काभ्रे । माधव नारायण भजन कृतन समूहका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । पनौती वडा न ७ का वडा सदस्य पुरुषोत्तम कर्मचार्यले भजन कृतन समूहका ६० जनालाई न्यानो कपडा गत आइतबार वितरण गर्नुभएको थियो ।
वडा सदस्य कर्मचार्यले जेष्ठ नागरिकलाई भजन कृतन गर्दा जाडो हुने भएकाले न्यानो कपडा (ज्याकेट र टोपी) वितरण गरेको जानकारी दिनुभयो । पनौती नगरपालिकामा त्रिवेणी धाम नित्य भजन, काँष्ठ कुमारी नित्य भजन, कार्य विनायक चर्तुमास भजन, सूर्य विनायक नित्य भजन, जल विनायक नित्य भजन लगायतले भजन कृतन समूह रहेका छन ।
यही पुस शुक्ल पूर्णिमाका दिन देखी माघ शुक्ल पूर्णिमाका दिनसम्म माधव नारायण जात्रा लाग्ने गरेको छ । त्यसैलाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेको कर्मचार्यले बताउनुभयो । बिहान बेलुकाको समयमा अत्याधिक चिसो हुने भएकाले भजन कृतन समूहको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको उहाँले बताउनुभयो ।
भजन कृतन समूहका संयोजक पृथ्वी नारायण सोनामले जाडोमा नियमित भजन कृतन गर्ने जेष्ठ नागरिकलाई न्यानो कपडा वितरणले सहज हुने विश्वास लिएको बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिका वडा न ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले वडाले पनि भजन कृतन समूहलाई सहयोग गर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मोतीराम तिमल्सिनाले वडा सदस्य कर्मचायले गरेको कामको प्रशंसा गर्नुहुँदै न्यानो कपडा वितरणले जेष्ठ नागरिक तथा बालबालिकालाई भजन कृतनमा सहज हुने बताउनुभयो ।