काभ्रे । काभ्रेको विकट महाभारत गाउँपालिकाको देवीटारमा रहेको इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा ठप्प भएको छ । कर्मचारी नहुँदा कात्तिक १३ गतेबाट उक्त कार्यालयबाट सबै सेवा ठप्प रहँदा स्थानीय सेवा लिनबाट बन्चित भएका छन ।
जिल्ला कै विकट उक्त क्षेत्रका नागरिकलाई सदरमुकाम धुलिखेलसम्म सेवा लिन असहज भएपछि २०७५ सालमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । उक्त कार्यालयबाट दैनिक २०÷२५ जनाले नयाँ नागरिकता तथा प्रतिलिपि लिदैँ आएका छन । कार्यालयले कात्तिक १२ गते सूचना जारी गर्दै कार्यालय प्रमुख नभएका कारण नागरिकता प्रमाण–पत्र जारी गर्ने नागरिकता प्रमाण–पत्र को प्रतिलिपि दिने कार्य अर्काे सूचना नभएका सम्मका लागि स्थगन गरिएको जनाइएको छ । निमित्त कार्यालय प्रमुख रामप्रसाद शर्माको तीन महिनाको निमित्त प्रमुखको समय सकिएपछि सेवा नै ठप्प हुँदा सेवाग्राही सेवा लिनबाट बन्चित भएका हुन ।
अधिकृतको दरबन्दी भएपनि विकटताका कारण उक्त कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले निमित्तको समय तीन/तीन महिनामा गृह मन्त्रालयबाट थप्प गर्नुपर्ने भएकाले सेवा ठप्प भएको बताउनुभयो । अधिकृतको दरबन्दी भएपनि कोही पनि जान मान्दैनन । त्यसैले निमित्तको भरमा सञ्चालन गर्नुपरेको छ, सुनुवारले भन्नुभयो, तीन÷तीन महिनामा निमित्तको समय सकिएपछि पुनः रिणु गर्न केही समय लाग्छ । प्रमुख जिल्ला अधिकारी ज्यूले गृह मन्त्रालयमा समन्वय गरिरहुनभएको उहाँले जानकारी दिनुभयो ।
विकट क्षेत्र भएपनि विकट क्षेत्रको नम्बर नआउने भएका कारण कर्मचारीको आकर्षण कम रहेको छ । यसले गर्दा तीन÷तीन महिनामा कम्तिमा १५ दिन भन्दा बढी यहाँका नागरिकले सेवाबाट यसरी नै बन्चित हुँदै आएका छन ।
यस कार्यालयबाट आर्थिक बर्ष २०७७÷०७८ मा ७५० वटा नयाँ नागरिकता प्रमाण–पत्र जारी भएको छ । त्यस्तै २०७८÷०७९ को कात्तिक १२ गते सम्म २५० जनाले नयाँ नागरिकता लिएका छन । उक्त कार्यालयमा अधिकृत, लेखापाल, अपरेटर र दुई कार्यालय सहयोगी सहित पाँच कर्मचारी रहेका छन । अधिकृत जान नमानेपछि सुब्वा कार्यालय प्रमुख रहँदै आएका छन ।