बनेपामा यस वर्ष हजारौं कन्या पुजिने

बनेपा । बनेपामा १ सय २२ वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्या) लाई निरन्तरता दिइँदै आइएको छ । कन्या–पूजा बनेपा नगरको पूरानो बजारमा बर्षैपिच्छे कृष्ण जन्माष्टमीका दिन गरिन्छ ।
नेपालमा अन्य स्थानमा नगरिने यस पवित्र कार्यमा बनेपालीहरु विसं १९५९ देखि जुट्दै आएका छन् उही लगाव, उही तामझाम र उही रमझमका साथ । चार बर्ष कोभिड–१९ को महामारीका कारण कन्या–पूजा प्रभावित बन्यो । २०७९ देखि पुनः निरन्तरता दिइएको पूजामा बनेपामा मात्रै आठ हजारभन्दा बढी कन्या पुजिँदै आएका छन् ।
सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत बनेपामा कन्यालाई पूज्दै आइएको हो । यस बर्ष कृष्ण जन्माष्टमीका दिन भदौ १० गते कन्या–पूजा गरिने तयारी भइरहेको छ । रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ, यहाँ । यस मान्यताका साथ पछिल्ला बर्षदेखि काभ्रेपलाञ्चोकका विभिन्न बजार तथा बस्तीमा रजस्वला नभएका कन्यालाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको हो ।
जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिन्छ । विना टिकट स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा काभ्रेपलाञ्चोक तथा छिमेकका जिल्लाबाट बर्षेनी करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पूरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० बर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहि आएको छ । यसकारण पनि कन्यालाई पूज्नेको ठूलो भीड हुने गर्दछ ।
त्यस दिन कन्यालाई पूज्न काठमाडौं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायष्थले जानकारी दिएका छन् ।
बनेपामा हुने कन्या–पूजामा प्रतिकन्या चार सय बराबरका सामाग्री उपलब्ध गराइन्छ । गत बर्ष पनि आठ हजार कन्याका लागि करिव रु ३ करोड खर्च भएको समितिका सचिव सुरकृष्ण वैद्यले बताए । उनका अनुसार दाताको सहयोगबाहेक अन्य खर्च समितिका पदाधिकारीले नै ब्यहोर्दै आएका छन् । बनेपामा बर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर गरिने कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्षेनी करिब करिव दुई हजार कन्या सहभागी हुने गर्दछन् ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *