मोतीराम तिमल्सिना
अध्यक्ष
नेपाल पत्रकार महासंघ, काभ्रे
‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्ने नेपाली उखान कुनै कुनै घटना तथा ब्यवहारमा देखिँदो रहेछ । १२ वर्षको समय त्यति लामो त हैन तर पनि मान्छे जन्मिएर बामे सर्दै उसले सिक्ने ब्यवहार, भोग्ने भोगाई र भविश्यका बारेमा बाटो कोर्ने लक्ष्य भने त्यहि समय पक्डदाँे रहेछ । त्यहि क्रममा उसले समाज, देश, राष्ट्र र आफ्नै भविश्यलाई लक्षित गर्दै कृयाकलापहरु संचालन गर्न पुग्छ । मान्छे जस्तै हो हरेक क्षेत्रका कृयाकलापहरु । जसले निरन्तर अभियान चलाईरहन्छ उ मात्रै लक्ष्यमा पुग्न सफल हुन्छ ।
विगत १२ वर्ष अघि जिल्लाबाट प्रकाशन भएको मध्यमार्ग साप्ताहिकले १२ वर्ष पुरा गरेको छ । ‘पाठकमुखी पत्रकारिता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारा लिएर प्रकाशन शुरु भएको मध्यमार्ग साप्ताहिक नाम जस्तै मध्यमार्गिकै रुपमा अगाडी बढेको छ । स्थानीय सामाग्रीहरुहरुलाई प्रमुख र विशेष प्राथमिकता दिदै आएको उक्त साप्ताहिकले पाठकहरुको रुची अनुसारका सामाग्री प्रकाशन गरेको छ । विशेषगरी केहि गरौ भन्ने अभियानमा जुटेका महिला, बालबालिका, सामाजिक अभिन्यताहरुलाई पत्रिकाले विशेष स्थान दिदै उनीहरुका अनुभुति समेटेको छ । जसका कारण समाजले लिनु पर्ने शिक्षा र पाउनु पर्ने सूचनाका बारेमा पत्रिका चुकेको छैन । सम्पादकिय पत्रिकाको आफ्नै मुटु सरह हो । सम्पादकियले पत्रिकाको लक्ष्य, उदेश्य र आगामी बाटोका बारेमा जानकारी गराउँछ । उसले चाहेको समाज र परिकल्पना सम्पादकिय स्तम्भले बोल्छ । मध्यमार्गमा प्रकाशन हुने हरेक हप्ताका सम्पादकियहरुले समाज परिवर्तन र समाजलाई दिने आर्थिक सम्वृद्धतालाई प्रष्ट बनाउँछ र थप बल पुगेको आभाष हुन्छ ।
राजाको सक्रिय शासनकालमा लोकतन्त्रको पक्षमा उभिँदा होस् वा टिके जनप्रतिनिधिहरुका विरुद्धमा उभिँदा होस् पत्रिकाका सम्पादक प्रदिप केसीले राज्यपक्षबाट कष्ट ब्यहोरेकै छन् । लोकतन्त्रको पक्षमा निरन्तर कलम चलाउँदा उनले खाएको हप्की, दप्की र खप्कीबाट उनि कहिल्यै झुकेनन् । सम्झौता गरेनन् । राजाले प्रलोभन दिएर अनेक तिकडमका बाबजुत पनि उनले लोकतन्त्रका पक्षमा चलाएको कलम र उनको लोकतन्त्र प्रतिको मिशन सफल भयो । लोकतन्त्र प्राप्तीमा संचारमाध्यम र संचारकर्मीहरुको तर्फबाट उनको पनि अधिक योगदान छ । जनतालाई सुसुचित गर्ने कुरामा मध्यमार्ग त्यो समयमा चुकेको छैन । तर कहिलेकाँहि हुने जिल्लाका राष्ट्रिय घटनामा भने मध्यमार्ग साप्ताहिले चाहेर हो वा नचाहेर पर्याप्त स्थान दिन सकेको छैन । आगामी दिनमा त्यस्ता विषयहरुलाई प्रमुख स्थान दिएर जनतालाई सुसुचित बनाउने कुरामा पत्रिका चुक्ने छैन ।
नयाँ संरचना अनुसार स्थानीय तहको संख्या १३ पुगेको छ । हिजोका गाउँ विकास समिति र नगरपालिका अब रहेनन् । जनप्रतिनिधिहरुले काम शुरु गरी बजेट, नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिसकेको अवस्था छ । पत्रिकाको मिशन हिजो र आज बदलिनु पर्छ । पाठकको रुची अनुसारका सामाग्री प्रकाशन भए मात्र पत्रिकाको साख र इज्जत बढ्नेछ । सूचना प्रविधिको युगमा पत्रिका पढेरै धारणा बनाउने पाठकहरुको संख्या कम हुन थालेको छ । हामीले चाहे जस्तो पाठकहरुको