बी. पी. कोइराला र आध्यात्मिकता

डा. नारायण चालिसे

१. विषयप्रवेश विश्वेश्वरप्रसाद कोइराला (१९७१ — २०३९) को जन्मशताब्दी वर्ष चलिरहेको छ । बी. पी. को साहित्यिक र राजनीतिक व्यक्तित्वका विषयमा चर्चा र विमर्श गर्ने क्रमले बढी नै सक्रियता लिइरहेको छ । राजनीतिक बी. पी. जति अग्लो व्यक्तित्व साहित्यिक बी. पी. हुन् भन्ने कुरामा द्विविधा छैन । राजनीतिक बी. पी. का अनुयायीहरू पनि अब साहित्यिक बी. पी. को महत्वलाई बुझ्दैछन् । राजनीतिक बी. पी. का अनुयायीहरूले गर्वका साथ आफ्नो नेता नेपाली साहित्यको पनि अग्रणी व्यक्तित्व हो भन्न नहिच्किचाऊन् भन्ने हामी साहित्यानुयायीहरूको थप अनुरोध छ । बी. पी. को जीवनकालमा प्रकाशित भएका साहित्यिक कृतिहरू र बी. पी. को अवसानपश्चात् प्रकाशित भएका साहित्य र जीवनवृत्तसँग सम्बन्धित कृतिहरूले बी. पी. को व्यक्तित्वका विविध आयामहरूतर्फ सङ्केत गरेअनुरूप आज बी. पी. का बारेमा यति धेरै अध्ययन र अनुसन्धान भइरहेका छन्, तिनले बी. पी. को शिखर व्यक्तित्वको परिचय दिएका छन् । बी. पी. को व्यक्तिगत जीवन र व्यवहारसँग त्यति गहिरो सम्बन्ध नभएको जस्तो देखिएको पूर्वीय दर्शन, अध्यात्म, धर्म र संस्कृति आदि विषयप्रतिको बी. पी. को दृष्टिकोणलाई अध्ययन गर्ने भनी थालनी गरेको विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव शीर्षकको शोधकार्यसँगै मैले चुनौतीलाई अङ्गीकार गरेको हुँ । शोधका क्रममा उद्घाटित हुँदै गएका तथ्यहरूले बी. पी. को जीवनमै पनि र साहित्यमा पनि पूर्वीय दर्शन, धर्म, संस्कृति र अध्यात्मको प्रभाव परेको कुरातर्फ स्पष्ट हुन निर्देश गरेका छन् । तर हामीले मानेजस्तै वा ठानेजस्तै अध्यात्मलाई अन्धानुसरण गर्ने, धर्ममा निरपेक्ष आस्था प्रकट गर्ने, संस्कृतिको एकपक्षीय व्याख्या गर्ने र पूर्वीय दर्शनले निर्धारण गरेका ईश्वर, आत्मा, स्वर्ग, मोक्ष, धर्म, कर्म जस्ता तत्वहरूप्रति परम्परागत दृष्टिकोण मात्र राख्ने मान्यताका पक्षधर नभईकन बी. पी. ले पूर्वीय दर्शन, अध्यात्म, धर्म र संस्कृति आदिका विषयमा व्यक्त गरेका बी. पी. का विचारहरू मौलिक छन्, आध्यात्मिक छन् । बी. पी. ले भक्तिवादी भएर होइन, वस्तुवादी, जीवनवादी र उपयोगितावादी भएर मानव–जीवनसापेक्ष ढङ्गले अनुकरण र अवलम्बन गर्नुपर्ने भनी देखाएको दार्शनिक, आध्यात्मिक, धार्मिक एवं सांस्कृतिक क्षेत्रको बाटो निश्चय नै वैज्ञानिक छ भन्ने लागेको छ । बी. पी. आध्यात्मिक हुन् कि होइनन् ? बी. पी. पूर्वीय दर्शनका अनुयायी हुन् कि होइनन् ? बी. पी. ले धर्म मान्थे कि मान्दैनथे ? बी. पी. ले पूर्वीय संस्कृतिको पालन गरेका छन् कि छैनन् ? जस्ता प्रश्नहरू बी. पी. को व्यक्तिगत जीवन, व्यवहार र साहित्यिक कृतिहरूमा अभिव्यक्त विचारहरूमा पनि गर्न सकिन्छ । यस्तै प्रश्नहरूको उत्तर खोज्ने क्रममै पनि धेरै अध्ययन–अनुसन्धान भइसकेको छ । यस लेखमा पनि बी. पी. र उनका कृतिहरू; विशेषतः उपन्यासहरूमा केन्द्रित रहेर केही जिज्ञासा र तिनको समाधान खोज्ने प्रयत्न गरिएको छ । २. जीवन र साहित्यका सन्दर्भमा आध्यात्मिकता बी. पी. ले साहित्यिक लेखनको प्रारम्भ कथा विधाबाट गरेका र कथामा मूलतः मनोवैज्ञानिक यथार्थको प्रस्तुतिलाई प्राथमिकता दिएका छन् । तर बी. पी. ले उपन्यास लेख्ने क्रममा आफूले उपन्यासमा विचार दिन चाहेको र मनोविश्लेषणको प्रस्तुति पनि सँगसँगै आएको भन्ने धारणा व्यक्त गरेका छन् । बी. पी. का उपन्यासमा विचारको प्रचुर प्रयोग पाइन्छ । उपन्यासमा व्यक्त विचारलाई आधार मानेर धेरै अध्ययन भएको छ । यसै क्रममा बी. पी. को साहित्यमा अभिव्यक्त भएको पूर्वीय (आध्यात्मिक, भौतिक) विचारबारेको चर्चा गर्दा प्राप्त तथ्यहरूले निर्देश गरेका बी. पी. के कस्ता थिए भन्नेबारेमा बी. पी. को जीवनसँग जोडिएका तथ्यहरू र साहित्य, मूलतः उपन्याससँग जोडिएका तथ्यहरूले निर्माण गरेको बी. पी. को व्यक्तित्वका बारेका केही विचारहरू यस आलेखमा समेट्ने प्रयत्न गरिएको छ । कोइराला व्यक्तिगत जीवनमा