ज्ञानमणि नेपाल
काभ्रे । नेपाल विविध जातजाती र भेषभुषाका मानिसहरुको साझा घर हो । यहाँ बसोबास गर्ने सबैका आ–आफ्नै संस्कृति र परम्परा छन् । यस मध्ये एक हो माझी जाती । जसको आफ्नै पहिचान जोगाउने संस्कृति पितरापर्व अहिले पनि प्रचलनमा छ ।
धेरै झण्जट झेल्दै भएपनि उनीहरुले यस पर्वलाई जोगाइरहेका छन् । अन्य जातीहरुमा मानिस मरेपछि वार्षिक पुण्य तिथीमा श्राद्ध गर्ने चलन छ । तर माझी जातीमा मरेका आफन्तको नाममा एकपटक पितरा निकालेपछि कहिल्यै पनि वार्षिक श्राद्ध गर्नु पर्दैन । यो जातीमा परम्परादेखि नै जीवन्त रहेको यस्तो पर्वलाई नै सामान्य बुझिने भाषामा पितरापर्व भनिने गरिएको आँपचौरका रामकृष्ण माझीले बताए । यो परम्परा कहिलेदेखि र किन प्रचलनमा रहेको हो भन्ने बारेमा अधिकांशहरु अनभिज्ञ रहेपनि यसलाई जोगाउनु पर्छ भन्नेमा युवादेखि वृद्धहरु सबैको एकमत रहेको पाइएको छ ।
विभिन्न जात्रा र पर्वका आआफ्नै किंवदन्ती रहेको पाइन्छ । यस्तैमा पितरापर्वको पनि आफ्नै किंवदन्ती छ । जस अनुशार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेऊमा आइपुगेछन् । नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक जना माझीलाई आफूहरुलाई नदी पार गराइदिन अनुरोध गरेछन् । उक्त माझीले पनि नदी पार गराइदिएछ । महादेव र पार्वतीले खुशी भएर तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सोझै स्वर्ग पुग्छौ भनि वरदान दिएर गएछन् । त्यसैबेला देखि यो संस्कृतिको शुरुवात भएको स्थानीय माझीहरुले जानकारी दिए ।
देशभर छरिएर रहेका सबै ठाउँका माझीहरुले यो पर्व मनाउँदै आइरहेका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने गरिएको माझीहरुले बताए । यो उनीहरुको संस्कृति नै भएपनि सबैले मनाउनु पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य छैन ।
तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजया दशमीको भोलिपल्टसम्म जुठो बार्नु पर्छ । र विजया दशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाहरुको त्यही वर्ष एक वर्ष भरिको काम सकिन्छ ।
यो कुरा सुन्दा नेवार समुदायले गाईजात्रा पर्व मनाए जस्तै हो कि भन्ने भान हुन्छ । केही हदसम्म गाईजात्रा जस्तै भएपनि पितरापर्व फरक संस्कृति भएको आँपचौरका ध्रुर्व माझीले बताए । उनका अनुशार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधी पु¥याउनु पर्छ । मरेका पितृहरुलाई निमन्त्रणा गर्नका लागि उनीहरुलाई विभिन्न बाहानहरुमा चढेर आउनु भनि घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाज लगायतका सवारी साधनहरुको चित्र कोरिन्छ । मृतआत्मा तीनै सवारीसाधनहरुमा चढेर आउँछन् भन्ने उनीहरुको विश्वास छ । महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृती कोरिएको ठाउँमा राखिन्छ । पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरि उक्त आकृती मेटाइसक्नु पर्छ । पितरा निकाल्ने दिन मुल भोटेले यसको शुरुवात गर्छ । अरुले मुलभोटेलाई विभिन्न काममा सहयोग गर्छन् । यस जातीकै २ जना बालिकाहरुलाई बाहुनको रुपमा पुजिन्छ । बाहुनको रुपमा रहेपनि त्यस दिनभरि उनीहरुलाई अरु जातीहरुले छुन हुँदैन भन्ने मान्यता रहेको छ । यदि कसैले छोएमा तिनीहरुको मृत्युसम्म हुनसक्ने माझीहरु बताउँछन् ।
त्यसपछि मुलभोटेले अरु २ जना गुरुङ्गहरुको छनोट गर्छ । उनीहरुकै साथमा अरु पनि मृतआत्मालाई बोलाउँदै नदीसम्म जान्छन् । यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने चलन छ । बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो बकाउनका लागि विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारको सल्लाह अनुशार आत्मालाई बोलाइन्छ । यसरी बोलाउँदा मुलभोटे काप्न थाल्यो भने उसमा मृतआत्मा आएको विश्वास गरिन्छ । उक्त आत्मालाई के चाहिएको छ, अरुले भोटेलाई सोध्छन् । भोटेले भने अनुशारकै मृतआत्मालाई दान गरेपछि पुनः घरमा आएर दःुख नदिनु भनेर पुकार गरिन्छ । त्यस दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि ३ दिनदेखिको पितरा पर्वको समापन हुन्छ । मृतकहरुका सबै घरहरुमा एकैसाथ र एउटै तरिकाले यस्तो गर्नु पर्ने परम्परा छ ।
यस पर्वको खास उद्देश्य मरेका आफन्तहरुको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकाहरुलाई कुनै किसिमको विध्नबाधाहरु नपरोस् भन्नु नै रहेको ध्रुर्व माझीले बताए । यो पर्व लाग्ने दिन अन्य जातका मानिसहरुको पनि माझीगाउँमा बाक्लै उपस्थिती रहने गरेको उनको भनाइ छ । यसरी आफ्नो अस्तित्वसँग जोडिएको पितरा पर्वलाई जोगाउन जस्तोसुकै दुःख झेल्न पनि माझीहरु तयार रहने पनि उनले बताए ।
कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने माझीहरु खुशी साथ दशैं मनाउँछन् किनकी गाउँमा कसैको नाममा पनि शोक मनाउनु परेन । ०७२ सालको भूकम्पको वर्ष मण्डनदेउपुर १० को आँपचौर गाउँमा ११ वटा घरबाट पितरा निकालिएको तितो अनुभव छ यहाँका माझीहरुसँग । किनकी यो वर्ष भूकम्पमा परि गाउँमा ११ जनाको मृत्यु भएको थियो । पितरा पर्व मनाउन २० हजारदेखि ५० हजारसम्म खर्च हुन्छ । यो खर्च जसको घरबाट पितरा निकालिन्छ उसैले व्यवस्थापन गर्नुपर्ने हुन्छ । पितरा पर्व दशैं तिहार मनाए जस्तो वर्षेनी मनाईंदैन तर गाउँका सदस्यहरुको मृत्यु भएको वर्ष म यो पर्व मनाउँदिन भनेर सुख पाईंदैन, अनिवार्य नै भएको माझीहरुले बताए ।