- ज्ञानमणि नेपाल कालोटोपी
पनौती । काभ्रेको बनेपाबाट ६ किलोमिटर दक्षिण लाग्दा पुग्ने प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो पनौती । पनौतीको वास्तविक नाम पलाति हो । नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ति’ भनेको राख्नु वा गाड्नु हो । पछि यो नाम अपभ्रंश भएर पनौती बनेको स्थानीयहरु बताउँछन् ।
पनौती नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ । थुप्रै मौलिक संस्कृति र परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व, पूजा नियमित जसो चलिरहन्छन् । पनौती अचेल सुनसान छ । स्थानीय विकासमा त्यहाँका मूल बासिन्दाको सहभागिता न्यून छ । यस्तो समस्या आउनुको मुख्य कारण तीव्र गतिमा बढेको बसाइँसराइ हो । स्थानीय बासिन्दाले मूल घर छाडेर जाने र प्रायःले आफ्नो घर बाहिरका मानिसलाई बेच्ने क्रम बढेको छ ।
पनौती आफूसँग भएका ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाबाट पर्यटकलाई भित्र्याउन आतुर छ । पनौती अथाह सांस्कृतिक सम्पदाको धनी भए पनि यसको संरक्षण र प्रचारप्रसार हुनु पर्ने जति भएको छैन । यो क्षेत्रलाई गुमनाम हुनबाट रोक्न केही स्थानीय बासिन्दाको पहलमा राम्रा कामहरू भइरहेका छन् । यहाँ स्वदेशी तथा विदेशी पाहुनाका लागि केही क्याफे स्टेसन, नेवारी खाजाघर र ४० वटाजति होमस्टेको व्यवस्था भएको छ ।
पनौतीमा पर्यटक घुम्नका लागि त्रिवेणीघाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर रहेका छन् । पर्यटकका लागि पिकनिक स्पोर्ट पनि बनाइएको छ । हाइकिङका लागि नमोबुद्ध, बल्थली, लाकुरीभञ्ज्याङ, टिपचोकजस्ता स्थान छुट्ट्याइएका छन् । यहाँ अचम्म त के छ भने पनौतीलाई कुनै पनि भूकम्पले असर गरेको छैन । यो शहर एउटै ढुंगाको प्लेटमाथि बनेको हुनाले भूकम्पले यहाँ असर नगरेको बताइन्छ । अझ बुढापाकाहरु त यहाँ कहिले पनि भूकम्प नजाने तर्क गर्छन् । ०७२ सालको विनासकारी भूकम्पले काभ्रेका धेरैजसो भूभागमा भौतिक र मानवीय क्षति धेरै भयो तर पनौतीमा यसले खासै असर नगरेको पर्यटन व्यवसायी राजन थापाले जानकारी दिए । पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भइरहेको नगरप्रमुख रामशरण भण्डारीले बताए । उनले यहाँ पर्यटकका लागि थुप्रै सम्भावना रहेको र आगामी दिनमा यहाँ पर्यटकीय वातावरण निर्माणका लागि नगरपालिका लागिपरेको पनि जानकारी दिए ।
गत मंसिर ३० गते शनिबार यहाँ अन्नपूर्ण टाइम्स र क्रियटिभ जर्नालिस्ट समूहको संयोजनमा ‘संचारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौँमा क्रियाशील १५० जना पत्रकारहरूसँगै पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी, पर्यटन विकास केन्द्र पनौतीका अध्यक्ष पुरुषोत्तम कर्मचार्य, पर्यटन व्यवसायी राजन थापा, वडाध्यक्ष भीमप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो । उपस्थित पत्रकारहरुले वनभोजसँगै विभिन्न पर्यटकीय कार्यक्रमहरु आयोजना गरेका थिए । आगामी दिनमा पनौतीलाई चर्चाको शिखरमा पुर्याउन आआफ्नो ठाउँबाट सहयोग गर्ने उनीहरुले बताए ।
‘पनौती नकारात्मक शब्द होइन’
यसैबीच ‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तक्र्रियाका वक्ताहरूले पूण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न नहुने बताएका हुन् ।
पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले भने, ‘भारतमा राजनीतिदेखि खेल जगतसम्म पनौतीलाई कुलक्षणका रूपमा प्रयोग गर्ने गरिएको छ, जुन हाम्रा लागि आपत्तिजनक छ । नेपालमै पनि नबुझेर पनौतीलाई नकारात्मक तरिकाले प्रयोग गरिनु झन् दुःखद् पक्ष हो ।’
उनले पनौती इतिहास, संस्कृति, धर्मका दृष्टिले महत्वपूर्ण शहर रहेको बताए । घुम्न र यसको इतिहास अध्ययनका लागि विदेशीहरू धाएर आउने गरेको मेयर भण्डारीले जानकारी दिए । उनले भने, ‘१५आँै शताब्दीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीका रूपमा रहेको छ । यहाँको त्रिवेणीमा तीन नदीहरू भेट हुन्छन् । रोशी, पुण्यमाता र सबैले देख्न नसक्ने रुद्रावती मिसिन्छन् ।’
नेपालमा असाध्यै प्रचलित पर्व, योमरी पूर्णिमा पनि पनौतीबाटै सुरु भएको उनले बताए । ऐतिहासिक शहर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन स्थानीयदेखि केन्द्र सरकारबाट समेत पहल भइरहेको र चाँडै यसमा सफलता मिल्ने उनले विश्वास व्यक्त गरे । साथै आगामी दिनमा पनौतीको थप प्रचार गर्दै बढीभन्दा बढी पर्यटकमाझ यसलाई चिनाउने योजनामा काम गरिरहेको पनि मेयर भण्डारीले बताए ।
यस्तै पनौती नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भीमप्रसाद आचार्यले पनौती पर्यटकीय स्थल मात्रै नभएर प्राचिन तीर्थस्थल पनि रहेको बताए । पन्ध्रौँ, सोह्रौँ शताब्दीतिर लेखिएको मानिने काठमाडौं उपत्यकाको प्रसिद्ध तीर्थग्रन्थ नेपाल माहात्म्यअनुसार, १६६ पवित्र तीर्थस्थलहरूको सूचीमा पनौती नवौँ नम्बरमा पर्ने र यहाँ प्रत्येक १२ वर्षमा मकर मेला लाग्ने गरेको उनले जानकारी दिए ।
कार्यक्रमका वक्ता पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्मचार्यले ज्या पुन्ही, मकर मेला, योमरी पुन्ही, देवी नाच पनौतीका प्रमुख जात्राहरू रहेको बताए । यहाँ पुराना ऐतिहासिक र पुरातात्विक संरचनाहरू पनि रहेको र ‘ऐतिहासिक, पौराणिक दृष्टिले पनौती पुण्यभूमि भएकाले यो कुलक्षण नभएको कर्माचार्यको भनाइ छ । पनौती इतिहासदेखि नै आफ्नो एक विशिष्ट पहिचान बनाएको उनले बताए ।
यसैगरी स्थानीय पर्यटन व्यवसायी राजन थापाले पनौतीमा घुम्न सकिने ठाउँहरूबारे जानकारी गराए । ‘पनौतीमा पर्यटनको महत्व त छँदैछ । त्यसमा पनि साहसिक पर्यटनका लागि अति उपयुक्त ठाउँ हो । प्याराग्लाइडिङ, रक क्लाइम्बिङजस्ता खेल यहाँ गर्न सकिन्छ’, थापाले भने । कार्यक्रममा फोटोग्राफर प्रशान्त श्रेष्ठले सञ्चारकर्मीहरूले पनौतीमा गर्न सकिने गतिविधिबारे जानकारी गराएका थिए ।
पनौती नगर पुग्न काठमाडौंबाट मूलतः दुई वटा बाटोहरु छन् । साँगाबाट बनेपा हुँदै ३२ किलोमिटर र ललितपुरको लुभू–लाकुरीभञ्ज्याङ हुँदै २२ किलोमिटरको यात्रापछि पनौती पुग्न सकिन्छ । यो नगर सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक विविधताले भरिएको छ । यहाँका बाटा र पुराना गल्लीहरूमा काष्ठकला तथा प्रस्तरकला देख्न पाइन्छ । यहाँको प्रकृति पनि कम मनमोहक छैन । पर्यटनको प्रबल सम्भावना बोकेको पनौतीमा मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरू नियाल्न सकिन्छ ।