शान्तिप्रक्रिया सुरु भएपछि हाम्रो जलजला, दिशाबोध, नौलो बिहानी, प्रत्याक्रमण, जनजीब्रो जस्ता केही पुराना म्यागेजिन पुनप्रकाशन हुन थाले । विचारप्रधान हाम्रो जलजला २०६३ साउनमा फेरि प्रकाशित हुँदा ईश्वर ज्ञवाली प्रकाशक÷सम्पादक र प्रधान सम्पादक खेम थपलिया थिए । २०३९ मा अनेरास्ववियू (छैठौँ)बाट राजनीतिमा लागेका थपलिया २०६२ मा संयुक्त गणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय संयोजक थिए ।
युद्धकालमा यसका ६ वटा अंकमात्र प्रकाशन भए । सातौं अंक ८ हजार प्रति छापिएको थियो । यो संख्या एकवर्षसम्म रह्यो तर त्यसपछि भने ५ हजार छापिन्थ्यो । २०६८ चैत तिर ३००० प्रतिमात्र छापिएको थियो । संकटकालपछि २०५९ मा प्रकाशित हुँदा पार्टीको आर्थिक लगानी थिएन । युद्धकालमा विभिन्न व्यक्तिहरूको “हुटहुटीले” यो म्यागेजिन निस्किएपनि २०६४ माघतिर माओवादीको नेवाः राज्यसमितिको मुखपत्रको रूपमा परिणत भएको देखिन्छ । त्यसको प्रमाण सल्लाहकारमा भएको हेरफेर र संरक्षकको व्यवस्था हो । शान्तिप्रकृयापछि निस्किएका १० वटा अंकमा सल्लाहकार नराखी छापिएपछि २०६४ असारको पूर्णाङ्क १७ मा भने ईश्वरचन्द्र ज्ञवाली, महेश्वर दाहाल, एकराज भण्डारी, तारा न्यौपाने, डा. गोपीन्द्र पौडेल, रमणकुमार श्रेष्ठ, गणेश भण्डारी र ईश्वर ज्ञवाली गरी ८ जना सल्लाहकार राखिएका थिए ।
२०६४ माघका अंकमा हिसिला यमि र झक्कुप्रसाद सुवेदी यसको सल्लाहकारमा थपिएका थिए भने हितमान शाक्यलाई यसको संरक्षक बनाइएको थियो । शाक्य त्यसबेला नेवा राज्य समितिका इन्चार्ज थिए । त्यसपछि हाम्रो जलजलाले राज्यसमितिबाट आर्थिक सहयोग पाउने भयो । सम्पादक खेम थपलियाअनुसार त्यसबेला एक अंक प्रकाशित गर्न २ लाख खर्च हुन्थ्यो जसमा राज्यसमितिबाट रु ५० हजार अनि विक्री र विज्ञापनबाट १ लाख ५० हजार उठाइन्थ्यो । तर यो प्रावधान धेरै महिना रहन सकेन । त्यसपछि समितिले सम्पादकको तलब र अरु खर्चगरी मासिक करिब १५ हजार दिने भनिएको थियो ।
थपलियाका अनुसार २०६८ पुसदेखि त्यो पनि पार्टीले दिनसकेको थिएन । (थपलियाले आठ महिना देखि तलब नआएको जानकारी दिएका थिए ।) एनेकपा (माओवादी )२०६९असारमा मात्र टुक्रा भएको थियो तर वैशाखको अंकमा गैर वैद्य खेमाका व्यक्ति हिसिला यमि, झक्कु सुवेदी, गणेश भण्डारी हटाई पम्फा भुसाल, यशोदा सुवेदी र दिलिप प्रजापतिको नाम थपिएको थियो । यसले यो सिङ्गो एनेकपा (माओवादी) पार्टीको म्यागेजिनभन्दा पनि मोहन वैद्य विचार समूहको म्यागेजिन भएको पुष्टि गर्छ । यसमा सामग्री दिने व्यक्ति हेर्दा पनि शान्तिप्रकृयादेखि नै यसले यस विचारसमूहका व्यक्तिको विचारलाई बढी प्राथमिकता दिएको देखिन्छ ।
यसमा नियमितजसो लेख्नेमा ईश्वरचन्द्र ज्ञवाली, विद्यार्थी नेता लेखनाथ न्यौपाने, धर्मेन्द्र बाँस्तोला (यस खेमाका अरु म्यागेजिनमा दायित्वबोध (२०६४), नौलो किरण (२०५७) आदि हुन् ।) आदि थिए । युद्धकालमा म्यागेजिनको मुख्य आर्थिक स्रोत विक्रीको पैसा र विज्ञापन थिए तर शान्तिप्रकृयापछि भने माओवादी म्यागेजिनको पाठक घटेका छन् । पहिला माओवादी विचार बुझ्न यी म्यागेजिन वा पत्रपत्रिकामा भर पर्थे । शान्तिप्रक्रियापछि मूलधारको मिडियाले नै यस्ता सामग्री दिन थाल्यो । अर्को माओवादी म्यागेजिन पनि ह्वात्तै बढे । त्यसैले राज्यसमितिले केही रकम दिए पनि हाम्रो जलजलाको मुख्य आर्थिक स्रोत विज्ञापन नै हो । शान्तिप्रकृयापछि नै यसले विज्ञापनमा बढी ध्यान दिन थालेको थियो । “युद्धकालमा विज्ञापन कहाँबाट आउँछ भनी हामीले खोज्दा स्रोत पाउँदैनथ्र्यौ, शान्तिप्रकृयापछि स्रोत विस्तारमात्र भएन, ती स्रोतमा हाम्रो पहुँच पनि बढ्यो”, भन्छन् थपलिया । यो म्यागेजिनमा छापिएको विज्ञापनले पनि त्यो जनाउँछ ।
शान्तिप्रकृयाका सुरुका अंकमा हाम्रो जलजलालाई सरकारी विज्ञापन पाउन सजिलो थिएन । २०६३ साउनको हाम्रो जलजलामा तीनवटा पूरै पेज रङ्गिन विज्ञापन छापिएका थियो । कभरको भित्र र अन्तिम पृष्ठमा छापिएका ती विज्ञापन सबै नीजि संस्थाका थिए जुन बैंक, स्कूल र फाइनान्सका थिए । २०६३ कै पूर्णाङ्क १०, मङ्सिरमा भने नेपाल टेलिकमको पूरै पेज रङ्गिन विज्ञापन छापिएको छ । त्यसपछिको अंकमा भने काठमाडौँ नगरपालिका, वातावरण विभागको विज्ञापन पनि छापिएको छ । यसरी बिस्तारै यस म्यागेजिनमा सरकारी विज्ञापनको प्रवेश बढ्दै गएको देखिन्छ । नेपाली राजनीतिमा माओवादी पार्टीको शक्तिशाली हुँदै गएपछि यसले सरकारी विज्ञापन पाउन सकेको देखिन्छ । यसरी विज्ञापन पाउने कुरामा पार्टीको इमेज वा शक्तिको पनि भूमिका थियो । २०६४को पूणाङ्क २० मा त झन् ७ पेज रङ्गिन विज्ञापन छापेको छ । २०६४ भदौको पूणाङ्क १९ मा भने करिब ७ पेज श्याम श्वेतमा विज्ञापन छापिएको थियो । यस अंकमा सुरु र अन्तिमका चार पृष्ठ मात्र रङ्गिन भएका थिए ।
यस्तो हुनुको मुख्य कारण रङ्गिन विज्ञापन भएकाले हुनुपर्छ । यो चलन निरन्तर नै भए पनि पूणाङ्क २६ मा भने सुरुका र अन्तिमका छ पृष्ठ रङ्गिन थिए । सम्पादक खेम थपलियका अनुसार त्यसबेला विज्ञापन खोज्ने एक जना व्यक्ति नै नियुक्त गरिएको थियो । ती व्यक्ति अच्युत तिवारी हुन् । तिवारीका अनुसार “कुनै च्यानल विना विज्ञापन खोज्न सजिलो छैन” । उनले संकेत गर्न खोजेको सम्बन्धको कुरा हो । चिनजान वा कसैले नभनिदिएसम्म विज्ञापन पाउन गाह्रो थियो । विज्ञापन ऐजेन्सीबाट विज्ञापन नउठाइने भएकाले चिनजान नभई यस म्यागेजिनले विज्ञापन पाउन गाह्रो थियो । त्यसैले विज्ञापन पाउन पार्टीको च्यानल प्रयोग गरिन्थ्यो । त्यसैले पार्टीका सदस्यले पनि विज्ञापन खोज्न सघाउँथ्यो ।
यी विभिन्न च्यानल प्रयोग गरेर नै २०६७ असोज–कात्तिक पूर्णाङ्क ४९ सम्म सबैभन्दा धेरै विज्ञापन उठाइएको थियो । त्यस अंकमा १० पेज रङ्गिन विज्ञापन र ६ पेज श्वाम श्वेत विज्ञापन छापिएको थियो । यसरी ६० पृष्ठको म्यागेजिनमा १६ पेजको विज्ञापन देखिन्छ । दशैको उपलक्ष्यमा प्रकाशित यस म्यागेजिनमा पाँच वटा कलेजको, दुईवटा शैक्षिक परामर्श दिने संस्थाको, दुई सरकारी सस्थाको र अरु विज्ञापन छापिएका छन् । श्याम श्वेतमा छापिएको एउटा विज्ञापन भने सूर्य नेपालको थियो । यस विज्ञापन ब्राण्डको बारेमा हो । सूर्य नेपालले चुरोट पनि उत्पादन गर्छ । यो विज्ञापन गर्ने नयाँ तरिका हो । २०६८ चैतको अंकमा भने एउटा मादक पेय पदार्थको विज्ञापन पनि छापेको छ ।
हिमालयन डिस्टिलरीको अफिर्सस च्वाइस नामक रक्सीको विज्ञापनलाई नयाँ वर्षको शुभकामनासँग जोडेर अन्तिम पृष्ठमा छापिएको थियो । के रक्सी र चुरोटको विज्ञापन छाप्नु गैरकानुनी हो ? सम्पादक थपलिया भन्छन्, “हामीजस्तो क्रान्तिकारी वैचारिक लाइनकाले यस्तो विज्ञापन छाप्नु हुँदैन । यो नैतिक प्रश्न हो । यस्तो विज्ञापन वाध्यताले छापिएको हो ।” रक्सीको विज्ञापन त्यही अंकमा मात्र छापिएको थियो । अच्युत तिवारीका अनुसार त्यो पार्टीकै व्यक्तिको च्यानलबाट आएको थियो ।
हाम्रो जलजला शान्तिप्रकृयापछि विज्ञापन बजारमा बढी निर्भर छ । यसो भएकैले उसले मदिरा र चुरोटको विज्ञापन दिनुप¥यो भने यसले एउटा एड्भोटोरियल पनि छाप्नु प¥यो । २०६४ साउनमा रिपोर्टका रूपमा छापिएको यो सामग्री ल्होत्से बहुउद्देश्यीय प्रा.लिको बारेमा थियो (हाम्रो जलजला २०६४) । यसमा क्रिएसन एण्ड डेभलपमेन्ट प्रा.लि र ल्होत्सेले मिलेर गोङ्गवु, नयाँ बसपार्कमा बन्दै गरेको बस टर्मिनलको बारेमा क्रिएसनका नुगल वैद्य र ल्होत्सेका गोकर्णबहादुर पालको विचार राखिएको छ । यस टर्मिनलको निर्माणका बारेमा करिब २८ अंकहरूमा विज्ञापन छापेको देखिन्छ । श्याम श्वेतमा दिइएको यसको विज्ञापन पूर्णाङ्क १० देखि सुरु भएको देखिन्छ जुन ३८ सम्म नियमित थियो । सम्पादक खेम थपलियाअनुसार यो माओवादी नेता हितमान शाक्यको चिनजानमा आएको विज्ञापन हो । विज्ञापनदाताको बारेमा केही लेख्न आवश्यक देखेर त्यो रिपोर्ट लेखिएको थियो । (मार्टिन चौतारीमा प्रस्तुत कार्यपत्रमा आधारित)
क्रमशः……