प्रदेशको नमूना शहर बनाइँदै काभ्रेको तालढुङ्गा

खानीखोला । काभ्रेको विकट क्षेत्रमा सूचीकृत खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना शहर बनाउन सुरु गरिएको छ ।
पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको हो । हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान शहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित शहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो । उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’ निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । तालढुङ्गालाई नमूना शहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’ को काम गरिरहेको बताउनुभयो ।
अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’ को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई शहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ । तालढुङ्गालाई कुन ‘मोडल’ मा शहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान शहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा शहर जोडिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *