बाढीपहिरो प्रभावित क्षेत्रमा कसरी होला पुनर्निर्माण ?

काभ्रे । प्राकृतिक विपत्ती कतिबेला र कहाँ आउँछ भनेर कसैलाई पनि थाहा हुँदैन । न यो बाजा बजाएर आउँछ न यसले कुनै पूर्वसूचना दिएर आउँछ । आएपछि जे भएको सामना गर्नैपर्ने हुन्छ । यस्तै भएको छ गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछिको परिणाम ।
यो वर्षाले काभ्रे जिल्ला नराम्ररी प्रभावित बनेको छ । मानवीय र भौतिक क्षति अनुमान गरिएभन्दा बढी भोगेको यस जिल्लामा अब कसरी पूनर्निर्माण गर्ने भन्नेमा अन्योल देखिएको छ । सबैभन्दा बढी प्रभावित जिल्लाका बेथानचोक, पनौती, रोशी, तेमाल, नमोबुद्ध, मण्डनदेउपुरलगायतका पालिकाहरुमा धेरै बस्तीहरु स्थानान्तरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
हुन त १० वर्ष पहिले पनि यस्तै महाविपत्ती यस जिल्लाले नभोगेको होइन, ०७२ सालको विनासकारी भूकम्पको पूनर्निर्माण सक्न नपाउँदै अर्को विपत्तीको सामना गर्नुपरेपछि भने आर्थिक र भौतिक व्यवस्थापन गर्न निकै सकस परेको छ । अहिले प्रभावित क्षेत्रमा उद्धार र राहात वितरणका काम भएका छन् भने चुनौतीका रुपमा पूनर्निर्माण र बस्ती स्थानान्तरण नै रहेको सम्बन्धित पालिकाका जनप्रतिनिधी बताउँछन् । अब ढिलोचाँडो बस्तीलाई व्यवस्थित बनाउन जरुरी देखिन्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सहयोग गर्दै बेरोजगार युवाहरुलाई तालिम दिएर उनीहरुलाई काममा खटाउनु पर्ने आवश्यकता छ ।
जिल्लामा के के मा कति भयो क्षति ?
बाढीपहिरोले प्रभावित यहाँका पालिकाहरुमा कुनै पनि क्षेत्र सुरक्षित रहेन । सडक, विजुली, खानेपानी, संचार, कृषि, पशुपालन, निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्यचौकी सबैजसो क्षेत्रमा असर परेको छ ।
स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भयो । जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७८ जनाले ज्यान गुमाए । यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको हो । घटनामा हालसम्म ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।
जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ । बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक हुन अझै सकेको छैन । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहले समेत राहत रकम घोषणा गरेका छन् । बाढी, पहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् भने क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै अवरुद्ध छ ।
सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकका आठ तह छन् । जसमा रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौंरीदेउराली र महाभारत गाउँपालिका रहेका छन् । यस्तै सरकारले विपदबाट घर, बहाल, आवास नस्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्नसमेत नभएका वा दुबै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । विसं २०२८ पछिको दोस्रो विपत्ति मानिएको काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मूल्याङ्कनसमेत गर्न कठिनाई हुने गरी क्षति भएकाले यकिन विवरण प्राप्त हुन समय लाग्ने बताइन्छ । जिल्लाको रोशी, चौँरीदेउराली, महाभारत, खानीखोलालगायतका तहमा भएको क्षतिको विवरण नै प्राप्त भएको छैन । बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा कम्तिमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाईले जनाएको छ ।
यसैबीच जिल्लाका विपद् प्रभावित चार तहलाई बागमती प्रदेश सरकारले २०÷२० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरलाई २० लाखका दरले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै नमोबद्ध र मण्डनदेउपुर नगर तथा चौंरीदेउराली र महाभारत गाउँपालिकालाई १० लाखका दरले समेत पाँच करोड ८० लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
असोज १२ गते रोशी खोलाको बाढीले विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा सडक बगाएर उक्त स्थानबाट सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका अलपत्र यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गर्न थालिएको थियो । विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा अड्किएका सवारीसाधन सञ्चालन काभ्रेपलाञ्चोकको भकुण्डेबेंसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको कामसमेत थालिएको जनाइएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले गत मङ्गलबारदेखि रोशी खोलाको बाढीले सबैभन्दा बढी अबरुद्ध तथा क्षतिग्रस्त सडक मर्मतको काम सुरु गरेको थियो । साथै, विभागले बगाएको चौकीडाँडाको दुई सय मिटर सडकमा अस्थायीरुपमा सडक निर्माण थालेको जनाइएको छ ।


विपदपछि अझै धेरै गर्न बाँकी छः प्रमुख भण्डारी
बाढीपहिरोका घटनापछि खोज, उद्धार, राहत तथा पुनःनिर्माण युद्धस्तरमा भएकै कारण छोटो समयमै त्यसको परिणाम देखिएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले दाबी गर्नुभएको छ ।
स्थानीय तहमा उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग र राज्यका सबै संयन्त्रको एकीकृत साझा प्रयासमा छोटो अवधिमा मानवीय संवेदनाको पाटोलाई बुझि अधिकतम परिणाम दिने ढङ्गबाट कार्य सम्पादन गरिएको उहाँले बताउनुभयो । प्रमुख भण्डारीले बाढीपहिरोपछिको विकराल अवस्थामा साझा प्रयत्न र भगिरथ प्रयासबाट खोज, उद्धार र राहतका प्रारम्भिक कार्य पूरा गरी एक साताभित्रै बत्ती, बाटो र सञ्चार सम्पर्क कायम गर्न सम्भव भएको जानकारी दिनुभयो ।
हालैको बाढीपहिरोमा परी पनौती नगरपालिकामा एक विदेशीसहित १९ जनाको निधन भएको छ भने अर्का एकजना बेपत्ता हुनुहुन्छ । पाँच सयभन्दा बढी घर बगाएको छ । अहिले धेरै घरवारबिहीन छन् । पशुधन क्षति भएको छ । खेतीयोग्य जमीन बाढी र पहिरोले कटान गरेको छ । नगरका १२ वटै वडामा क्षति पुगेको छ । खोला छेउका घरबस्ती खोलाले बगाएको छ भने अन्यन्त्रको पहिरोले पुरेको छ । यसकारणबाट यस वर्षको दसैँ खल्लो भएको छ । धेरै नागरिक पीडामा छन् । बाढी प्रभावितलाई पुनर्बासको छिट्टै पहल गर्दैछौँ ।
हाम्रा अधिकांश बस्ती पाखा–पखेरामा छन् । त्यहाँ बाटो पुर्याउन कठिन छ । त्यस्ता बस्तीमा सडक लैजान हुन्छ कि हुन्न भनी यकिन गर्ने जनशक्तिको अभाव छ । डोजरको सहयोगमा ट्रयाक खोलेपछि गाडी कुदाइ हाल्ने र किसानलाई दूध ओसार्न सजिलो हुन्छ भन्ने हाम्रो बुझाइ छ । नगरभित्रै पनि कतिपय स्थान बस्ती बसाल्न योग्य देखिन्न । बसिरहेको स्थानबाट टाढा लैजाँदा आर्थिकोपार्जन नभएर जोखिम भएकै ठाउँमा फर्कने सम्भावना उत्तिकै रहन्छ । घर मात्र बनाइदिएर रोजीरोटी चल्दैन । पुनर्बासमा सामाजिक र आर्थिक सम्भावनाका पाटोलाई त्यतिकै ध्यान पुर्याउनुपर्छ ।
नगर क्षेत्रभित्र भएको प्रारम्भिक क्षति यकिन हुँदैछ । नगरक्षेत्रभित्र २० वटा विद्यालय भवन र तीन वटा अस्पतालमा बाढीबाट आंशिक क्षति पुगेको छ । एकीकृत खानेपानीको सात किलोमिटर पाइप बगाएको छ । त्यसबाट धुलिखेल र बनेपा नगरपालिकासमेत प्रभावित भएको अवस्था छ । बाढीपहिरोपछि राहत वितरणमा एकद्वार प्रणाली लागू गरिएको छ । खाद्यान्न र तरकारी उत्पादनमा महत्वपूर्ण मानिएका रोशीका तटिय फाँटहरुमा कटान र डुबानबाट ठूलो नोक्सानी भएको छ । क्षतिको यकिन तथ्याङ्क आएपछि पुनःनिर्माण अघि बढाइन्छ । अहिले नगरपालिका पीडित र प्रभावित क्षेत्रका जनतालाई पूर्ववतअवस्थामा फर्काउने अभियानमा लागेको छ । राज्यले पनि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीनै तहका सरकार मिलेर काम गर्नुपर्छ ।
खानी र पानी एकै ठाउँमा चल्दैनः गोकुल बाँस्कोटा
काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपदबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि दोहोरो परेका र छरिएका योजनाका लागि विनियोजित बजेट एकीकृत गरेर स्रोतको व्यवस्थापन गर्न सुझाव दिनुभएको छ । उहाँले भन्नुभयो, “अनावश्यक दोहोरो, तेहोरो परेका र कार्यान्वयनमा जान नसक्ने योजनाका लागि हालिएको सबै बजेट कटौती गर्नुपर्छ र एकै ठाउँमा केन्द्रीकृत गर्नुपर्छ ।”
विपद्को अवस्थामा नागरिकलाई म एक्लो छैन, साथमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्नेमा जोड दिँदै पूर्वमन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपालमा घोषणा गरिएका काम हुन्छ है भन्ने सन्देश नागरिक र अन्तर्राष्ट्रिय समुदायलाई दिनुपर्छ । घोषणा गर्ने, काम नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । बजेट थुप्रिने, केही नगर्ने र अलमलमा पर्ने कुरा हुनु भएन ।”
यस पटकको बाढीपहिरोबाट ठूलो जनधनको क्षति हुनुमा मानवीय क्रियाकलाप नै बढी जिम्मेवार रहेको औँल्याउँदै नेता बाँस्कोटाले जथाभावी अतिक्रमण गरेर खोलाकै छेउ र पानीको मुहानमै खानी चलाउने कुरा सम्पूर्ण हिसाबले रोकिनुपर्ने बताउनुभयो । “यसमा कसैको दबाब र प्रभावमा पर्नु हुँदैन । नागरिकको रक्षा पहिलो सर्त हुनुपर्छ”, उहाँले भन्नुभयो ।
विपद्को अवस्थाभन्दा तीन महिनाअघि सरकारले के गर्यो भनी अहिले प्रश्न गर्नुपर्ने बेला छ । यसै साल पनि अरनिको राजमार्ग, बनेपाबाट पूर्व जाने बिपी राजमार्ग, पनौती–रोशी खण्डको माथिल्लो भागको खानी र पानीका विषय मैले बारम्बार सदनमा आवाज उठाएँ । संसदमै निरन्तर आवाज उठाउने मध्ये म एक हुँ । तर सरकारले आगो लागेपछि कुवा खन्ने काम गर्यो । बाढीपहिरो आउँछ कि आउँदैन, सरकारलाई थाहा छ कि छैन ? छ । आको पनि छ, आउँछ भन्ने पनि थाहा छ । समाधान के हो भन्ने थाहा भए पनि पूर्वतयारी गरेन । सांसदहरुले सदनमा उठाइरहेको गम्भीर मुद्दामा कुनै पूर्वसतर्कता अपनाइएन । सांसदले सदनमा सार्वजनिक खपतका लागि बोल्छन्, तिनका कुरा सुन्नु पर्दैन भन्ने सरकारको दृष्टिकोण रह्यो । तथापि, घटनापछिको उद्धारमा सरकार र नागरिक राम्रोसँगै लागेको पाइयो ।
बिपी राजमार्गलगायत ५० भन्दा बढी प्रमुख राजमार्ग क्षतिग्रस्त भए । राज्यलाई यो थाहा छ कि नेपालमा हिउँदमा चिसो तथा कहिलेकाहीँ हिमपहिरोको सिकार पनि हुन्छ । फागुन–चैतमा आगलागीका घटना व्यापक बढ्छ, गत वर्ष जङ्गल पनि सिद्धियो । यति ठूलो डढेलो लाग्यो, यसमा सरकारले के गर्यो । एकातिर वातावरण संरक्षण गर्न आवाज उठाउने, तर काम चाहिँ केही नगर्ने कुरालाई सन्तोषजनकरुपमा लिन सकिन्न । बाढीपहिरो, आगलागी, आँधीहुरी तथा हिमपात र हिमपहिरोले ल्याउने जोखिम जुनसुकै शासन व्यवस्थामा पनि पटकपटक भोगेकै विषय हो । नागरिकप्रति जवाफदेही सरकार भएका बेलामा यस्तो हुनु हुँदैनथ्यो । अहिले यति बलियो गठबन्धनको सरकार बनेको छ । योभन्दा बलियो गठबन्धन सरकार सायदै बन्ला वा नबन्ला । तर केही यस्ता मुद्दा छन्, जसप्रति राजनीतिले असर गर्न मिल्दैन ।
खानी र पानी एकै ठाउँमा चल्दैन । एकै ठाउँमा खानी र पानी चलाउने कुराले नै नदीको सतह माथि आउने, यसबाट दायाँबायाँको बस्ती र खेतीपाती सबै हान्दोरहेछ । अर्को कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । कृषि मन्त्रालय पनि उदासीन बस्न मिल्दैन । चौपायाहरु पनि मरेका छन् भने खेतीपानी पनि ध्वस्त भएका छन् । प्रभावित किसानलाई राहत दिन सरकारले युद्धस्तरमा काम गर्नुपर्छ । यो काम आउँदो वैशाख÷जेठसम्म सक्ने गरी योजना र बजेट व्यवस्था गर्नुपर्छ । समस्याहरुको यकिन गर्ने, समस्या समाधान हुने नीति लिने, योजना बनाउने र कार्यान्वयन प्रक्रियामा एकीकृत ढङ्गले काम गर्नुपर्छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *