गत असोज १० देखि १२ सम्मको अविरल वर्षासँगै बाढीपहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन पुग्यो । स्थानीयका गास–बास–कपाससँगै भौतिक संरचना पूर्णरुपमा क्षति भए । जिल्लाका १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० वटा तहमा बाढी, पहिरोमा परी ७८ जनाले ज्यान गुमाए ।
यसपटकको बाढी, पहिरोबाट काभ्रेपलाञ्चोकको पनौती नगरपालिका तथा बेचानचोक र रोशी गाउँपालिका सबैभन्दा बढी प्रभावित बने । बाढी, पहिरोमा परी जिल्लामा अझै पाँच जना बेपत्ता र ७५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिलाको मृत्यु भएको छ । जिल्लामा करिब १० हजार परिवार प्रत्यक्ष प्रभावित बनेको विपद् व्यवस्थापन समितिको अनुमान छ ।
बाढी, पहिरो र डुबानबाट बढी प्रभावितको यकिन तथ्याङ्क सार्वजनिक अझै हुन सकेको छैन । सडक, विद्युत र सञ्चार सम्पर्क हुन नसकेका कारण जिल्लाका प्रभावितको क्षतिको विवरण प्राप्त हुन नसकेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।
प्रभावित क्षेत्र विद्युत र सञ्चारविहीन अवस्थामा रहेका छन् । सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकका आठ तह छन् । घोषित तह रोशी, पनौती, बेथानचोक, तेमाल, नमोबुद्ध, मण्डनदेउपुर, चौंरीदेउराली र महाभारत गाउँपालिका रहेका छन् । जिल्लाका प्रभावित केही स्थानमा स्थानीय बेपत्ता अवस्थामै रहेका छन् । यसकारण मृतकको संख्या बढ्ने सम्भावना देखिन्छ ।
सरकारले दिने भनेको मृतक प्रतिव्यक्तिको परिवारलाई दुई लाखका दरले नगद उपलब्ध गराउने काम तीब्ररुपमा भएको छ । पहिलो चरणमा पनौती, मण्डनदेउपुर, नमोबुद्ध, बेथान्चोक र रोशी गाउँपालिकाका ५५ परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउन शुरु गरिएको ढकालले बताउनुभयो ।
यस्तै विपदबाट घर, बहाल, आवास नस्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन वा पसल व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्नसमेत नभएका वा दुबै अवस्थाका पीडित परिवारलाई प्रतिपरिवार पाँच जनासम्म सदस्य भएमा १५ हजार र बढी भएमा २० हजारका दरले नगद सहायता उपलब्ध गराउने भएको छ ।
विसं २०२८ पछिको दोस्रो विपत्ति मानिएको काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा मूल्याङ्कनसमेत गर्न कठिनाई हुने गरी क्षति भएकाले यकिन विवरण प्राप्त हुन समय लाग्ने बताइन्छ । विशेषगरी बेथान्चोक, रोशी, तेमाल, पनौती, बनेपा, धुलिखेल, मण्डनदेउपुर, नमोबुद्ध, चौंरीदेउराली, खानीखोला, भुम्लुलगायतका तहमा धेरै मानवीय तथा भौतिक क्षति भएको छ । विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि बीपी राजमार्ग नराम्ररी प्रभावित भएको छ ।
यसरी बाढीपहिरोले ध्वस्त काभ्रे जिल्लाको पूनर्निर्माणमा अब सबै तहबाट सहयोगको आवश्यकता छ । यतिबेला सबै नागरिक पीडामा रहेकाले कुनै पनि राजनीतिक भेदभाव नगरि नागरिक समाज, राजनीतिक दल, केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारका साथै सबै तहका जनप्रतिनिधी मिलेर कुन ठाउँमा के समस्या छ, सो अनुसार पूनर्निर्माणमा लाग्नै पर्छ । विगतमा भूकम्पको क्षति भएका स्थानमा जसरी पूनर्निर्माण गरियो, त्यसैगरि अब पनि सचेतना अपनाइ काम गर्न सकियो भने पीडितको आलो घाउमा मल्हम लगाउन सकिन्छ ।