काभ्रे जिल्ला हरेक दृष्टिले महत्वपूर्ण छ । यहाँका हरेक पालिकाहरुमा केही न केही सम्भावना पनि छन् । कतै कृषि, कतै पर्यटकीय सम्भावना छ त कतै धार्मिक र अन्य महत्वले पनि धेरै सम्भावना देखिन्छ । तर कुनै पनि क्षेत्रमा जिल्लाले आफ्नो भूमिका देखाउन सकेको छैन । यसमा विशेषगरि पालिकाहरुले भूमिका खेल्न नसकेको हो की भनेर अनुमान लगाउन गाह्रो छैन ।
बनेपाबाट ६ किलोमिटर दक्षिण लाग्दा पुग्ने प्रकृति र संस्कृतिले सजिएको सुन्दर नगर हो पनौती । पनौतीको वास्तविक नाम पलाती हो । नेपाल भाषामा ‘प’ भनेको बाँस र ‘ती’ भनेको राख्नु वा गाड्नु हो । पछि यो नाम अपभ्रंश भएर पनौती बनेको हो ।
पनौती नगरपालिकाले ऐतिहासिक, पुरातात्विक, प्राचिन एवं धार्मिक दृष्टिले समेत अत्यन्त महत्व राख्दछ । थुप्रै मौलिक संस्कृति र परम्पराको धनी पनौतीमा विभिन्न जात्रा, पर्व, पूजा नियमितजसो चलिरहन्छन् । तर पनि पनौती अचेल सुनसान छ । स्थानीय विकासमा त्यहाँका मूल बासिन्दाको सहभागिता न्यून छ । यस्तो समस्या आउनुको मुख्य कारण तीव्रगतिमा बढेको बसाइँसराइ हो । यहाँ स्थानीय बासिन्दाले मूल घर छाडेर जाने र प्रायःले आफ्नो घर बाहिरका मानिसलाई बेच्ने क्रम बढेको छ ।
पनौती आफूसँग भएका ऐतिहासिक, पारम्परिक र मौलिक सम्पदाबाट पर्यटकलाई भित्र्याउन आतुर छ । पनौती अथाह सांस्कृतिक सम्पदाको धनी भए पनि यसको संरक्षण र प्रचारप्रसार हुनु पर्ने जति भएको छैन । यो क्षेत्रलाई गुमनाम हुनबाट रोक्न केही स्थानीय बासिन्दाको पहलमा राम्रा कामहरू भने भइरहेका छन् । यहाँ स्वदेशी तथा विदेशी पाहुनाका लागि केही क्याफे स्टेसन, रिसोर्ट, नेवारी खाजाघर र ४० वटाजति होमस्टेको व्यवस्था छ ।
पनौतीमा पर्यटक घुम्नका लागि त्रिवेणीघाट, इन्द्रेश्वर सम्पदा क्षेत्र, धनेश्वर मन्दिर, भालेश्वर, गोरखनाथ मन्दिर रहेका छन् । पर्यटकका लागि पिकनिक स्पोर्ट पनि बनाइएको छ । हाइकिङका लागि नमोबुद्ध, बल्थली, लाकुरीभञ्ज्याङ, टिपचोकजस्ता स्थान छुट्याइएका छन् । यहाँ अचम्म त के छ भने पनौतीलाई कुनै पनि भूकम्पले असर गरेको छैन । यो शहर एउटै ढुंगाको प्लेटमाथि बनेको हुनाले भूकम्पले यहाँ असर नगरेको बताइन्छ । अझ बुढापाकाहरु त यहाँ कहिले पनि भूकम्प नजाने तर्क गर्छन् । ०७२ सालको विनासकारी भूकम्पले काभ्रेका धेरैजसो भूभागमा भौतिक र मानवीय क्षति धेरै भयो तर पनौतीमा यसले खासै असर गरेन । यो त पनौतीको कुरा भयो । जिल्लामा रहेका अन्य पालिकाहरु बनेपा, धुलिखेल, नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर, रोशी, महाभारत, खानीखोला, वेथानचोक, भुम्लु, चौंरीदेउराली र तेमालको आआफ्नै महत्व छ । यी सबै पालिकाहरुमा भएका स्थानीय पर्यटकीय स्थानहरुको पहिचान गरि त्यहाँ आवश्यक पूर्वाधार बनाउन सके यसले समग्र जिल्लालाई देश विदेशमा चिनाउन सहज हुने पक्का छ । अब सबैले यसतर्फ ध्यान दिनु पर्ने देखिन्छ ।