-भरतराज महत
परिचय ः
पनौती उपत्यकाको दक्षिण–पूर्वी भागमा उत्तरबाट दक्षिणतर्फ गुलेलीको आकारमा फैलिएको सानो बजारलाई अहिलेसम्म खोपासीको नामले चिन्ने गरिन्छ । यस ठाउँमा आइपुग्न पनौती बसपार्कबाट ३ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ । यो ठाउँ पृथ्वीको मानचित्रमा २७ डिग्री ३३ मिनेट ३० सेकेन्ड उत्तर ८५ डिग्री २३ मिनेट १५ सेकेन्ड पूर्व अक्षांशमा पर्छ । खोपासी समुद्री सतहबाट १४४४ मिटर उचाइमा रहेको छ । देशमा पञ्चायती व्यवस्था लागू हुनुपूर्व खोपासीमा पञ्चायत गठन भएको थियो । त्यति बेलाको खोपासी पञ्चायतको सिमाना पूर्वमा चरङ्गेफेदी, पश्चिममा भारदेउ जङ्गलको पानीढलो, उत्तरमा रोसी खोला, दक्षिणमा बागमती खोलासम्म थियो । पञ्चायतको नाम खोपासी पञ्चायत थियो । यसको कार्यालय खोपासीमा नै थियो । तर यो धेरै दिन चलेन । पञ्चायती कालमा गठन भएको पञ्चायती सिमाना पनि हेरफेर भइ नै रह्यो । कहिले बल्थली पञ्चायतलाई खोपासी पञ्चायतमा मिलाएर खोपासी पञ्चायतको रोसी खोला पूर्वका पाँचवटा वडा सुन्थान पञ्चायतमा मिलाइयो । पछि फेरि बल्थली पञ्चायत पूर्ववत् अवस्थामा गयो । खोपासीबाट छुट्टिएका पाँचवटा वडा पनि खोपासीमा नै समावेश भए । २०४६ सालमा प्रजातन्त्र आएपछि पञ्चायतको नाम परिवर्तन भई खोपासी गाउँ विकास भयो । यो पनि २०४९ जेठ १९ बाट २०५३ माघ १७ सम्म एक कार्यकाल मात्र रहन गयो । माघ १८ गतेबाट नगरपालिका घोषणा भयो र नगरमा समावेश भएपछि खोपासी गाउँ विकास १२ र १३ नम्बर वडामा विभाजन भयो, खोपासी १२ मा र पस्थली १३ मा प¥यो । अहिले यसको सिमाना (१२ को सिमाना) पूर्वमा रोसी खोला, पश्चिममा चलाल गणेशस्थान गा.वि.स., उत्तरमा १० नम्बर वडा, दक्षिणमा सलान्दु खोला पर्छन् । खोपासीमा प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रूपले मानवबस्ती बस्तै आएको अनुमान गरिएको छ ।
प्राचीनकालमा खोपासी ः
खोपासीमा प्राचीन कालतिर कुप्पा + आसक = कुप्पासक — कपासको धागो काटी कपडा बुन्नेहरू (जुलाहाहरू) बस्दथे । कपासको कपडा बुन्ने अर्थात् जुलाहाहरूलाई संस्कृतमा कुप्पासक भन्ने गरिन्छ । कुप्पासकहरू बसेका ठाउँ भएकाले खोपासीलाई प्राचीन कालमा कुप्र्पासी भन्ने गरिएको पाइन्छ ।
द्वापरयुगमा खोपासी ः
द्वापरयुगमा आइपुग्दा पाञ्चाल देश भनियो । पाञ्चाल देशमा कुरुवंशीहरूको राज्य भएकाले खोपासीलाई कुरुवासी भनियो । त्रेताका अहल्या, तारा र मन्दोदरी, द्वापरका द्रौपदी र कुन्ती, यी पञ्चकन्या हुन्् । खोपासीमा यिनीहरूको नामसँग जोडिएको द्रौपदा देवीस्थान, पञ्चकन्या कुवा, पञ्चकन्या डाँडाहरू छन् । द्रौपदी विराट राजाकहाँ गुप्तबास बस्ता द्रौपदीको नाम सैरन्ध्री थियो । सैरन्ध्री कीचकले लखेट्ता खोलैखोला भागेकी थिइन् । सैरन्ध्री भागेको खोला भएकाले त्यो खोलाको नाम द्वापरमा सैरन्ध्री खोला भन्ने गरिएको थियो र पछि अपभ्रंश भएर सलान्दु भनिएको हो भन्ने किंवदन्तीहरू पनि यस क्षेत्रमा रहेका छन् । अझ खोपासी क्षेत्रमा नै कीचक मारेको गरो र कीचक पोलेको घाट भन्ने किंवदन्तीहरू पनि बूढापाकाहरू भन्दै आएका छन् । खोपासीमा रहेका द्वापरयुगसँग जोडिएका किंवदन्तीहरू सही सावित भएमा यस ठाउँमा द्वापरयुगमा नै मानवसभ्यताको निकै विकास भइसकेको मान्न सकिन्छ ।
लिच्छविकालमा खोपासी ः
खोपासीका बासिन्दाहरू सबैले देख्तै आएको मयलबोटस्थित श्री गोदा रङ्गनाथको मन्दिर परिसरमा एउटा धेरै पुरानो शिलालेख छ । त्यसमा संस्कृत लिपिहरू कुँदिएका छन् । अब त ती लिपिहरू न कसैले राम्रोसँग पढ्न सक्छन् न त त्यसमा कुँदिएका अक्षरहरू बुझ्न सकिन्छ । १३५३ वर्षसम्म त त्यो शिला बलराम गुरागाईंको घरअगाडि अहिले गणेश मन्दिर भएको ठाउँमा खुला आकाशमुनि घामपानी सहँदै बसिरह्यो । २००८ सालमा मयलबोट पुग्यो । अहिले त्यसलाई पुरातàव विभागले व्यवस्थित ढङ्गबाट मयलबोटस्थित श्री गोदा रङ्गनाथको मन्दिरको प्राङ्गणमा राखिदिएको छ । त्यो शिला सम्वत् ५२० (वि. सं. ६५५) मा अंशुवर्माले राजा शिवदेब प्रथमसँग स्वीकृति लिएर राखेका थिए । अहिले त्यो शिलाले १४१४ वर्ष पार गरेको छ । यसबाट अंशुवर्माले खोपासीका जनतालाई आफ्नै अन्तर्गत राखेको पाइन्छ । शिलामा द्वारोदघाटन र कैलाश यात्राका लागि भनेर कमेरो मागिएको छ । इतिहासविद्हरूका अनुसार लिच्छवि राजाहरूको दरबार पहिले नै गोकर्ण, हाँडीगाउँतिर बनिसकेको हुनाले पुराना दरबारको उद्घाटन गर्न परेनुहोला । अंशुवर्माले अर्को दरबार काठमाडौँमा आफ्ना लागि बनाएका भए पनि उद्घाटन गर्न कमेरो खोपासीबाट लानुभन्दा काठमाडौँतिरै पाइने भएकोले यहाँबाट लानु आवश्यक परेन होला । अंशुवर्माले सम्वत ५२० वि. सं. ६५५ मा खोपासीका जनताको सहयोग लिएर खोपासीमा आफ्ना लागि दरबार बनाएका थिए र त्यही दरबार निर्माण गर्दा खोपासीका जनताले सहयोग गरेबापत उनीहरूलाई प्रोत्साहन गर्न राजामा जाहेर गरी खोपासीका जनताको हेरविचार आफैँले गर्ने गरी शिलापत्र राखिएको हो कि भन्ने आधार देखिन्छ । अंशुवर्माले आफ्नी छोरी