भुम्लु । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० देखि २०८०÷८१ को सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकामा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाइ गरेको हो ।
गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा गाउँपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो । सबै वडाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सुदर्शन भटराइले सार्वजनिक सुनुवाईको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुँदा यसको महत्व विशिष्ट रहेको बताउँदै वार्षिक प्रगति बिवरण प्रस्तुत गर्नुभएको थियो । सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले गाउँपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्न गरेका थिए ।
गाउँपालिका तथा वडागतमार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल उपाध्यक्ष जितेन्द्रमान तामाङ र सम्वन्धित वडा अध्यक्षहरुले प्रष्ट पारेका थिए ।
गाउँपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्वाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रत्यक्ष सहभागिताको माध्यमबाट नगरपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गरिएको उपाध्यक्ष जितेन्द्रमान तामाङले बताउनुभयो ।