पर्यटकीय ठाउँहरुको प्रचारप्रसारमा जोड दिन जरुरी

नेपालमा हजारौं पर्यटकीय ठाउँहरु छन् तर तिनीहरुको प्रचारप्रसारमा ध्यान दिइएको पइँदैन । यस्तै मध्ये एक हो नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–८ काफलडाँडास्थित (सानो र ठूलो छहरे) लौके झरना । पछिल्ला दिनहरुमा यसको अवलोकनका लागि राजधानी काठमाडौं र नुवाकोटका आन्तरिक पर्यटकको घुईंचो बढेको छ ।
यहाँ झरना हेर्नकै लागि जानेहरुको भीड लाग्ने गरेको हो । पर्यटकीय गन्तव्य यो झरना शिवपुरी र ककनी गाउँपालिकाको सिमानामा रहेको छ । यसभेगमा सानाठूला गरि दर्जनौं झरना रहेका भए पनि पछिल्लो एक दशकयता लौके झरनाले धेरैको ध्यान खिचेको छ ।
काठमाडौंको टोखा हुँदै शिवपुरी राष्ट्रिय निकुञ्ज पुगेपछि करिब १ घण्टाको बस यात्रा र एक घण्टाको पैदल यात्रापछि पुगिने लौके झरना नुवाकोटको साबिक थानापति गाविसमा रहेको छ । हिजोआज विशेषगरि शनिबार र अन्य सार्वजनिक बिदाको दिन यहाँ आन्तरिक पर्यटकको निकै नै भीड हुने गरेको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो । गएको एक वर्षयता यहाँ वडा र पालिकाले करिब १९ लाख खर्च गरेर सिंढी निर्माणको काम गरेको छ । यसले त्यहाँ आउनेजानेलाई केही सहज भएको उहाँ बताउनुहुन्छ ।
एक सय ३८ फिट अग्लो यो झरना नजिकै अर्को सानो झरना पनि छ । शिवपुरीको जंगलको बीचमा रहेको यो झरना बाह्रै महिना एउटै गतिमा झरिरहेको छ । यहाँ पुग्दा थकाइले आलस्य भएका पर्यटकलाई यहाँको रमणीय दृष्यले सबै थकाइ मेट्दै आनन्दित बनाउँछ । राजधानीको कोलाहलयुक्त वातावरणबाट दिक्क भएका मानिसहरुलाई घुम्नका लागि नजिकै रहेको उपयुक्त गन्तव्य बनेको लौके झरना लौका आकारमा झरिरहेको छ । प्रकृतिको अनुपम नमुना यो झरना आफ्नो गतिमा निरन्तर बगिरहेको भए पनि यहाँबाट लिनु पर्ने जति फाइदा लिन भने सकिएको छैन । विगतमा प्रचारप्रसारको अभावले यहाँ पर्यटकहरु पुग्न नसकेपनि अहिले भने विस्तारै चहलपहल बढेको छ । सम्पादक समाज नेपालले गत यहाँ ‘जलवायु परिवर्तनमा सचेत बनौं’ भन्ने नाराका साथ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । विभिन्न संचारमाध्यममा कार्यरत सम्पादक र पत्रकारहरुको पदयात्रा तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो । काठमाडौँ र नुवाकोटको सिमाना गुर्जे भन्ज्याङबाट पश्चिमपट्टि पर्ने सो झरनाबाट झरेको पानीको प्रभाव टाढासम्म पर्ने गरेको छ । पानीको फोहोराले यहाँ अधिकांश समय इन्द्रधनुष परेको देखिन्छ । शिवपुरी गाउँपालिकामा आकार र पानीको परिमाणका हिसाबले ठूला झरनामा लौके, लप्से, चिलाउने, लक्षिनेश्वरी र छुङछुङ रहेका छन् । यस्तै नुवाकोट जाने बाटोहरुमा ससाना थुप्रै झरना पनि रहेका छन् । टाढा जान नसक्ने र जान नचाहने आन्तरिक पर्यटकहरू त्रिशूली–छहरे काठमाडौँ सडकका छेउछाउमा रहेका ससाना झरनामा पुगेर मनोरञ्जन लिने गर्छन् ।
यस्ता ठाउँहरुको उचित प्रचार नहुँदा र पर्यटकका लागि वातावरण नहुँदा धेरै पर्यटकीय गन्तव्यहरु अहिले ओझेलमा मात्र परेका छैनन्, यसबाट राज्यले लिनुपर्ने जति फाइदा लिन सकेको छैन । यतातिर अब स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन जरुरी छ ।

content advertise ment

Recommended For You

About the Author: Pradip Pradip

Leave a Reply

Your email address will not be published. Required fields are marked *