भृकुटीलाई खोपासीकै दरबारबाट बिदाइ गरेका थिए भन्ने चर्चा पुर्खौँदेखि खोपासीमा चल्दै आएको छ । वास्तवमा शिलापत्रमा लेखिएका कुरा र पुर्खौंदेखि चल्दै आएका किंवदन्तीहरूको खोज–अनुसन्धान हुने हो भने अंशुवर्माको दरबार खोपासीमा भएको पुष्ट्याइँ हुन सक्ने आधार देखिन्छ । खोपासीको अभिलेखमा प्रजालाई अंशुवर्माका निमित्त कैलाशकुट भवन निर्माणमा सहायता गर्ने आज्ञा दिँंदै शिवदेवले अबउप्रान्त अड्डा–अदालतले पस्न नपाउने सबै काम केवल अंशुवर्माको कैलाशकुट भवनबाटै हुने कुरा लेखेर अंशुबर्मालाई राज्यको सर्वेसर्वा र आफूलाई नाम मात्रको राजा बनाएको थाहा हुन्छ । नेपालको ऐतिहासिक रूपरेखा ९३ मा बालचन्द्र शर्माको लेखाइबाट पनि अंशुवर्माको कैलाशकुट भवन खोपासीमा नै बनेको पुष्ट्याइँ हुन आउँछ । बलराम गुरागाईको घरपछाडि भेट्टाइएको इनार, सडक निर्माण गर्दा देउजीमा भेट्टिएको लिच्छविकालीन मुद्रा, खबटा आदिले पनि खोपासीमा लिच्छविकालतिरै मानवबस्ती विस्तार भइसकेको रहेछ भन्ने देखिन्छ । करिब १०० वर्षजति पहिलेसम्म खोपासीका ठाउँठाउँमा लिच्छविकालीन गाडधन पाइन्छ भनेर खाडलहरू खन्ने चलन थियो रे । एक पटकको कुरा हो, एकजना महिलाले राति आफ्नो खेतमा खाल्डो खन्न लगाइछन्, खाल्डो निकै गहिरो भएपछि एउटा ठूलो ढुङ्गा भेटिँदा ती महिला खुसी भएर ‘अब ओडी रामपुरी’ भनेकी थिइन् रे । अरू खन्दै जाँदा आधा रातमा पनौती इन्द्रेश्वरको घन्ट बजेछ अनि डरले खाल्डो खन्न छोड्नुपरेको हुँदा यहाँ अझै पनि उपमाका रूपमा ठट्टा गर्दा ‘अब ओडी रामपुरी’ भन्दछन् ।
मल्लकालीन खोपासी ः
खोपासी पाँगेटोलमा कुनै व्यक्तिले कुनै समयमा एउटा भव्य कलात्मक घर निर्माण गरेका रहेछन् । त्यो घर मैले देख्ता दुईतले तीनवटा बुर्जा भएको थियो । घरको वरिपरि विभिन्न जातजातिका फलफूलले भरिभराउ बगैंचा थियो । घर–कम्पाउन्डभित्र जाने ठूलो ढोका थियो । घर बान्की परेको थियो । बाँकीको उत्तरपट्टिको भागमा फलैंचा थियो । दक्षिणपट्टिको भागमा एउटा कोठामा नरसिंहको मन्दिर थियो । यो मन्दिरमा पुजारीका अनुसार अनेकौँ मूल्यवान् सामग्रीहरू थिए । एउटा घ्याम्पो झुन्ड्याएर राखिएको थियो । त्यो घ्याम्पोमा के राखेको थियो, महन्तबाहेक अरू कसैलाई पनि थाहा थिएन भनिन्छ । नरसिंहको मन्दिर भएकाले यो मठलाई नरसिंह मठ भन्ने गरिएको थियो । खोपासी फाँटदेखि पाटीखर्कको केही भागसम्म मठको विर्ता थियो । विर्ताको निकै ठूलो आयस्ता थियो । विर्ता कमाउने मोहीहरूले मठको काममा गुहार जानुपर्ने चलन थियो । मठ सफासुग्घर गर्न पनि मोहीहरू जाने चलन थियो । नरसिंह मन्दिरमा पूजा गर्ने पुजारी नियुक्त गरेका थिए । मठको कुनै भागमा कम्पाउन्डभित्रै एउटा शिलापत्र थियो रे । सायद त्यो शिलापत्रमा घर निर्माण गर्ने व्यक्तिको नाम, घरको निर्माणमिति र उद्देश्य, नरसिंहको थपना, त्यसको विर्ता आदिका बारेमा लेखिएको थियो होला । त्यो शिलापत्र र कागजपत्रसमेत कसैले पाँचकन्याको ठूलो दहमा कुनै दिन हालिदियो भन्ने सुन्नमा आएको थियो । अहिले त्यहाँ शिलापत्र, कागजपत्र केही पनि छैन । बाँकी रहेका कागजपत्र पनि नरबहादुर भारतीका छोरा रामचन्द्र भारतीले हराए भनिएको छ । नरसिंह मठ ठेक्काबाट पनि केही वर्ष चलाएको रहेछ । कहिले साँगाका नेवार कम्युनिटीका व्यक्तिले चलाएछन्, कहिले कृपासुर महतले पनि चलाएका रहेछन् । तर नरबहादुर भारतीका तीन पुस्ताले त्यो मठ चलाए । नरबहादुर भारतीले चलाउँदा श्रीपञ्चमी र नागपञ्चमीका दिन रुद्री गर्ने र साधुसन्तलाई भण्डारा ख्वाउने चलन थियो । त्यसमा साक्षीका रूपमा पस्थलीका महतहरूलाई बोलाउने चलन थियो । महतलाई बोलाउनुपर्ने कारणचाहिँ के थियो थाहा भएन । पछि पनौती जलविद्युत आयोजनाले विर्ताको केही भाग अधिकरण गरेपछि भण्डारा गर्ने चलन छाडिदिए, दुःखका साथ भन्नुपर्छ । खोपासीको यो ऐतिहासिक मठलाई कोही लिच्छविकालीन भन्छन्, कोही मल्लकालीन भन्छन् । जे होस्, यसले खोपासीको इतिहास बोकेको थियो । यो ऐतिहासिक मठमन्दिर र विर्ताका बारेमा कसैले इतिहासका पानामा उतारे कि उतारेनन्, थाहा छैन । जे होस्, इतिहास बोकेको नरसिंहमठ धराशायी भएर लोप भएकोमा यहाँका जनताले खेद प्रकट गर्दै आएका छन् । यसै मठमा बसेर नरबहादुर भारतीले हस्तकला, रसायन औषधि र साहित्यमा पनि काम गरेका थिए र त्रिभुवन प्रज्ञापुरस्कार पाएका थिए ।
खोपासीको धार्मिक तथा सांस्कृतिक अवस्था
खोपासीमा द्रौपदामन्दिर, श्री गोदा रङ्गनाथमन्दिर, फड्केश्वर महादेवस्थान, दाङ्घाटेश्वर महादेवस्थान, भीमसेनस्थान (पहिले श्रीराम मा.वि. को कम्पाउन्डभित्र थियो, स्कुल विस्तार गर्दा माथ्लो गाउँबाट झर्ने बाटोको उत्तरपट्टि सारिएको), ललितादेवीस्थान, कमलादेवीस्थान, हनुमानस्थान, नारायणस्थान, पशुपतिमन्दिर, फूलचोकीमन्दिर, नरसिंहमन्दिर, गणेशस्थानहरू छन् । खोपासीमा वैष्णव, प्रणामी, हिन्दू सनातनी (शैव), बुद्धिष्ट, साइबाबा, बालयोगेश्वर, ओम् शान्ति र क्रिस्चियन धर्मका समेत सरसङ्गतस्थल र सम्प्रदाय छन् । खोपासीमा आ–आफ्ना