भौतिकवादी देखापरेका छन् । उनको व्यवहार पनि भौतिकवादी नै रहेको छ । कोइरालाको विचारको पृष्ठभूमि पूर्वीय र पाश्चात्य दर्शनको समन्वयबाट निर्माण भएको छ । पूर्वीय दर्शनको अध्ययनले विचारको भौतिकवादी तहमा केही कुरा थप हुन जाँदा कोइरालामा पुरानो स्थापित विचार, जो भौतिकताको धेरै नजिक छ, त्यसमा बुद्धि, तर्क र चिन्तनले थपेको विचार खप्टिइँदा चेतनाका दुई बराबर महत्वका स्तर खडा भएका छन् । भौतिकतातर्फको आफ्नो पुरानै विचार र त्यसमा जीवनका ज्ञान र अनुभवले मलजल गरेर बलियो बनेको भौतिकवादी विचारको स्तर र आन्तरिक अचेतनमा बसेको, परिवारका सदस्य, अन्य स्वजनबाट सिकेको पराभौतिक चेतनाको भित्री तह उघारिएर पछिल्लो समयमा ज्ञान, अनुभव र व्यवहारले समेत मलजल गरी खडा भएको, अघिल्लो विचारकै हाराहारी उभिन आइपुगेको आध्यात्मिक जीवन र दर्शनसम्बन्धी नयाँ विचारको स्तर कोइरालामा निर्माण भएको छ । भौतिक र आध्यात्मिक दुवै विचार सशक्त बनी प्रौढ जीवनमा आएकाले उपन्यास लेख्ने समयमा कोइराला विचारको आन्तरिक द्वन्द्वमा परेकाले साहित्यमा दुवैखाले विचारलाई समान महत्वका साथ प्रस्तुत गरेका छन् । फलस्वरूप कोइरालाले आफ्नो पुरानो भौतिकवादी जीवनदर्शनलाई विषय बनाएर आफ्नो नवनिर्मित विचारको धरोहर, जुन आध्यात्मिकताबाट निर्मित भएको छ, त्यसलाई सन्देशका रूपमा प्रसारण गर्न चाहेका छन् । जहाँ आध्यात्मिकता विषय बनेको छ, त्यहाँ भौतिकवादी जीवनदर्शनको सन्देश प्रसारण गरिएको छ भने जहाँ भौतिकता विषय बनेको छ, त्यहाँ अध्यात्मवादी जीवनदर्शनको सन्देश प्रसारण भएको छ । कोइरालाले अध्यात्मवादी दर्शनका विचारबाट प्रभावित भएर उक्त विषय र चिन्तनलाई स्थान दिएका छन्, तर भौतिक जीवनदर्शन, जो इन्द्रियग्राह्य यथार्थ हो, त्यो अमूर्त आध्यात्मिक आदर्श र विचारभन्दा बलशाली भएको तथ्यलाई नकार्न नसक्ता र आफूभित्रको भौतिकवादी विचारको जग बलियो भएकाले त्यसप्रतिको इमानदारीलाई पनि छोड्नु न्यायोचित नदेखेकाले प्रत्यक्ष रूपमा आध्यात्मिक दर्शनका विचारको समर्थन नगरेर परोक्ष रूपमा व्यक्त गरेका छन्, तर प्रत्यक्ष भौतिक दर्शनको चिन्तनभन्दा परोक्ष आध्यात्मिक दर्शनको चिन्तन कम शक्तिशाली देखिएको छैन । कोइरालाले आफू अध्यात्मवादी हुँ पनि भनेका छन्, तर उपन्यासमा अध्यात्मवादी दर्शनको प्रयोग गर्दा उनको विचार द्वन्द्वरत भएको पाइन्छ । अध्यात्मवादी दर्शनको प्रयोग उपन्यासमा भएको छ, तर कोइराला भौतिकवादी र अध्यात्मवादी दर्शनको दोहोरो आस्थाका कारण कुन ठीक कुन बेठीक भन्नेमा स्पष्ट दृष्टिकोण राख्न नसकेकै देखिएका छन् । यथार्थका सामु आदर्श विचार काल्पनिक, हावादारी, अप्रामाणिक, अपत्यारिलो, रूढ, गतिहीन जस्तो देखिए पनि देखिएकाभन्दा नदेखिएका कुरा जीवनमा बढी महत्वपूर्ण बनेर आएको पाइनाले नै कोइरालाले आध्यात्मिकतातर्फ रुचि बढाएको देखिएको छ । इन्द्रियसम्वेद्य कुराले पारेको प्रभावभन्दा अदृष्टको प्रभाव बलशाली बनेपछि अन्तरजीवनका गहिराइतर्फ प्रवृत्त हुने मानिसको स्वभावअनुरूप नै कोइराला नजानिदो ढङ्गले आध्यात्मिक दर्शनतर्फ आस्थावान् बन्दै गएका छन् । बी. पी. कोइरालामा पूर्वीय दर्शनको सकारात्मक र नकारात्मक दुवै किसिमको प्रभाव देखिएको छ । व्यावहारिक जीवनमा भौतिकवादी रहेका कोइराला भौतिक जीवनका यथार्थहरू प्रस्तुत गर्दा आध्यात्मिक दर्शनका विपक्षी बनेर प्रस्तुत भएका छन् भने आन्तरिक मनमा रहेको आध्यात्मिक वृत्तितर्फको झुकाव बढ्न गएको बेला भौतिक यथार्थको खोक्रोपनलाई अनुभव गरी भौतिक दर्शनका विपक्षी बनेर प्रस्तुत भएका छन् । कोइरालाले आफ्ना सबै उपन्यासहरूमा पात्रहरूका माध्यमले भौतिक र आध्यात्मिक दर्शनका मान्यताहरूलाई अघि सारेका छन् । उपन्यासमा आख्यानको प्रसङ्ग र आवश्यकताअनुसार भौतिकवादी दर्शनका विचार र अध्यात्मवादी दर्शनका विचार दुवैलाई सशक्त ढङ्गले व्यक्त गरिएको छ । भौतिकतालाई व्यक्त गर्दा आध्यात्मिकता र अध्यात्मिकतालाई व्यक्त गर्दा भौतिकता उपन्यासमा विचारको प्रतिपक्षी बनेर आएको छ । कोइरालाले