काभ्रे । बेथानचोक गाउँपालिका वडा न ३ ले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको पाँच बर्षमा एक घर एक धारा, टोलटोलमा सडक लगायतका काम गरेको छ । उक्त वडाले ५५० घरमा एक घर एक धारा बैशाख १ सम्ममा सम्पन्न गर्ने नीति लिएको छ । त्यस्तै वडाका प्रत्येक घर टोलटोलमा सडक पु¥याएको छ । स्वास्थ्य, शिक्षा, विद्युत, सिंचाई, खेलमैदान लगायतको क्षेत्रमा पनि उल्लेख काम भएको स्थानीयले बताएका छन ।
बेथानचोक गाउँपालिका वडा न ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठले पाँच बर्षमा एक घर एक धारा, प्रत्येक टोलटोलमा सडक, शैक्षिक गुणस्तरका लागि हरेक विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन, खेलमैदान निर्माण, सिंचाई, आधारभुत स्वास्थ्य इकाई, वडा भवन निर्माण लगायतका काम पाँच बर्षमा सम्पन्न गर्न सकेको जानकारी दिनुभयो । उहाँका अनुसार छ सय घरधुरी रहेको वडा न ३ मा बैशाख १ गतेसम्ममा ५५० घरधुरीमा एक घर एक धारा पु¥याइने लक्ष्य लिइएको छ ।
संघ, प्रदेश, जिल्ला समन्वय समिति, बेथानचोक गाउँपालिका र वडा कार्यालय मार्फत चार करोड रुपियाँको लागतमा एक घर एक धारा लागू गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै वडाका प्रत्येक बस्ती बस्तीमा कच्चि सडक वडा र पालिकाको बजेट मार्फत काम सम्पन्न भएको छ । गेल्डुङ गोल्माकोट सडक कालोपत्रे दुई बर्षमा सक्ने गरी प्रदेश सरकारबाट बजेट विनियोजन भएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उर्वर खेतीयोग्य जमिन रहेको उक्त वडामा सिंचाइका काम पनि थुप्रै भएका छन । वडाको समिति बजेटमा पनि आधा दर्जन बढी सिंचाईका काम भएको वडाले जनाएको छ । सिंचाइ कार्यालय मार्फत फाँट कुनेखर्क सिंचाइको मर्मत सभ्भार भइरहेको छ ।
वडाले पाँच वटै विद्यालयमा अग्रेजी माध्यमको पठनपठान सुरु गरेको छ । कृष्ण गोपाल मावि, बेथानचोक नारायण आधारभुत विद्यालय, ज्ञान ज्योती, गोरखनाथ र जनप्रिय प्राविमा अग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको छ । त्यसका लागि निजीस्रोतमा शिक्षक व्यवस्थापन, शिक्षकहरुलाई तालिम, शैक्षिक सामग्री लगायतको सहयोग गरिएको थियो । विद्युतलाई व्यवस्थित बनाउने उद्धेश्यले उक्त वडामा काठ मुक्त पोल बनाउने अभियान अन्तिम चरणमा पुगेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको बजेटबाट सिढी निर्माण, वडा मार्फत दलित परिवारको आर्यआर्जन सुधारका लागि बाख्रा पाठा वितरण, सिलाई मेसिन, आपसको निम्ती समाज नामक संस्थाबाट मगर समुदायलाई बंगुरका पाठा वितरण लगायतका कार्यक्रम सञ्चालन भएका थिए । त्यस्तै एक थोपा एक सिंचाइका लागि बोल्देका ९३ घरलाई पाँच सय लिटरको ट्याङकी वितरण, किसानलाई प्लाष्टिक टनेल, स्प्रेयर पम्प, हाते ट्याक्टर, मकै छोडाउने मिसिन, च्यापकटर लगायतका सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
पर्यटकीय क्षेत्र नारायणस्थानको विकासका लागि त्यस क्षेत्रको भौतिक संरचनालाई प्राथमिकता दिएको छ । प्रदेश सरकार मार्फत खानेपानीको काम भइरहेको छ । त्यस्तै तारजाली सहितको घेराबारको काम भइरहेको छ भने झोलुङ्गे पुल पनि निर्माण हुने छ । त्यस्तै वडा भित्र रहेका मठमन्दिरको जिर्णद्धार गर्ने कामलाई पनि वडाले प्राथमिकताका साथ अगाडि बढाएको जनाइएको छ ।
उक्त कार्यक्रममा प्रशासन शाखा प्रमुख विश्वनाथ दाहाल, वडा सदस्यहरु सुर्दशन तिमल्सिना, बृद्धिकृष्ण सापकोटा, डीना सिंतान, पूर्णकुमारी नेपाली, कृष्ण गोपाल माध्यमिक विद्यालयका प्रधानध्यापक ओमप्रसाद तिमल्सिना, वडा सहायक सचिव राजकुमार श्रेष्ठ लगायतले वडामा मार्फत भएका कामको जानकारी दिनुभएको थियो ।