धर्म र परम्पराअनुसार शिवरात्री, कृष्णाष्टमी, श्रीपञ्चमी, नागपञ्चमी, दसैँ, तिहार, रक्षाबन्धन, साउनेसङ्क्रान्ति, माघेसङ्क्रान्ति, चण्डिपूर्णिमा, गैँडूपूर्णिमा जस्ता थुप्रै चाडपर्वहरू पनि मान्दै आएका छन् । अरू सम्प्रदायहरूले पनि आ–आफ्ना धर्म र रीतिअनुसारका चाडपर्वहरू मनाउँदै आएका छन् । खोपासीमा मनाइने जात्राहरूमा गणेशजात्रा, भीमसेनजात्रा, नारायणजात्रा, कृष्णजात्रा, श्रीरङ्ग भगवान् परिक्रमा, गाईजात्रा जस्ता आदि रहेका छन् ।
जाति, भाषा र धर्मगत बनावट ः
खोपासीको भौगोलिक बनावटअनुसार माथितिर ब्राह्मण, क्षत्री, पहरीहरूको बस्ती छ, तलतिरको सडक किनाराको आसपासमा नेवार, ब्राह्मण, क्षत्री, पहरीहरूको समेत बस्ती भए पनि नेवार समुदायको बहुलता छ । तामाङ, दमाइ, कामी जस्ता अरू जातजातिसमेतको बस्ती भएकाले खोपासीलाई बहुजातीय समागमस्थल मान्नुपर्ने हुन्छ । धर्मगत हिसाबले खोपासीमा शैव र बुद्धिष्ट नै मुख्य हुन् । हिन्दूधर्मको बाहुल्य भए पनि धार्मिक सहिष्णुता खोपासीको विशेषता रहँदै आएको छ । खोपासीमा राष्ट्रभाषा नेपालीको बाहुल्य भए पनि नेवार र तामाङ भाषा पनि आफ्नो मातृभाषाका हिसाबले बोलिँंदै आएको छ । सम्पर्क भाषा भने उनीहरूको पनि नेपाली राष्ट्रभाषा नै हो । आर्थिक स्रोत, सामाजिक अवस्था, शिक्षा, स्वास्थ्य जस्ता धेरै कुराहरू सुधारोन्मुख छ ।
पनौती — १३ को परिचय ः
पनौती नगरपालिकाको १३ नम्बर वडा पनौती नगरदेखि पूर्व–दक्षिणमा पर्छ । १३ नम्बर वडामा आइपुग्न पनौतीबाट ४ कि. मि. को दूरी पार गर्नुपर्ने हुन्छ । यो वडा विगतमा खोपासीअन्र्तगत रहिआएको भए पनि पञ्चायती कालमा पञ्चायतको एक कार्यकाल सुन्थान पञ्चायतमा रहन गयो । २०४६ सालमा प्रजातन्त्र आएपछि खोपासी गाउँ विकासमा रहेको थियो । पनौती नगरपालिका गठन भएपछि खोपासी गाउँ विकासलाई दुई भागमा विभाजन गरिँदा खोपासीतर्फ १२ र रोसीखोलापूर्व पहिलेका ५, ६, ७, ८ र ९ नम्बर वडाहरूलाई समायोजन गरी पनौती नगरपालिकाको १३ नम्बर वडा बनाइयो । अहिले १३ नम्बर वडामा मुख्यतः पस्थली महतगाउँ, पस्थली खत्रीगाउँ, पस्थली नेवारगाउँ, सौडोल, कार्कीगाउँ, बुटापोल, मकैटार र साल्मीटार गाउँहरू रहेका छन् ।
पनौती — १३ को भौगोलिकता ः
१३ नम्बर वडाको मैदानी भाग समुद्री सतहबाट १४२४ मि. को उचाइमा पर्छ । यसको सिमाना पूर्वमा शङ्खुपाटीचौर, पश्चिममा खोपासी १२ नम्बर वडा, दक्षिणमा बल्थली गा.वि.स. र उत्तरमा पनौती नगरपालिकाको १० नम्बर वडा पर्छ । यो वडालाई सुँढीखोलाले दुई भागमा विभाजन गरिदिएको छ । पूर्वतर्फ मकैटार, बुटापोल र साल्मीटार पर्छ भने पश्चिमी भागमा पस्थली महतगाउँ, पस्थली खत्रीगाउँ, पस्थली नेवारगाउँ, पस्थली भण्डारीगाउँ, सौडोल र कार्कीगाउँहरू पर्छन् । वडाको भूभागमा सम्म मैदानी भागहरू धेरै छन् । केही दक्षिण फर्केको पाखोबारी र केही उत्तर फर्केको पाखोबारीहरू पर्दछ । मैदानी भागमा धानखेतीयोग्य भूभाग पर्दछ । वडाको पश्चिमदेखि दक्षिण भाग समेतलाई रोसीखोलाले घेरेको छ । त्यो क्षेत्र भिरालो भीरपाखो भएकाले वृक्षारोपण गरी समुदायमा हस्तान्तरण भएको छ । यस्ता वन १३ नम्बर वडामा ४ वटा छन् ।
पनौती — १३ मा जाति, भाषा र धर्म ः
१३ नम्बर वडाको भौगोलिक बनावटअनुसार मैदानी भागमा क्षत्री, नेवार, कामी, दमाइ, सार्कीहरूको बसोबास छ । भिरालो भागमा तामाङ र भुजेलहरूको बस्ती रहिआएको छ । यस वडामा राई, दनुवार र खवाससमेत ९ जातिका मानिसहरू बसोबास गर्दै खाएका छन् । यहाँको जनसङ्ख्या करिब २००० को हाराहारीमा रहेको छ । भाषागत हिसाबमा यहाँ बोलिने भाषामध्ये नेपाली राष्ट्रभाषा र तामाङ भाषा बोले पनि तामाङहरूको पनि सम्पर्क भाषा नेपाली राष्ट्रभाषा नै हो । त्यसैले शतप्रतिशत नेपाली राष्ट्रभाषा नै बोलिन्छ । धर्मगत हिसाबमा यहाँ हिन्दू र बौद्ध धर्म मान्नेहरू मात्र छन् । दुई किसिमको धर्म मान्नेहरूको बसोबास भएको वडा भए पनि एक–अर्काले मानेका अर्थात् हिन्दु र बौद्ध दुवै पक्षले समान आदर गर्ने भएका हुँदा धार्मिक सहिष्णुता यस वडाको विशेषता नै रहिआएको छ ।
पनौती — १३ को सामाजिक अवस्था ः
१३ नम्बर वडा क्षत्री, नेवार, तामाङ, भुजेल, राई, दनुवार, खवास, दमाई, कामी, सार्कीसमेतका जातजातिहरूको बसोबास रहेको थलो हो । यस वडामा बसेका सबै जातजातिका मानिसमा रहेको सद्भाव, मैत्रीभाव र सामाजिक व्यवहारले मानिस सामाजिक प्राणी हो, समाजबाट छुिट्टएर एक्लै बाँच्न सक्तैन भन्ने यथार्थलाई आत्मसात गरी विवाह, व्रतबन्ध, जन्ती, मलामी जस्ता समाजमा आइपर्ने सामाजिक कामहरूमा सबैकहाँ सबैको सहभागिता रहँदै आएको छ । विकासनिर्माणका काम, मेलापातका काम जस्ता हरेक काम विनाभेदभाव चल्दै आएको छ । राजनीतिक हिसाबले यहाँको समाज विभिन्न पाटामा विभाजित भए पनि सामाजिक रीतिथितिका हिसाबले यहाँको समाज एउटै सूत्रमा आवद्ध देखिएकाले यहाँको वातावरण पनि निर्मल अवस्थामा रहेको पाइन्छ ।
(शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘पुर्खाका पाइलाहरू’ को एक अंश)