आफ्ना उपन्यासहरूमा विचार प्रतिपादन गर्ने क्रममा कतै भौतिक दर्शनका विचारलाई प्रत्यक्ष र आध्यात्मिक दर्शनका विचारलाई अप्रत्यक्ष रूपमा अनि कतै आध्यात्मिक दर्शनका विचारलाई प्रत्यक्ष र भौतिक दर्शनका विचारलाई अप्रत्यक्ष रूपमा व्यक्त गरेका छन् । भौतिक दर्शनका विचारहरू विषय बनेको बेला आध्यात्मिक दर्शन उद्देश्य बनेको पाइन्छ भने आध्यात्मिक दर्शन विषय बनेको बेला भौतिक दर्शन उद्देश्य बनेको पाइन्छ । कोइरालाको व्यक्तिगत जीवन र व्यवहारमा देखापरेको भौतिक जीवनप्रतिको आस्था उनका उपन्यासहरूमा सोही रूपमा दृढ रहन नसकी भौतिकताका साथमा आध्यात्मिक जीवनप्रतिको आकर्षण बढेको हुनाले उपन्यासका पात्रहरू विषय र विचारप्रस्तुतिमा समेत भौतिकतासँग आध्यात्मिकतालाई जोडेर प्रस्तुत हुन आएकाले औपन्यासिक विचार–प्रक्षेपण एकै प्रकारले भएको छैन । भौतिक जीवनप्रतिको विश्वास गहिरो रहे पनि हरेक मोडमा भौतिक चिन्तनले भर दिन नसकेपछि भौतिक जीवनमा विश्वास गर्ने पात्रहरूको विचारलाई अध्यात्मवादी चिन्तनले घचघच्याएपछि उपन्यासका पात्रहरू अध्यात्मोन्मुख बन्दै गएका छन् । उपन्यासमा भौतिकवादका समर्थक पात्रहरू क्रमशः भौतिकवादबाट टाढिँदै अध्यात्मवादी बनेका छन् भने अध्यात्मवादका समर्थक पात्रहरू अध्यात्मबाट पर गएर भौतिकवादी पनि बनेका छन् । उपन्यासका केही पात्रहरू सुरुदेखि अन्त्यसम्म भौतिकवादी नै रहेका छन् भने केही पात्रहरू सुरुदेखि अन्त्यसम्म अध्यात्मवादी नै रहेका छन् । कोइरालाका उपन्यासका पात्रहरू अध्यात्मवादका पक्षपाती नभएर पनि अध्यात्मवादी दर्शनलाई त्याग्न नसकेका, भौतिकवादका पक्षपाती भएर पनि भौतिकतालाई निःशङ्क अँगाल्न नसकेका देखिएका छन् । भौतिकताका कट्टर समर्थकहरू भित्रभित्रै आध्यात्मिक भयका कारण सुखी बन्न नसकेका देखिएका छन् भने कुनै पात्र अध्यात्मका कट्टर समर्थकजस्ता देखिएर भित्रभित्रै भौतिक मोहले गर्दा पीडित देखिएका छन् । कोइरालाका उपन्यासले भौतिकतानिरपेक्ष आध्यात्मिकता र आध्यात्मिकतानिरपेक्ष भौतिकता सफल बन्न नसकेको देखाएर दार्शनिक समन्वयको सन्देश प्रवाह गरेका छन् । कोइरालाले आध्यात्मिक दर्शनका मान्यताहरूको समर्थन गर्ने हेतुले मात्र उपन्यास लेखेको पाइँदैन । आध्यात्मिक दर्शनका अव्यावहारिक पक्षहरू, जीवनविरोधी चिन्तनहरूलाई उठाएर अध्यात्मवादी दर्शनले मानव–जीवननिरपेक्ष चिन्तनको औचित्य छैन, पूर्वीय दर्शनहरूको पनि मानव–जीवनसापेक्ष व्याख्या आवश्यक छ भन्ने मान्यता स्थापित गर्न कोइरालाले चाहेका छन् । कोइराला आध्यात्मिकताका आलोचक वा विरोधी भएर यसो गरेका छैनन्, व्यावहारिक जीवनको वास्तविकता र आध्यात्मिक जीवनका आदर्शहरूबीच तालमेल नभएको देख्ता र स्वाभाविक जीवनलाई इच्छा मात्र पनि पर्याप्त नभएझैँ लाग्दा कोइरालाले आध्यात्मिक आँगनमा पाइला राखेका छन्, तर कोरा आध्यात्मिकता र कोरा भौतिकता दुवैबाट सन्तुष्ट नभएको कुरा उपन्यासबाट व्यञ्जित भएको छ । कोइरालाका उपन्यासहरूमार्फत् धर्म, संस्कृति र दर्शनका परम्परागत मूल्य र मान्यताहरू बाहिर आएका छन् । अप्राकृतिक, अनुदार, अव्यावहारिक कुराहरूप्रति असहमति र स्वाभाविक, सम्भव र जीवनोपयोगी कुराहरूको समर्थन गर्ने काम उपन्यासमा भएको छ । भौतिक जीवनको अपूर्णताले गर्दा आध्यात्मिक जीवनको खोजी भएको छ । आध्यात्मिक जीवनको अभ्यास भएको छैन, भौतिक जीवनभोगाइका क्रममा पात्रहरू कमजोर, निरुपाय, विवश र अकिञ्चन बनेर अध्यात्मतर्फ झुकाव राख्ने भएका छन् । भौतिक जीवनको मोह हटेको छैन, तर मोह मात्र पनि व्यर्थ हो भन्ने प्रमाणित भएको छ । गल्ती नगरी दण्ड भोग्न विवश हुने वास्तविकतालाई देखाएर नियति, प्रारब्ध वा ईश्वरेच्छालाई स्वीकारिएको छ । सबै कुरा पूर्वनिर्धारित हुन्छन् भन्ने नियतिवादी मान्यतालाई पूर्ण समर्थन नगरे पनि केही कुरा पूर्वनिर्धारित नै हुन्छन् भन्ने कुरा उपन्यासमा व्यक्त गरिएको छ । भौतिक र आध्यात्मिक दर्शनका शक्ति र सीमाहरूलाई उपन्यासमा देखाइएको छ । सूत्र, सङ्केत, सूक्ति, विश्लेषण र वर्णनका माध्यमले भौतिक र आध्यात्मिक जीवनदर्शनको परिचय गराइएको छ । मानवीय सामाजिक जीवनदर्शनको अभिरुचि उपन्यासमा देखापरेको छ । आध्यात्मिक दर्शन सामाजिक जीवननिरपेक्ष, एकल, वैयक्तिक हुने हुँदा सामाजिकताबाट टाढा हुने सङ्केत गरेर सामाजिक जीवनसापेक्ष दर्शनसम्बन्धी मौलिक चिन्तन प्रस्तुत गरिएको छ । देववादका सट्टा मानवतावाद, अहिंसावाद, जीवनसापेक्ष धर्म, कर्म, विधि र व्यवहारको खोजी गरिएको छ । बी. पी. ले धर्म र ईश्वरका बारेमा प्रकट गरेका विचारहरू भक्तिवादीहरूका जस्ता त छैनन्, तर ईश्वर र धर्मलाई मान्ने परम्परागत विचार मात्रै आस्तिक हुनुको परिचय होइन । ईश्वरलाई ईश्वरकै स्थानमा निःस्वार्थ रहन दिने र धर्मलाई मानवसेवामा समर्पण गर्ने विश्लेषणात्मक हेराइ किमार्थ नास्तिक होइन । उनले भनेकै छन् सृष्टिमा सबैको आ–आफ्नै थान्को र मर्यादा छ । सबैले आफ्नो मर्यादा, कर्तव्य र दायित्वमा आपूmलाई परिचालन गर्न सक्नुपर्दछ । भौतिक यथार्थलाई मात्र सबैथोक सम्झने वा मान्ने गर्नुचाहिँ हामीले कदापि हुँदैन । किनभने हाम्रो मानसिक, बौद्धिक वा आध्यात्मिक यथार्थ कुनै पनि भौतिक यथार्थभन्दा कुनै हालतमा पनि कम मूल्यवान् हुँदैन (कोइराला (सम्पा.), २०५८ ः ८०) भनेर मान्ने कोइराला कसरी नास्तिक हुन सक्छन् र ? त्यति मात्र होइन, भोला चटर्जीले ‘तपाईं आस्तिक कि नास्तिक ?’ भनी सोधेको प्रश्नमा त आफूलाई आस्तिक नै मानेका छन् (चटर्जी, २०५१ ः १११) भने खेम कोइराला बन्धुलाई दिएको अन्तर्वार्तामा म ईश्वर छैन भन्नेबारे कल्पना गरिरहन चाहन्न । मलाई एक प्रकारले अध्यात्मवादी अर्को प्रकारले अनध्यात्मवादी ठान्न सकिन्छ । म ईश्वरको विरोध वा समर्थन गरिरहन चाहन्नँ । म धर्मको अभ्यास गर्दिनँ तर म धर्मको विरुद्ध छैन । म अन्धविश्वास, कर्मकाण्ड र मूर्तिपूजाको विरोधी छु । म आस्तिक पनि होइन, नास्तिक पनि होइन (कोइराला (सम्पा.), २०५८ ः ५८) भनेर ईश्वर, धर्म, अध्यात्म, आस्तिकता र नास्तिकताबारेमा आफूलाई स्पष्ट पार्न चाहेको बुझिन्छ । दिनहुँ मठ–मन्दिर गएर धर्म, ईश्वर वा आस्थाका नाउँमा अन्धविश्वास प्रकट पनि नगर्ने र होइन, छैन भनेर प्रचार गर्दै पनि नहिँड्ने, मनले आध्यात्मिक र ईश्वरवादी, धार्मिक र आस्तिक तर भौतिक व्यवहारमा अज्ञेय भई बस्ने गरेको कुरा कोइरालाको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । यसको अर्थ कोइराला नास्तिक, अनीश्वरवादी, अधार्मिक भन्ने त लाग्दै लाग्दैन । यतिसम्म हो कि कोइराला धर्म वा ईश्वरको परम्परागत रूढ मान्यताका पक्षपाती होइनन् । यदि हाम्रो कुनै वस्तुप्रति आस्था वा श्रद्धा प्रकट हुने व्यवहार र विश्वास हामीलाई हुन्छ भने लागौँ तर भनेकै भरमा वा लहैलहैमा भौतिक जीवनका जिम्मेवारीहरूलाई बिर्सेर अन्धभक्तिमा समय खेर नफालौँ भनी आफ्ना साहित्यिक कृतिहरूका पात्रहरूलाई सन्देश दिएकोबाट कोइरालाको वस्तुवादी दृष्टिकोण प्रतिबिम्बित हुन्छ । मानवतावादका आध्यात्मिक र भौतिक दुईखाले व्याख्या छन् । बीसौँ शताब्दीका अधिकांश पूर्वीय र पाश्चात्य दार्शनिकहरूले मानवतावादको गहिरो व्याख्या गरेका छन् । प्रारम्भमा धार्मिक मानवतावादको नामले बढी प्रचलित यो दर्शन अहिले धर्मनिरपेक्ष मानवतावादका रूपमा बढी प्रचलित छ । धार्मिक मानवतावादका गहकिला दृष्टान्त हाम्रा पौराणिक, आध्यात्मिक ग्रन्थहरूमा प्राप्त गर्न सकिन्छन् । हाम्रा वेद, पुराण, धर्मग्रन्थ र दर्शनहरू मानवका पक्षमा लेखिएका छन् । तीमध्ये कतिपय ग्रन्थहरूले मानवलाई देवता तुल्याउने प्रयत्न गरिरहेका छन्, तर ती प्रयत्नहरू पनि उच्च मानवका पक्षमा भएकाले र मानव ईश्वरजस्तो हुन खोज्नुपर्छ अर्थात् अतिमानव भयो भने अझ राम्रो हुन्छ भन्ने आदर्शबाट प्रेरित छन् । श्रीमद्भगवद्गीतामा मानव अर्जुनमा ईश्वरारूढ गर्न खोजिएकाले अनर्थ भयो । मानिस मानिसकै रूपमा सुहाउँछ, ईश्वर वा दानव बन्न खोज्नु मानवधर्मलाई त्याग्नु हो र अनर्थ हुनु हो भन्ने कोइरालाको तर्क छ । देवसदृश बन्न खोज्नु नराम्रो नभए पनि देवता हुँ भन्ने अहंमा पुग्नु निश्चय नै नराम्रो हो । यसको मार्मिक दृष्टान्त भगवद्गीतामै छ । जब श्रीकृष्णले अर्जुनलाई आफ्नो विराट् (दिव्य) रूपको दर्शन गराए, त्यहाँ कृष्णका सृष्टि, स्थिति र लयका भिन्न–भिन्न रूप थिए । त्यो रूपलाई देखेर डराएका अर्जुनले श्रीकृष्णसँग विनम्र अनुरोध गरे — ‘हे कृष्ण ! तपाईं सौम्य मानव रूपमै सुन्दर देखिनुहुन्छ । हजुर मानव रूपमै आउनुहोस् । दृष्ट्वेदं मानुषं रूपं… सचेता प्रकृतिं गतः’ (गीता, ११।५१) भनी अनौठो तर मानवका पक्षमा गरिएको आग्रह र कोइरालाको मानव ईश्वर हुने चेष्टा गर्नु हुन्न भन्ने धारणा ठ्याक्कै मिल्न गएको छ । यो मानवतावादको गहकिलो दृष्टान्त हो । यसले ईश्वरीयतालाई अस्वीकार गरेको छैन, ईश्वर वा मानिस आफ्नै अवस्थामा सौम्य र सुन्दर लाग्छन्, ती सबैले आफ्नै थान्कोमा बस्नुपर्छ भन्ने मान्यता धार्मिक र वैज्ञानिक मानवतावादको मिश्रण हो । यस कुरामा कोइराला ज्यादै सचेत छन् । उनले आफ्ना उपन्यासहरूमा यसलाई घतलाग्दो र मार्मिक किसिमले प्रस्तुत गरेका छन् । सुम्निमा उपन्यासमा देवता बन्ने प्रयत्नमा लागेको सोमदत्तलाई मानिसकै थान्कोमा बस्न र मानिसकै सुहाउँदिला कर्म गर्न भनी प्रकृतिरूप सुम्निमाले गरेका सरल र स्वाभाविक आग्रहमा मानवता घनीभूत भएर आएको छ र मानव हुन नसक्ता सोमदत्तले दुर्घटना बेहोर्नुपरेको छ भने त्यत्रो वैदिक सभ्यता र संस्कृतिमै आँच आउने अवस्था सिर्जना भएको छ । यसको अझ राम्रो प्रस्तुति कोइरालाको मोदिआइन उपन्यासमा भएको छ । कुरुक्षेत्रको मानवसंहारलाई धर्मको रूप दिएर गरिएको कोरा आध्यात्मिक व्याख्याप्रति असहमति प्रकट गर्दै कोइरालाले मानवताको पक्षमा बोल्न र व्यवहार गराउन नसकेका श्रीकृष्णप्रति नै कटाक्ष गरेका छन् भने कृष्णले अर्जुनलाई समेत मानव भइरहन नदिई ईश्वरारूढ गराएकैले त्यत्रो अनिष्ट भएको हो भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् । मोदिआइनमा मानवताको हननका विष्मयकारी दृष्टान्त प्रस्तुत गर्दै ठूलो बिस्मात बेहोरेका नारी, मछुवारिन, मोदिआइन आदि नारीका अवस्थाहरूको चित्रण गर्दै कोइरालाले प्रस्ताव गरेको मानवतावादमा ईश्वरको पनि स्थान छ, तर ईश्वर मानवको आ–आफ्नै थान्को, विधि, व्यवहार र कर्म हुनुपर्ने भन्ने कोइरालाको दृष्टि कृष्णको सौम्य, सुन्दर र स्वाभाविक मानवरूपको पक्षमा देखिएको  छ । यो कुरालाई पौराणिक प्रसङ्गबाट उठाएर हिटलर र यहुदीमा दोस्रो महायुद्धको वीभत्स नरसंहारमा मारिएका लाखौँलाख यहुदीहरूको अवस्थाको चित्रण गर्दै कोइरालाले अझ गहिरो कटाक्ष ईश्वरप्रति गरेका छन् । मृत्युको नियति लिएर आएका यहुदीहरूको जीवनरक्षा गर्ने दया ईश्वरमा प्रकट हुन नसक्नु र मानवमृत्युलाई टुलुटुलु हेर्ने ईश्वरीयता कम्तीमा मानवताको पक्षमा भने हितकर भएन भन्ने आशय कोइरालाले प्रकट गर्दै महाभारतका नायक कृष्ण र दोस्रो विश्वयुद्धको नायक हिटलर मानवताको दृष्टिले उत्तिकै दोषी र निन्दनीय छन् भनी रोष प्रकट गरेका छन् । हिटलर र कृष्णलाई समान देख्ने कृष्णलाई हिटलरजस्तै दुराचारी ठान्ने कोइरालाको आवेगमय दृष्टिमा केही दोष अवश्य देखिन्छ तर ईश्वरको दरबारमा कृष्णसरह आफ्नो स्थान सुरक्षित गर्न चाहने हिटलरलाई ईश्वरले दुत्कारेर पठाएको अवस्थाको चित्रण गरेर स्वयम् कोइरालाले आफ्नो दृष्टिकोणलाई सच्याएका छन् । जे होस्, कोइराला मानवताका सच्चा हिमायतीका रूपमा देखापरेका छन् र आफ्नो मानवतावादी दृष्टिकोण सौम्य, सुन्दर मानवरूप ईश्वरको पक्षमा भएको धारणा प्रकट गरेका छन् । बी. पी. कोइरालाले आफ्ना उपन्यासमा गीतादर्शनको विचारलाई महत्वका साथ प्रस्तुत गरेका छन् । गेरुवा रङ्गको लुगा नलगाए पनि हामीले मनमा जोगीको जस्तो निष्काम प्रवृत्ति धारण गर्नुपर्दछ (कोइराला (सं.) २०५८ ः ३१३) भनेर राजनीतिमा आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिने बी. पी. ले मोदिआइन र हिटलर र यहुदी जस्ता उपन्यासहरूमा निष्काम कर्म हुनै सक्तैन, कर्म कुनै न कुनै कामनाले प्रेरित हुन्छ, कृष्णले अर्जुनलाई दिएको उपदेश मानवताको पक्षमा छैन, कृष्ण र हिटलरको कर्म एकै प्रकारको र आलोचनायोग्य छ भनेर असहमति जनाए । श्रीमद्भगवद्गीता जस्तो ग्रन्थलाई निश्चित उद्देश्यमा नपुगी खोक्तैमा टुङ्गिएको ग्रन्थ (कोइराला (सं.) २०५८ ः १९) भन्ने माने र मानवताका दृष्टिले अनुपयोगी ठह¥याए । भगवद्गीताको एउटै मूल कुरा भनेको निष्काम कर्म गर भन्ने हो । तर गीताले नैतिकताको मापदण्ड नबनाएकाले निष्काम कर्मको आदर्शले अर्जुनलाई कुरुक्षेत्रको हिरो बनायो । अर्जुन हिरो बन्दा वा बनाउँदा के–कति मानवीय क्षति भयो, त्यसको लेखाजोखा हुनुपर्छ र अर्जुनलाई हिरो बनाउने कृष्णसँग मानवताको मूल्य माग्नुपर्छ भन्ने आशय कोइरालाको रहेको छ । हिटलर र यहुदीको शत्रुतालाई हेर्ने हो भने त्यहाँ नैतिकता मात्रको भिन्नता छ अरू केही फरक देखिंँदैन (कोइराला (सम्पा.) २०५८ ः ४३) भन्दै कोइरालाले गीताप्रति गुनासो प्रस्ट गरेका छन् । त्यति मात्र होइन, मावनताको आँखाले कुरुक्षेत्र र हिटलरको नरसंहार उत्तिकै भीषण र तिरस्कारयोग्य छ भनेर आलोचना पनि गरेका छन्, तापनि कोइरालाले कर्ममा निष्ठा र त्याग हुनैपर्छ भन्ने कुरालाई जोड दिएका छन् । यत्रो हिन्दूहरूको पवित्र, आदर्श र उत्कृष्ट धर्मग्रन्थ मानिएको गीता के यस्तै विमति राख्ने ग्रन्थ मात्र हुन हुन्थ्यो ? के कृष्णले नरसंहारको सट्टा उत्तम विकल्प दिन सक्तैनथे ? कृष्णले चाहेनन् कि सकेनन् ? सकेनन् भने उनको ईश्वरीयता कमजोर रह्यो या चाहेनन् भने उनी पनि नरसंहारी नै ठहरिए । त्यस्तो गीता मानवका निम्ति किन आवश्यक रह्यो ? अब गीताको मानव–जीवनअनुकूल व्याख्या किन नगर्ने ? भन्ने आशय कोइरालाले प्रकट गरेका छन् र आफूलाई गीताले निराश तुल्याएको, सान्त्वना दिन नसकेको गुनासो प्रकट गरेका छन् । हामी आफ्ना र अरूका कामलाई कहिले राम्रा र कहिले नराम्रा मान्छौँ । आ–आफ्नो रुचि, संस्कृति र संस्कारअनुरूप यस्तो मूल्याङ्कन हुने गर्दछ । कुनै पनि नैतिक निर्णयको आधार कुनै न कुनै आदर्श हुन्छ । आदर्शको अनुकूल हुँदा कुनै काम नैतिक, नहुँदा अनैतिक हुन्छ र नैतिक÷अनैतिक हुँदा कर्तव्य र अकर्तव्यको हुन्छ भन्ने मानिन्छ (प्रसाद, १९८२ ः ३६) । बी. पी. कोइरालाको अध्यात्मसम्बन्धी मान्यतामा नीतिचेतना र नैतिक मान्यताले महत्वपूर्ण स्थान लिएको पाइन्छ । आत्मा, मोक्ष, ईश्वर, धर्म, रति, सामाजिक सम्बन्ध आदि कुराहरूमा कोइरालाको आफू अन्तःप्रेरणाले प्रेरित भएको, नैतिक मूल्य र मान्यता अनि सामाजिक उपादेयता र अन्य यस्तै नैतिक सम्बन्धका आधारमा अध्यात्मलाई हेरेको छु भन्ने कुरा धेरै ठाउँमा चर्चा गरेका छन् । यौनमा छाडापनका कुरा उठ्ता वा धर्ममा अनास्थाका कुरा उठ्ता ईश्वर, मोक्ष आदि कुरामा विश्वास र अविश्वासको कुरा उठ्ता र राजनीतिमा नैतिकताको कुरा उठ्ता आफू सधैँ सचेत रहेको र नैतिक मूल्य र मान्यताकै पक्षमा रहेको कुरा कोइरालाले गरेका छन् । जहाँसम्म विश्वास र अविश्वासको कुरा छ, मानिसलाई सबैखाले कर्म गर्ने र नगर्ने छुट छ, तर नैतिकतालाई बिर्सनु हुन्न भन्ने धारणा कोइरालाले राखेका छन् । अध्यात्म वा भौतिक दुवै आँखाले हेर्दा बी. पी. को साहित्यलाईममूल्याङ्कन गर्ने आधारग्रन्थ श्रीमद्भगवद्गीता हो र त्यसैका विषयमा बी. पी. ले गरेका टिप्पणीहरूलाई आधार बनाएर बी. पी. लाई नास्तिक, अधार्मिक, अध्यात्म वा गीताविरोधी आदि धारणा बनाइने गरेका छन् । बी. पी. लाई नास्तिक, भौतिकवादी, अधार्मिक बनाएजस्तै गीताले नै बी. पी. लाई आध्यात्मिक, आस्तिक वा नैतिक थिए भन्ने पुष्टि गरेको छ । गीताका पक्षधर भएरै बी. पी. ले गीतामा आफ्नो गुनासो प्रकट गरेका हुन् भन्ने तथ्य पनि बुझ्न आवश्यक देखिन्छ । गीतामा नैतिक आदर्श भनेको सत्य र न्याय थियो । सत्यलाई आदर्श मान्दा महाभारतको युद्ध कर्तव्य भयो, तर त्यही मानवतालाई आदर्श मान्दा अकर्तव्य भयो । गीताको आदर्शको आँखामा कर्तव्य मानिएको युद्ध मानवताको आँखामा अकर्तव्य भयो । बी. पी. ले गीताको नैतिक आदर्श मानवता हुनुपर्ने र युद्ध अकर्तव्य हुनुपर्ने भन्ने गहिरो दृष्टि राखे । बी. पी. ले भनेझैँ मानवतालाई आदर्श मान्दा कौरवको अन्याय, अनीति र दुराचार कर्तव्य हुने र स्वीकार्नुपर्ने अवस्था आउँथ्यो । बी. पी. को दृष्टिमा वा मानवताको दृष्टिमा नरसंहार अकर्तव्य हो, जनकल्याण कर्तव्य हो । महाभारतको असत्य, अनीति, दुष्कर्म, जनकल्याणविपरीत विषय भयो र यसलाई कर्तव्य मान्न मिलेन । गीताको दैवीय व्याख्याअनुरूप एउटा आदर्श र मानवीय व्याख्याअनुरूप अर्को आदर्श सिर्जना हुने अवस्थामा बी. पी. ले मानवीय दृष्टि लगाउँदा गीतामा द्वन्द्व देखापरे पनि मानव–जीवनसापेक्ष बी. पी. को दृष्टि गीताको नीतिचेतनामा बी. पी. ले गीता नबुझेर नभई आफ्नो तर्फको प्रस्तावलाई अघि सारेका हुन् । अब हामी बी. पी. मार्गी हुने कि गीतामार्गी हुने ? तर बी. पी. ले आफूलाई नैतिकतामा अडेको र मानवीय नैतिकता आफ्नो आदर्श भएको कुरा गरेर नीतिवादी मान्यतामा मौलिक दृष्टिकोण राखेर आफ्नो उपस्थिति जनाएका छन् । बी. पी. ले आफ्नो साहित्यमा विरोधी धर्मलाई ज्यादै कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् । भारतको स्वतन्त्रता आन्दोलन, नेपालको प्रजातन्त्रप्राप्ति र पुनप्र्राप्तिका सक्रिय योद्धा कोइराला क्रान्ति र शान्तिको विचारका फ्युजन थिए । एकातिर राजनीतिमा कानुन अन्तिम, अभेद्य र अनुल्लङ्घनीय हुनै सक्तैन भनेर अन्यायको प्रतिकार गर्ने, हिंसात्मक दमनको प्रतिकार गर्ने, आत्मरक्षाका निम्ति सङ्गठित हुने शाश्वत अधिकारको प्रयोग गर्दै क्रान्तिको नेतृत्व गर्ने (कोइराला (सं.) २०५८ ः ३९२) कोइराला साहित्यमा गान्धीको अहिंसा, शान्ति र मानवताका पक्षमा बोलेका छन् । क्रान्तिकारी, शान्तिप्रेमी यी परस्पर विरोधी जस्ता लाग्ने दुई व्यक्तित्वभित्र कोइराला इमानदार बन्ने प्रयत्न गरेका छन्, र त उनले साहित्य र राजनीतिलाई अलग–अलग हुर्किन दिनुपर्छ, एक–अर्काको प्रत्यक्ष प्रभाव पर्न दिनु हुन्न भन्ने मान्यता राख्तछन् । राणाशाही र पञ्चायती निरङ्कुशतासँग गम्भीर असहमत कोइराला सशस्त्रयुद्धका कमान्डर पनि थिए, शान्ति र मेलमिलापका अगुवा पनि थिए । यद्यपि राजनीति र साहित्यको भाषामा हुने अन्तरलाई पर्गेल्न बी. पी. लाई ज्यादै असजिलो परेको छ, तापनि दुवैप्रतिको विरोधी धर्मलाई समन्वयमा ल्याउने चाहना बी. पी. ले गरेको देखिन्छ । घोर आत्मवादी सोमदत्त र देहवादी सुम्निमालाई एकै ठाउँ उभ्याएर समन्वयको आह्वान गरेर होस् वा एउटै इन्द्रमायालाई अस्तित्ववादी र नियतिवादी बनाएर होस् वा पातिव्रत्य र सतीत्वको विपक्षमा तर्क राख्ने इन्द्रमाया, बहुपत्नी धारण गर्ने नरेन्द्र दाइ, बाबु र छोरा दुवैलाई पति मान्न विवश उमा, एउटै पति पाउन नसक्ने गौरी, पतिका निम्ति जन्मजन्म प्रतीक्षुक मोदिआइन, जीवन धान्न दैनिक पति फेर्न बाध्य इल्जे आदि सबै पात्र र घटनामा कोइरालाले विरोधी धर्मलाई एक ठाउँ राख्ने प्रयत्न गरेका छन् । युद्ध र शान्तिलाई सँगै लिएर हिँड्ने, विरोधी धर्मलाई समन्वयमा ल्याउन चाहने बी. पी. को व्यक्तित्व त्यसकारण बहुआयामिक मान्न सकिन्छ । गीतामा प्रारब्धकर्म, कर्मबन्धन, कर्मफल वा पूर्वनिर्धारित अपरिहार्यतालाई प्रारब्ध भनिएको छ र त्यसको सशक्त प्रभावलाई चित्रण गरिएको छ । हाम्रा अघिल्ला–अघिल्ला जन्मको कर्मले निर्दिष्ट गरेको बाटोमा हिँड्न हामी बाध्य छौँ भन्ने मान्यता प्रारब्धकर्म हो । बी. पी. कोइरालाले प्रारब्धलाई अस्वीकार गर्ने आँट गर्न सकेका छैनन्, तापनि उनी कोरा प्रारब्धवादी मात्रै होइनन् । प्रारब्ध मात्रैमा विश्वास गर्दा मानिसमा कर्म गर्ने स्वतन्त्रता र उसलाई गुण–दोषको भागी मान्ने अवस्था रहँदैन । तर कोइरालाको प्रारब्धमा कर्मस्वतन्त्रता र गुणदोषको भागी बन्ने अवस्थाले पनि स्थान पाएको छ । मानिसका निर्णय कुनै कारणले निर्देशित हुन्छन् । त्यो कारण प्रारब्ध, नियति, भाग्य, ईश्वर मान्ने कि भन्ने आध्यात्मिक मत हो । कोइराला यसमा द्वन्द्वमा परेका छन् । कतै उनी यसलाई अध्यात्मको पोल्टामा हाल्न पुग्छन्, कतै आकस्मिकता मान्नुपर्छ भन्छन् । नियतिनिर्दिष्ट इतिहासको