम्रो सम्पूर्ण काम अब मकरमेलालाई लक्षित हुनेछ । खोला सफा गर्न लिलावती सिंचाइलाई टौखाल खोल्सा र निसिला खोल्साबाट स्वच्छ पानी छोडी पुण्यमाता नदीलाई सफाइ गरिने समेत बताउनुभएको थियो ।
सो पत्रकार सम्मेलनमा संविधानसभा सदस्य रामहरी सुवेदी, जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धब केसी लगायतले मकरमेलाको बिषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो । नगरले गत वर्ष देखिनै मेलाको तयारीस्वरुप पनौतीस्थित तिर्थ–त्रिवेणीघाट लगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । मकर संक्रान्तिबाट सुरुहुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गरेका छन् ।