रुची अनुसारका सामाग्री प्रकाशन गर्न सकेनौ भने अब प्रिन्ट मिडियाको भविश्य कम हुँदै जान्छ । त्यसमा पनि साप्ताहिक पत्रिकाहरुको भविश्य त अझै खतरामा छ । राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुले जिल्लाको बजार ओगटेको छ । जिल्लाकै विभिन्न बस्ति तथा एउटा तहमा मात्रै भए पनि पत्रिका निर्वाध संचालन हुने, पाठकहरुले खोजी खोजी अध्ययन गर्ने खालका सामाग्रीहरु प्रकाशन गर्नु जरुरी छ । राजधानीका पत्रिकालाई १० रुपैया तिनर्जु र जिल्लाका पत्रिकाहरुलाई ५ रुपैया तिर्न पनि पाठकहरुको कञ्जुस्याई छ । त्यस्तो अवस्थामा पत्रिकालाई कसरी पाठकमुखी बनाउने भन्ने सोच पत्रिकाको सिङ्गो टिमले सोच्नु जरुरी छ । त्यसो गरिएन भने अबका दिनमा पत्रिकाहरुलाई निरन्तरता दिन साँच्चै कठिन हुन्छ ।
मध्यमार्ग साप्ताहिकले १३ वर्ष प्रवेश गरेको अवसरमा शुभकामना दिईरहँदा केहि कुराहरु तत्काल सुधार्नु आवश्यक छ । पत्रिकाको साजसज्जासँगै विज्ञापनमुखी समाचारलाई कम प्राथमिकता दिनु राम्रो हुन्छ । यदि त्यस्ता समाचार प्रकाशन गर्नै पर्ने अवस्थामा त्यसलाई कतै कुनामा प्रायोजित सामाग्री भन्ने कुरा लेख्नु सान्र्दभिक हुन जान्छ । जिल्लामा शुरु भएको ट्रेनलाई मध्यमार्गले समात्नु हुँदैन । अघिल्लो साता समाचार लेखेर पछिल्लो साता विज्ञापन प्रकाशन गर्ने चलन हटाउनु पर्छ । राम्रो समाचार भन्दा नराम्रो समाचार लेखेर विज्ञापन माग्ने काम पत्रिकाले हिजो पनि गरेको देखिएको छैन र भोली पनि गर्ने छैन । पत्रकार आचार संहिता कार्यान्वयन गर्दै श्रमजीवी पत्रकारहरुको हक हितका लागि पत्रिकाले राज्यले तोकेका ऐन कानुनहरु पालना गर्नेछ । कपि पेष्ट पत्रकारिताबाट पत्रिकालाई मुक्त गराउन पूर्ण श्रमजिवी पत्रकाहरुलाई प्रोत्साहन दिनु पर्छ । आफुलाई मन लाग्दा मात्रै राम्रो, मन परेको मान्छे मात्रै राम्रो भन्ने सोचबाट पत्रिका, पत्रकार बदलिनु पर्छ । हरेक अंकहरुमा पाठकहरुले यसले चाँहि नयाँ खुराक दिन्छ भन्ने काउकुती लगाउन मध्यमार्ग साप्ताहिक सफल हुनु पर्छ । पत्रिकाहरुको भिडमा छुट्टै नाम कमाउन सफल मध्यमार्गका आगामी दिन सहज हुँदा हुँदै बदलिँदो परिस्थितीका कारण भएका चुनौतीहरुको सामना गर्न सक्ने खालको योजना बनाउन आवश्यक छ ।
पत्रिकामा पाठकहरुले नियमत पढ्ने खालका स्तम्भ छैनन । प्रकाशन भएका लेख सामाग्री सम्पादन गरिएका छैनन । समाचारमा भाषा शैली अलिक पाठकले बुझ्ने खालका छैनन । शुद्धाशुद्धी हेरिनु पर्छ । पत्रिकाको आय श्रोत हुने विज्ञापनको डिजाईन पनि आर्कषक बनाउनु पर्छ । जिल्लाका विज्ञापनहरु मात्रै होईन राजधानीबाट आउने ठुला ठुला कम्पनीका विज्ञापनहरुलाई समेत प्रकाशन गर्ने खालको संयन्त्र र पत्रिकाको आर्कषक बनाउनु पर्छ । हडबडाएर समाचार प्रकाशन गर्ने र पत्रिकालाई पाठकहरुले नाक खुम्च्याउने खालका सामाग्रीहरुलाई स्थान दिईनु हुँदैन । थुप्रै आरोह अवरोहका बाबजुत निरन्तर १२ वर्षसम्म काभ्रेली माटोमा मध्यमार्ग साप्ताहिले पु¥याएको योगदानको जति धन्यवाद दिईरहे पनि कमी हुन्छ । जनतालाई सुसुचित गर्ने क्रममा कुनै दल, भाषा, जाति, क्षेत्र विशेष नभई सबैको आँखा बन्न पुगोस् । मध्यमार्ग साप्ताहिकलाई १३ वर्ष प्रवेशको अवसरमा थप सफलताको शुभकामना ब्यक्त गर्दछु ।