क्रम यस्तै हुन्छ भन्न गाह«ो छ । मानिस त्यहीँनेर पुगेर बडो ठूलो कठिनाइमा पर्छ, जहाँ उसले इतिहासका आधारमा भविष्यका लागि निर्णय गर्नुपर्छ । त्यसैले मानिस कुनै पनि निर्णय लिन्छ भने त्यो व्यक्तिगत या सामूहिक नियतिवश परेर नै लिन्छ जस्तो लाग्छ (कोइराला (सम्पा.) २०५८ ः ५२) । तर सुम्निमा, सोमदत्त र पुलोमाले भोगेको जीवनको विफलता, मोदिआइनको विवशता, मछुवारिन र नारीका बाध्यता, कुरुक्षेत्रमा मारिने लाखौँ यहुदीको विवशता, मिस मार्गरेट, इल्जे, थियोडोरा, खोरन्डे सिपाहीको अवस्था वा इन्द्रमायाका जीवनका विभिन्न मोड, नरेन्द्र दाइ, गौरी र मुनरियाको जीवनका बाध्यता वा बाबु, आमा र छोराकी उमाको विवशताका सामु कोइरालाको अस्तित्व सबल बन्न नसकेपछि कोइराला कतै घोषित र कतै ध्वनित रूपमा प्रारब्धका पुजारी बन्न पुगेका छन् । हामीले चाहेर मात्र हाम्रो जीवन चल्दैन, भएको र हुने कुरालाई रोक्न सक्ने सामथ्र्य हामीमा छैन भन्ने मान्यतालाई कोइरालाले समर्थन गरेका छन् । यो संसार कर्मबन्ध संसार हो । यहाँ जन्मिने हरेक प्राणी पूर्वजन्मको कर्मले बाँधिएको हुन्छ (गीता, २।३९) र आपूmले गरेका कर्मको फल भोग्न नपर्ने र नगरेका कार्यको अकस्मात् फलप्राप्ति सम्भव नै हुँदैन (सरस्वती, २०६० ः ६२–६३) भने मान्यता नै कोइरालाको पनि नियतिवाद हो । यसले एकातिर पूर्वजन्म र पुनर्जन्मको मान्यतालाई र अर्कोतिर आत्माको अजरामरतालाई समर्थन गरेको छ । मृत्युको नियति लिएर आएका कुरुक्षेत्रका सेना र यहुदीका मृत्युमा कोइरालाले दुःख प्रकट गरेका छन् । यी तमाम अवस्थाहरूमा कोइरालाको मनले पीडाबोध गरिरहेको छ र मानव हुनुको नाताले यी जघन्य कर्महरूको विपक्षमा कोइरालाका विचारहरू आएका छन्, तर प्रारब्धको खटनलाई छेक्न, रोक्न वा सच्याउन नसक्ने मानिसको असमर्थ अवस्था र प्रारब्धको बलशाली पन्जाबाट उम्किन नसक्ने यथार्थलाई गम्भीर किसिमले व्यक्त गर्ने काम कोइरालाबाट भएको छ । उपर्युक्त बुँदाहरू मात्र सम्पूर्ण होइनन्, संस्कार, संस्कृति, परम्परा र सामाजिक मूल्य र मान्यताका कुराहरूमा पनि कोइरालाले गहिरो दृष्टि लगाएका छन् । के युद्ध नभएको भए कौरवहरू वा यहुदीहरू सबै बाँच्न सम्भव थियो ? त्यसो भए दोषी को ? कृष्ण, हिटलर, अर्जुन, दुर्योधन ? भन्ने दार्शनिक विन्दुमा आएपछि अध्यात्म र भौतिकताको भेद पनि रहँदैन । त्यति बेला हाम्रा प्रश्न निरर्थक लाग्छन् । हाम्रो आरोपको अर्थ रहँदैन । अन्धानुसरण आजको अध्ययनको लक्ष्य होइन । कोइरालाले धर्म र अध्यात्म वा यस्तै अन्धताहरूका कुरा उठाएका छन्, विरोध गरेका छैनन् । ३. निष्कर्ष यसप्रकार बी. पी. कोइरालाको व्यक्तिगत जीवन, व्यवहार, उनका आत्मजीवनीहरू र साहित्यिक कृतिहरूमा केन्द्रित रहेर पूर्वीय दर्शन र आध्यात्मिकता आदि विषयमा चर्चा गर्दा व्यक्तिगत जीवनमा भौतिकवादीजस्ता देखिने बी. पी. को भित्री मनको तह भने आध्यात्मिक रहेको बुझिन्छ । निश्चय पनि बी. पी. परम्परागत ढाँचाका आध्यात्मिक पनि होइनन् र अत्याधुनिक बन्न खोज्ने भौतिक पनि होइनन् । भौतिक र अध्यात्मवाद दुवै अटाउने पूर्वीय दर्शनमा बी. पी. पूर्वीय दर्शनका अनुयायी नै हुन्, तापनि कोरा अध्यात्मको पृष्ठपोषण गर्ने रूढ चिन्तन बी. पी. मा छैन । त्यस्तै धर्म र संस्कृतिका विषयमा पनि बी. पी. को समन्वयात्मक धारणा पाइन्छ । विशेषतः धर्म, संस्कृति, दर्शन आदि सबै कुरा मानवजीवनका सापेक्षतामा व्याख्या गरिने चिन्तन र मूल्याङ्कन बी. पी. को रोजाइ हुँदै होइन । मानव–जीवनको केन्द्रीयतामा हाम्रा आदर्श, मूल्य र मान्यताहरूको व्याख्या र पालन हुनुपर्दछ भन्ने बी. पी. को दृढ धारणा पाइन्छ । बी. पी. का अन्तर्वार्ताहरू, उनका आफ्नो कथा, आत्मवृत्तान्त, जेलजर्नल, फेरि सुन्दरीजल जस्ता कृतिले बी. पी. को व्यक्तित्वमा थप अध्ययन र अनुसन्धान गर्ने र बी. पी. लाई स्पस्ट्याउन मद्दत गरेका छन् । समग्रमा बी. पी. असल मानवका पक्षमा छन्, जसभित्र सबै कुरा अटाउन सकिन्छ ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *