बालबालिकाको भविष्यको ख्याल गरि नगरले कार्यक्रम अघि बढाउने ः प्रमुख भण्डारी
बालबालिकालाई विद्यालय जान हौसला मिल्ने खालका कार्यक्रम अघि सारिने ः उपप्रमुख बञ्जारा
काभ्रे । बालमैत्री वडा पनौती ८ को प्रथम वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । कार्यक्रम नगरप्रमुख रामशरण भण्डारीले दीप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियो । उहाँले नगरपालिकाले शिक्षा, खेलकुद र स्वास्थ्यको लागि दत्तचित्त भएर लागि पर्ने बताउँदै बालबालिकाहरुको भविष्यको ख्याल गरि नगरपालिकाले कार्यक्रम अघि बढाउने उल्लेख गर्नु भयो । कार्यक्रममा उपप्रमुख गीता बञ्जाराले बालबालिकाहरुलाई विद्यालय जान हौशला मिल्ने खालका कार्यक्रमहरु नगरपालिकाले अघि सार्ने बताउँदै बालसमूहले बालबालिकाहरुको बारेमा एक वर्षसम्म निभाएका कार्यक्रमहरुप्रति सन्तुष्टि व्यक्त गर्नु भएको थियो । कार्यक्रम पनौती नगरपालिकाका वडा नं. ८ का भालेश्वर मावि, मल्पि इन्टरनेशनल बोर्डिङ स्कुल, सिद्धार्थ बनस्थली मावि, ज्वालामुखी प्रावि र तेजगंगा क्याम्पसको प्लस २ मा अध्ययनरत छात्रछात्राहरुबाट बालसमूहहरु गठन भएका थिए ।
बालमैत्री सहजकर्ता गीता थापाले वडामा बालसमूहहरुले वार्षिकरुपमा गरेका कार्यक्रमहरुका बारेमा जानकारी गराउनुभयो ।
सो अवसरमा पनौती नगरपालिका बालमैत्री शाखा प्रमुख केशव बञ्जारा, भालेश्वर माविका प्रधानाध्यापक रामचन्द्र थापा, पनौती बालसंजालका अध्यक्ष दीक्षित न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो भने भालेश्वर मावि व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम संचालन करुणा बजगाईं र विनिता बञ्जाराले गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व वडाध्यक्ष वेदप्रसाद बञ्जाराले गर्नु भएको थियो ।
बालमैत्री वडा पनौती–८ को परिचय
स्थानीय तहको पुनरसंरचना गरिँदा तत्कालिन पनौती नगरपालिका ८ र ९ गाभियो र यसलाई वडा नं. ८ बनाइयो । यो वडा २७ डिग्री ३५.४६ मिनेट उत्तरी अक्षांश र ८५ डिग्री २७.२१ मिनेट पूर्वी देशान्तरमा अवस्थित छ । समुन्द्र सतहबाट यसको सरदर उचाई १४०० देखि २७५० मिटरसम्म फैलिएको छ । यस वडा पनौती नगरपालिकाको क्षेत्रफलको आधारमा दशौं स्थानमा पर्दछ । पूर्वमा बेथानचोक गाउँपालिका वडा न.४ चलाल गणेशस्थान र पनौती नगरपालिका वडा नं. ९, पश्चिममा पनौती नगरपालिका वडा नं. ३, उत्तरमा पनौती नगरपालिका वडा न. ४ र ७ पर्छ भने दक्षिणमा पनौती नगरपालिका वडा न. १२ पर्दछ । यो वडाको कार्यालय पनौती नगरपालिका कार्यालयबाट करिब १ कि.मि. र जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ११ किमि दक्षिण–पश्चिममा पर्दछ । खाद्यान्न बाली धान, गहुँ, मकै, आलु, सुन्तला, व्यवसायिक गोलभेडा खेती, व्यवसायिक कुखुरा पालन, व्यवसायिक कृषि फार्म दुग्ध उत्पादन, तरकारी खेती, साथै नोकरी र वैदेशिक रोजगार, स्वरोजगारमा आर्कषित रहेका छन् ।
पनौती नगरपालिका ८ नं वडा पर्यटकीय हिसाबले पनि महत्व बोकेको छ । धार्मिक रुपमा चिनिने राधाकृष्ण मन्दिर, महांकाल गणेश मन्दिर, देविधानको शहिद पार्क, महालक्ष्मी मन्दिर, फूलचोकी देवीस्थान । यी स्थलको बारेमा अध्ययन अनुसन्धान गरि ग्रामीण पर्यटन प्रर्वद्धन गरि आन्तरिक र बाह्य पर्यटकहरुलाई भित्र्यााई प्रशस्त आय आर्जन बढाउन सक्ने यस वडाको सम्भावना रहेको छ ।
बालमैत्री स्थानीय शासनको परिभाषा
बालमैत्री स्थानीय शासन भन्नाले बाल अधिकारका ४ बाकस बाल वचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण वाल सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय तहको नीति, योजना संरचना प्रणाली र प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भन्ने बुझिन्छ ।
बालमैत्री स्थानीय शासन बाल अधिकारसम्बन्धी समग्र पक्ष (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागीता) को प्रवद्र्धन गरि स्थानीय सरकार ऐन २०७४ बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो । बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी ऋच्ऋ ज्ञढडढ को अवधारणा, नेपालको अन्तरिम संविधान २०६३ मा भएको बाल अधिकार सम्बन्धी व्यवस्था, बाल अधिकार सम्बन्धी ऐन २०४८ तथा स्थानीय स्थानीय सरकार ऐन २०७४ ले बालबालिकाको पक्षमा नीतिगत एवं कानुनी प्रावधान राखी बाल अधिकारको समग्र पक्षमा वकालत गरेको छ ।
भालेश्वर माविको शैक्षिक गुणस्तर कायमका लागि अक्षयकोष
मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप केसीले आफ्ना पिता लिलाबहादुर केसीले स्थापना गर्नु भएको भालेश्वर माविमा शैक्षिक गुणस्तर कायम गर्नका लागि एक अक्षय कोषको घोषणा गर्नु भएको छ ।
उहाँले लिला–मध्यमार्ग अक्षयकोषद्वारा स्थापना गरिने कोषमा रु. एक लाख बराबरको अक्षयकोषको घोषणा गर्नु भएको थियो । सो कोषबाट वार्षिक रुपमा कार्यविधि बनाई विद्यालय र कोषको तर्फबाट कार्यविधि तयार गरि अघि बढाइने बताइएको छ । त्यस्तै सो बालमैत्री समूहलाई कार्यक्रमहरु दिगो राख्न सम्पादक केसीले रु. ३ हजार कार्यक्रममा हस्तान्तरण गर्नु भएको थियो ।