बनेपा । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि र बनेपा नगरपालिका ७ नं वडा कार्यालयको संयुक्त आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा बनेपामा रहेको संस्थाको कार्यालय परिसरमा एक दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।
शिविरको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आँखा परीक्षण गराई शुभारम्भ गरेका थिए । नगर प्रमुख शाक्यले सामाजिक काममा सहकारी र स्थानीय सरकार सँगसँगै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । शिविरमा २ सय ८४ जना महिला र १ सय ८ जना पुरुष गरी ३ सय ९२ जनाले आँखा परीक्षण गराएका थिए ।
शिविरका क्रममा सेवाग्राहीलाई निःशुल्क औषधी वितरण गर्नुका साथै आवश्यक पर्ने व्यक्तिहरुलाई निःशुल्क चस्मासमेत वितरण गरिएको थियो । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्वर ७ का अध्यक्ष हिटलर शाक्य लगायत विभिन्न क्षेत्रका ब्यक्तिहरु र संस्थाका प्रमुख कार्यकारी अधिकृत केबी लामाको सहभागिता रहेको थियो ।