बाइक नभएको केटाहरुलाई कुनै केटीहरुले हेर्दैनन् शंकर बि.सी. (मोडल तथा नृत्य निर्देशक)

प्रस्तुति ः सागर ÷ आयूषा
नेपालगञ्जमा जन्मिएका मोडल तथा नृत्य निर्देशक शंकर बि.सी. अहिलेका चर्चित तथा व्यस्त कलाकार हुन् । नेपाली लोकदोहारी क्षेत्रको म्युजिक भिडियोमा एकछत्र राज गरिरहेका शंकर बिसीले हालसम्म १२ सय म्युजिक भिडियोमा अभिनय र १६ सय भन्दा बढी म्युजिक भिडियोको नृत्य निर्देशन गरिसकेका छन् । यिनै चर्चित मोडल तथा नृत्य निर्देशक शंकर बिसीसँग मध्यमार्ग साप्ताहिकको लागि सागर÷आयूषाले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

० हाल के मा व्यस्त हुनुहुन्छ ?
म अहिले जन्मभूमि फिल्मको नृत्य निर्देशनमा व्यस्त छु । यो फिल्मको सुटिङ सिन्धुलीमा गरिसकेर अहिले ललितपुर गोदावरीमा भइरहेको छ ।
० यो कस्तो खालको फिल्म हो र यसमा को को कलाकारहरु छन् ?
यो एउटा देशभक्ति फिल्म हो र यसमा प्रायः कलाकारहरु नयाँ नै हुनुहुन्छ ।
० नयाँ कुनै म्युजिक भिडियो पनि गर्दै हुनुहुन्छ कि ?
लोकगायक बद्री पंगेनीको नयाँ आधुनिक गीतको म्युजिक भिडियो पनि बनाउँदैछु ।
० कत्तिको व्यस्त हुनुहुन्छ ?
दर्शकहरुको मायाले गर्दा व्यस्त नै छु ।
० नयाँ वर्ष कसरी मनाउनुभयो ?
सर्वप्रथम, लाखौं दर्शकहरुलाई यस मध्यमार्ग साप्ताहिक मार्फत नयाँ वर्ष २०७१ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु  । नयाँ वर्ष अघिल्लो वर्षहरुमा झैं एनटिभी नाईटमा व्यस्त भएँ ।
० तपाईले गायिका निशा सुनुवारसँग दोस्रो विवाह गर्नुभयो, किन ?
कसैले पनि रहरले दोस्रो विवाह गर्दैन । मेरो पनि त्यस्तै पर्यो र मैले दोस्रो विवाह गरें ।
० गायिका निशा सुनुवार अहिले कता व्यस्त हुनुहुन्छ ?
मेरो एउटी छोरी जन्मिएकी छिन् र अहिले उनी अमेरिकामा छिन् ।
० तपाई पनि अमेरिका जानुुहुन्छ होला नि ?
म ६ महिनापछि अमेरिका जान्छु । छोरी अमेरिकामा जन्मिएको हुनाले उनी उतैको नागरिक हुन्छिन् । आफ्नो परिवार अमेरिकामा भएपछि म पनि त अमेरिका जान्छु नि ।
० अरु कलाकारहरु जस्तै तपाई पनि अमेरिका पलायन हुने त हैन ?
म अमेरिकामा पलायन हुन्न । मेरो लागि यहिँ नै अमेरिका छ । महिनाको एक, डेढ लाख नेपालमै कमाउँछु । अमेरिका गएपनि कमाउने त्यत्ति नै छ ।
० तपाईको आम्दानी त प्रशस्तै रहेछ त ?
यो मेरो दशौं वर्षसम्म गरेको दुःख र मिहेनतको प्रतिफल हो । सानो संघर्षले म यो स्थानमा आइपुगेको होइन । मैले गरेको दुःख र संघर्षलाई दर्शकहरुले मन पराइदिनुभयो । यो सबै दर्शकहरुको कृपा र मेरो मिहिनेतको फल हो ।
० कहिल्यै सोच्नुभएको थियो कि नृत्य गरेरै यत्ति धेरै लोकप्रियता पाइन्छ भन्ने कुरा ?
चर्चा पाइन्छ भन्ने त सोचेको थिएँ तर यत्ति धेरै लोकप्रियता पाइन्छ भन्ने कुरा मैले सोचेको थिइँन ।
० तपाई नृत्यप्रति आकर्षित कहिले हुनुभयो ?
मेरो नृत्यप्रतिको आकर्षण सानैदेखिको हो । म १÷२ कक्षामा पढ्दा देखि नै नृत्य प्रतियोगितामा भाग लिन्थें । स्कुलका सरहरु पनि यो शंकर राम्रो नाच्छ भनेर मलाई हौसला दिनुहुन्थ्यो । गाउँघरमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा मात्र होइन कसैको बिहान ब्रतबन्धमा पनि गएर नाच्ने गर्थें ।
० तपाईले नृत्य प्रशिक्षण पनि लिनुभएको थियो कि ?
एसएलसी पछि प्लस टु मैले महेन्द्र बहुमुखी क्यामपस नेपालगञ्जमा गरें । नेपालगञ्जमा बसेर केही गर्न नसक्ने भएपछि म काठमाडौं आएँ । काठमाडौं आउँदा मनमा राजेश हमालको पछाडी नाच्न पाए पनि हुन्छ भन्ने सोचेको थिएँ । अहिले म त्यही राजेश हमाललाई नाच्न सिकाउँछु । मैले काठमाडौं आएर एकवर्ष नृत्य सिकें ।
० कस्ता थिए संघर्षका दिनहरु ?
गाउँबाट पढ्न काठमाडौंमा बसेको बेरोजगारको समस्या र संघर्ष धेरै हुन्छन् । घरबाट पठाएको पैसाले पढ्न र दुईछाक खान पनि पुग्दैन थियो । कोठामा लामखुट्टे भगाउन कागज बाल्थें । नृत्य सिक्नको लागि पैसा नभएर धेरै दुःख गर्नुपर्यो, धेरै नृत्य निर्देशकहरुको पछि लागेर भोकभोकै हिडियो । मलाई समूह डान्समा नाच्ने अवसर दिनुहोस् भनेर धेरै जनासँग हात जोडेपछि हिरो पछाडी नाच्ने अवसर पाएँ ।
० कतिवटा फिल्ममा हिरोको पछाडी नाच्नुभयो ?
लगभग २५ देखि ३० वटा फिल्लमा नाँचे होला ।
० गाउँघरतिर मैले पनि फिल्म खेल्या छु, भनेर हिरोसँग बसेर खिचेको फोटो पठाउनुहुन्थ्यो रे नि ?
हो । गाउँबाट के के न गर्छु भनेर काठमाडौं आएँ । यहाँ धेरै दुःख गरेपछि बल्ल हिरोको पछाडी नाच्न पाइयो । गाउँका साथीभाईहरुलाई आफ्नो प्रभाव देखाउन म त्यस्ता फोटो खिचेर पठाउँथे ।
० के त्यतिबेला हिरो हिरोइनहरुले तपाईलाई चिन्थे त ?
कहाँबाट चिन्नु कुनै हिरो हिरोइनले पनि मलाई चिन्दैन थिए ।
० अहिले त नायक नायिकाहरुलाई नृत्य सिकाउनुहुन्छ । सबैले चिन्छन् होला नि ?
अहिले त नायक नायिकाहरुले मात्र होइन मलाई लाखौं दर्शकहरुले चिन्नुहुन्छ ।
० लाखौं दर्शकहरुमाझ शंकर बिसी भनेर चिनाउने म्युजिक भिडियो कुन हो ?
सुपारी चाम्रो, लालुपाते नुग्यो भुइँतिर, नाउँ है सानू पँधेरीमा……।
० हालसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय र नृत्य निर्देशन गर्नुभयो ?
हालसम्म १२ सयभन्दा बढी म्युजिक भिडियो गरिसकेको छु । १६ सयभन्दा बढी म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेको छु भने ७५ भन्दा बढी फिल्ममा नृत्य निर्देशन गरिसकेको छु ।
० तपाईलाई लोकदोहोरी गीतको राजेश हमाल भन्छन् नि किन ?
नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका हुनाले राजेश हमाललाई महानायक भनिन्छ । मैले पनि लोकदोहोरी गीतमा अभिनय र नृत्य निर्देेशन गरेको हुनाले मलाई लोकदोहारी गीतको राजेश हमाल भनिएको होला ।
० तपाइले धेरै गीतको म्युजिक भिडियोमा अभिनय गरेको हुनाले गिनिज बुकमा नाम लेखाउँदै हुनुहुन्छ भन्ने सुनिएको थियो, के साँचो हो ?
हो । म गिनिज बुकमा नाम लेखाउने प्रक्रियामा छु । आफूले अभिनय गरेका सबै गीतहरुको म्युजिक भिडियो संकलन गर्दैछु ।
० तपाईको प्रगति देखेर गाउँमा आमाबाबु के भन्नुहुन्छ ?
म कहिलेकाहीँ गाउँमा फोन गरेर नयाँ नयाँ गीत हेर्दै हुनुहुन्छ बुबा भनेर सोध्छु । बुबा पनि टिभीमा सँधै तिम्रै मात्र गीत आउँछ भनेर भन्नुहुन्छ । मैले पाएको लोकप्रियताले आमाबुबा धेरै खुशी छन् ।
० तपाईले नृत्य नै किन रोज्नुभयो ?
सर्वप्रथम, त नृत्य मेरो रुचि तथा सोख हो । फिल्ममा नायक नायिकाको समय छोटो हुन्छ । म अहिले नृत्य पनि गर्छु । पछि गएर नृत्य गर्न छोडेर नृत्य निर्देशक तथा फिल्म निर्देशक हुनेछु ।
० नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?
पहिले पहिले धेरै हेरिन्थ्यो । अहिले व्यस्तताको कारण फुर्सदमा हेर्छु । मलाई मनपर्ने फिल्म लाहुरे हो ।
० तपाईलाई मनपर्ने नायकनायिका को को हुन् ?
मलाई नायकमा राजेश हमाल मनपर्छ । नायिकामा रेखा थापा मनपर्छ । रेखा थापालाई मैले बहिनी बनाएको छु र भाइटिका लगाएको छु ।
० तपाईलाई मनपर्ने गीत कुन हो ?
आधुनिक गीतमा प्रमोद खरेलको, मलाई जसले पनि किन रुवाउँछ… मनपर्छ भने लोकदोहोरीमा राजु परियारको, फूलमा माहुरी डुल्ने बेलामा… मनपर्छ ।
० हातमा ट्याटु खोप्नुभएको छ नि ?
समयको परिवर्तन हो । मैले पनि अरुको देखासिकी गरेको हुँ ।
० तपाईले नृत्य प्रशिक्षण केन्द्र खोल्नुभएको छ । नृत्य सिक्न आउने विद्यार्थीहरु कति छन् ?
नृत्य केन्द्र घण्टाघर नजिक श्री कृष्ण फिल्म सेन्टर भनेर नृत्य केन्द्र खोलेको छु । हालसम्म मैले १४ सय भन्दा बढी विद्यार्थीहरुलाई नृत्य सिकाइसकेको छु । मैले सिकाएका विद्यार्थीहरु स्टार भइसकेका छन् । अहिले पनि ५० जना जति विद्यार्थीहरु मसँग नृत्य सिक्दैछन् ।
० तपाईको मुस्कान त मिठा छ । यो मुस्कानमा लठ्ठिने केटीहरु कति थिए त ?
धेरै केटीहरुले प्रेम प्रस्ताव राखेका थिए । मैले जसलाई मन पराएँ उसैसँग विवाह गरें ।
० तपाईको नजरमा केटीहरु कस्ता केटाहरुलाई मन पराउँछन् होला ?
अहिले साँचो माया गर्ने केटीहरु पाउन गाह्रो छ । केटीहरु साँचो माया भन्दा पनि धनसम्पत्ति हेर्छन् । बाइक नभएको केटाहरुलाई कुनै केटीहरुले हेर्दैनन्, त्यसमा केटीहरुको मात्र दोष छैन । केटाहरु पनि आफ्नो स्वार्थ पूरा गर्न केटीहरुसँग नजिक हुने गर्दछन् ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *